चन्द्रमाबाट ढुंगाको नमुना ल्याउँदै चीन

मंगलबार, मंसिर ९, २०७७

बेइजिङ । चीनले चन्द्रमाबाट ढुंगाका नमुना ल्याउन प्रयास गरेको छ । यो प्रयास उसले सन् १९७० को दशकयता गरेको पहिला प्रयास हो । अहिलेसम्म अमेरिका र सोभियत संघले मात्र चन्द्रमाबाट ढुंगाको नमुना पृथ्वीमा ल्याएका छन् । मंगलबार प्रक्षेपण गरिएको मानवरहित चाङ’ए–५ यानले चन्द्रमाबाट केही नमुना ल्याउने अपेक्षा गरिएको छ । ती ढुंगा चन्द्रमाको उत्पत्ति र निर्माणको अध्ययनका लागि उपयोगी हुने विश्वास गरिएको छ । सन् १९७६ मा सोभियत संघले पठाएको लुना २४ ले अन्तिम पटक पृथ्वीमा त्यस्तो नमुना ल्याएको थियो । यदि अहिलेको योजना सफल भयो भने पृथ्वीमा चन्द्रमाको ढुंगा ल्याउने अमेरिका र तत्कालीन सोभियत संघपछि चीन तेस्रो देश हुनेछ ।  चाङ’ए यानको नाम प्राचीन चिनियाँ चन्द्रदेवीको सम्मानमा राखिएको हो । त्यसलाई लङ मार्च ५ नामक रकेटबाट प्रक्षेपण गरिएको छ । उक्त यानले चन्द्रमाको ‘ओशन अफ स्टोर्म्स’ भनिने अहिलेसम्म नपुगिएको स्थानबाट दुई किलोग्राम नमुना संकलन गर्ने प्रयास गर्नेछ ।

लङ मार्च रकेटले चीनको अन्तरिक्षयान चन्द्र मामा प्रक्षेपण गर्नेछ
सन् १९७६ को अभियानमा १७० ग्राम नमुना ल्याइएको थियो भने मानवसहितको एपोलो मिशनले ३८२ किलोग्राम ढुंगा र माटो ल्याएको थियो । सूर्यको विकिरणबाट जोगाउन आवश्यक चुम्बकीय क्षेत्र क्षीण हुँदा पनि चन्द्रमा कसरी ज्वालामुखीय रूपमा सक्रिय भयो भनेर बुझ्न चाङ’ए–५ ले सघाउने अपेक्षा विज्ञहरूको छ । चीन सन् २०१३ मा पहिलो पटक चन्द्रमामा पुगेको थियो । उसले एक दशकभित्र मंगल ग्रहबाट पनि नमुना संकलन गर्ने योजना बताएको छ । –बीबीसी 
 

प्रकाशित मिति: मंगलबार, मंसिर ९, २०७७  १७:५५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार