ताजा बाँस नपाएपछि पान्डा फिर्ता 

आइतबार, मंसिर १४, २०७७

क्यानडा । खुवाउनका लागि ताजा बाँसको अभाव हुन थालेपछि दुई ठूला पान्डालाई क्यानडाबाट चीन फिर्ता पठाइएको छ । चीनमा अब तिनीहरूले उच्च गुणस्तरको बाँस खान पाउनेछन् । एर शन र दा माओ नाम गरेका दुईवटा पान्डालाई गत मे महिनादेखि नै चीन फर्काउन क्यानडाको कालगुरी चिडियाखाना प्रयासरत थियो । कोरोनाभाइरस महामारीबीच ती पान्डाहरूलाई खुवाउन ताजा बाँस आपूर्तिमा समस्या भएपछि चिडियाखानाले तिनीहरूलाई फर्काउने प्रयास थालेको थियो । दुई पान्डाहरूको अन्तर्राष्ट्रिय यात्रा अनुमतिका लागि आवश्यक प्रक्रिया पूरा गर्न महिनौँ लागेको चिडियाखानाले जनाएको छ । काल्गुरी चिडियाखानाले शुक्रवार ट्वीट ग¥यो–‘आज ठूला पान्डाहरू आफ्नो घर फर्कन लागेको दिन हो ।‘
एर शन र दा माओ सन् २०१४ मा क्यानडा पुगेका थिए । चीनसँग गरेको सम्झौता अनुसार क्यानडाले ती दुई पान्डालाई १० वर्ष आफूकहाँ राख्न पाउँथ्यो । दुई देशबीच सद्भावनाको कदमअन्तर्गत दुईवटा पान्डालाई चीनबाट क्यानडा लगिएको थियो । त्यसलाई ‘पान्डा कूटनीति’ पनि भन्ने गरिएको छ ।
उक्त चिडियाखानाका अनुसार पान्डाको आहारा ताजा बाँसबाट तयार पारिन्छ । एउटा वयस्क पान्डाले दैनिक लगभग ४० किलो आहारा खाने गर्छ । आल्बर्टास्थित चिडियाखानाले चीनबाट ताजा बाँस आयात गर्दै आएको थियो । तर कोरोनाभाइरस महामारीका कारण मार्च महिनामा हवाई उडानहरू बन्द भएपछि पान्डाहरूको आवश्यकता पूरा गर्ने दिशामा समस्या देखिन थाल्यो । पूर्वनिर्धारित समयभन्दा चार वर्ष पहिल्यै ती पान्डाहरूलाई चीन फिर्ता पठाउने भने गत मे महिनामा चिडियाखानाले घोषणा ग¥यो । त्यसो गरिए तिनीहरूले चीनमा पर्याप्त ताजा बाँस खान पाउने उसको भनाइ थियो ।
तर महामारीका कारण आयातसम्बन्धी कानुन र क्वारन्टीन सुविधामा ल्याइएको परिवर्तनका कारण देखाउँदै चीनले ती पान्डाहरूका लागि यात्राको अनुमति दिन नमानेको उक्त चिडियाखानाले गत अगस्टमा बताएको थियो ।
‘अन्तर्राष्ट्रिय अनुमति पाउन भइरहेको ढिलाइले यी दुई सुन्दर पान्डाहरूको स्वास्थ्य तथा कल्याणलाई संकटमा पारिदिएको छ’ चिडियाखानाका प्रमुखले प्रकाशित गरेको वक्तव्यमा उल्लेख गरेका छन् । ‘महिनौँ महिनौँदेखिको कडा परिश्रमपछि’ हाम्रा प्रिय पान्डाहरूको घर फिर्तीको अन्तर्राष्ट्रिय अनुमति मिलेको छ भन्दै चिडियाखानाले शुक्रबार जानकारी गराएको हो ।–बीबीसी 
 

प्रकाशित मिति: आइतबार, मंसिर १४, २०७७  १८:२८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार