२७ वर्ष पुरानो भ्रुणबाट बालिकाको जन्म

बिहीबार, मंसिर १८, २०७७

अमेरिका । मली गिब्सन नाम दिइएकी यी बालिका गत अक्टोबर महिनामा जन्मिएकी भए पनि उनको जन्मको प्रक्रिया २७ वर्षअघि सुरु भएको थियो । उनको भ्रुणलाई अक्टोबर १९९२ मा सुरक्षित राखिएको थियो । सन् २०२० को फेब्रुअरीमा आएर बल्ल अमेरिकाको टेनसी निवासी टिना र बेन गिब्सनले उक्त भ्रुण अपनाए ।
मलीले सबैभन्दा लामो समयसम्म सुरक्षित रूपमा चिस्याएर राखिएको भ्रुणबाट जन्मिने शिशुको कीर्तिमान बनाएकी छन् । योसँगै उनकी दिदी एमाको कीर्तिमान पनि उनले भङ्ग गरेकी छन् । ‘हामी औधी खुसी भएका छौँ’ टिना गिब्सनले बताइन् । ‘पाँच वर्षअघि यदि कसैले मलाई एउटा होइन दुइटी छोरीकी आमा हुन्छ्यौ भनेको भए म पत्याउन्नथेँ’, उनले भनिन् ।
भ्रुणदान
पाँच वर्षसम्म सन्तान नभएपछि उनका आमाबुवाले संरक्षित भ्रुण दान लिएर बच्चा पाउन सकिने समाचार पढे ।
‘मेरा आमाबुवाले उक्त समाचार नदेखेको भए हामी यहाँसम्म आइपुग्ने थिएनौैं’, २९ वर्षीया टिना गिब्सनले भनिन् ।
टिना एक प्राथमिक विद्यालयकी शिक्षिका हुन् भने ३६ वर्षीय पति बेन साइबर सुरक्षा विश्लेषक हुन् । उनीहरूले नक्स्भिलस्थित नेशनल एम्ब्रियो डोनेशन सेन्टर (एनईडीसी) सँग सम्पर्क गरे ।
उक्त केन्द्रले इन भिट्रो फर्टिलाइजेशन पद्धतिबाट विकसित भ्रुणलाई चिसो तापक्रममा सुरक्षित रूपमा भण्डारण गरेर राख्छ ।
कतिपय प्राकृतिक अभिभावकले त्यस्ता भ्रुणका दान दिनका निम्ति पनि छाडिदिन्छन् जसलाई गिब्सन दम्पतीजस्ता निस्सन्तान व्यक्तिले अपनाउन सक्छन् । उनीहरूले त्यसपछि प्राकृतिक रूपमै त्यस्ता भ्रुण प्रयोग गरी शिशु जन्माउन सक्छन् ।
प्रक्रिया
एनईडीसीका अनुसार अहिले अमेरिकाभरि अनुमानित १० लाख त्यस्ता भ्रुण सुरक्षित राखिएका छन् । सत्र वर्षअघि स्थापित एनईडीसीले एक हजारभन्दा धेरै त्यस्ता भ्रुण इच्छुक दम्पतीलाई उपलब्ध गराएको छ । धर्मपुत्र वा धर्मपुत्री ग्रहण गर्ने परम्परागत प्रक्रिया जस्तै भ्रुण ग्रहणमा पनि केही प्रक्रिया पूरा गर्नुपर्छ ।
इच्छुक दम्पतीलाई कुनै भ्रुणको वास्तविक आमाबुवा को थिए भनेर बताउन पनि सकिन्छ वा नबताउन पनि सकिन्छ । यस्ता सम्पर्कले दातासँग इमेलमार्फत् कुराकानीको सहजीकरण गराउँछ अनि कतिपयले पछिसम्म आफन्तको सम्बन्ध राख्न पनि सक्छन् । दम्पतीहरूलाई २०० देखि ३०० दाताहरूको विवरण दिइन्छ । गिब्सन दम्पतीले लामो समयदेखि शिशु चाहेकाले उनीहरूका निम्ति धेरै विक ल्प खुला थिए ।
दिदीबहिनी
‘हामीले बच्चा कस्तो होला वा कहाँबाट आएको होला भन्ने बारे खासै सोचेनौँ’, टिना गिब्सनले भनिन्। उनले एनीडीसीसँग परामर्श गरिन् ।
‘हामी अलि साना छौँ त्यसैले भ्रुण रोज्दा पनि उचाइ र तौल हाम्रो जस्तै हुनसक्ने गरेर रोज्यौं’ उनले बताइन् ।
गिब्सन दम्पतीले रोजेका दुई बालिका मली र एमा आनुवंशिक रूपमै दिदीबहिनी हुन् । दुवै भ्रुणलाई एकैपल्ट सन् १९९२ मा दान गरिएको थियो जतिखेर टिना स्वयं एक वर्षकी थिइन् ।
एनईडीसीका अनुसार एमाको जन्म गराइँदा उनको भ्रुण २४ वर्ष पुरानो थियो र त्यो नै कीर्तिमान थियो । तर यो वर्ष मलीको जन्म भएपछि त्यो कीर्तिमान भङ्ग भयो । अचेल एमाले बहिनी मलीलाई निकै माया गर्छिन् । एनईडीसीका अनुसार यसरी भ्रुणलाई कहिलेसम्म सुरक्षित राख्न सकिन्छ भन्ने कुनै समयसीमा छैन । आईभीएफमार्फत विकसित भ्रुणबाट पहिलो जन्म सन् १९८४ मा अस्ट्रेलियामा भएको थियो ।–बीबीसी 
 

प्रकाशित मिति: बिहीबार, मंसिर १८, २०७७  १९:५९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार