डिजिटल प्रविधि बालबालिकाको बौद्धिक विकासका लागि कति घातक ? 

मंगलबार, मंसिर ९, २०७७


बालबालिका र किशोरकिशोरीले स्क्रीनमा धेरै समय व्यतीत गर्न थालेकाले औसत आईक्यू घट्न थालेको मिशेल डेस्म्युजेको दाबी छ


फ्रान्सका स्नायुवैज्ञानिक मिशेल डेस्म्युजे भन्छन्, ‘अहिले हामीले बालबालिकासँग जे गरिरहेका छौँ त्यो कुनै किसिमले पनि क्षम्य छैन ।’ मानिसहरूले बालबालिकाको भविष्य खतरामा पारिदिएको उनले बताएका छन् ।
डेस्म्युजेले आफ्नो पुस्तक ‘द डिजिटल क्रेटिन (अर इडीअट) फ्याक्ट्री’ मा डिजिटल प्रविधिलाई मूर्ख उत्पादन गर्ने उद्योगसँग तुलना गर्दै त्यस्तो दाबी गरेका छन् । उनका शब्द प्रियकर नलागे पनि यी वैज्ञानिकले आफ्नो धारणा तथ्यांकमा आधारित भएको बताए ।
फ्रान्सको राष्ट्रिय स्वास्थ्य संस्थामा अनुसन्धान निर्देशक र आफ्नो विषयका विज्ञका रूपमा विश्वका चर्चित विश्वविद्यालय एमआईटी र यूनिभर्सिटी अफ क्यालिफोर्नियामा काम गरेका यी वैज्ञानिकको पुस्तकले हामी आफ्नो बच्चा कसरी हुर्काउँछौँ भन्नेमा व्यापक बहस निम्त्याएको छ । प्राज्ञिक समूहभन्दा बाहिर पनि उनी केही लोकप्रिय छन् र फ्रान्समा सर्वाधिक विक्री भएको सूचीमा परेको उनको पुस्तक इटालियन र स्पेनिश भाषामा पनि अनुवाद भइसकेको छ । 
इन्टरनेट लोकप्रिय भएपछि जन्मिएका मानिसहरूलाई अहिले ’डिजिटल नेटिभ’ भनिन्छ । यो पुस्तकले ‘डिजिटल नेटिभ्स’ अर्थात् इन्टरनेट लोकप्रिय भइसकेपछि जन्मिएका बालबालिकाको आईक्यू (बौद्धिक स्तरको मान) तिनका आमाबुवाभन्दा कम रहेको तर्क गरेको छ । शृंखलाबद्ध परीक्षणबाट कसैको बौद्धिक स्तर कति छ भनेर गणना गरिन्छ । विद्युतीय प्रविधि आउनुअघि नयाँ पुस्ता अघिल्लो पुस्ताभन्दा बाठो भएको डेस्म्युजेको तर्क छ ।
प्रस्तुत छ उनीसँगको कुराकानी 

के अहिलेको युवा पुस्ता अघिल्लो पुस्ताको तुलनामा कम आईक्यू भएको पहिलो पुस्ता हो ?
हो । आइईक्यू विशिष्ट परीक्षणबाट जाँच गरिन्छ तर अधिकांश अवस्थामा त्यसको विधि परिमार्जन भइरहन्छ । मेरा अभिभावकले मैले उत्तीर्ण गरेकै परीक्षा दिएका थिएनन् । तर मानिसहरूको एउटा समूहलाई पुरानै परीक्षामा पनि राख्न सकिन्छ ।
डिजिटल दुव्र्यसनले मानिसको बौद्धिक क्षमता घटनाको डेस्म्युजेको तर्क छ । त्यसो गरेर अनुसन्धानकर्ताहरूले विश्वका धेरै स्थानमा एउटा पुस्ताबाट अर्को पुस्ता आइपुग्दा आईक्यू बढेको पत्ता लगाए । यो प्रवृत्तिको व्याख्या गर्ने अमेरिकी वैज्ञानिकका नाममा यसलाई ‘फ्लीन इफेक्ट’ भनिएको थियो । तर अहिले धेरै देशहरूमा त्यो क्रम उल्टिन थालेको छ ।
स्वास्थ्य प्रणाली, विद्यालय प्रणाली र पोषणजस्ता कुराले आईक्यूमा महत्वपूर्ण प्रभाव पार्छ । तर दशकौँदेखि आर्थिक सामाजिक अवस्था स्थिर रहेका देशमा पनि ‘फ्लीन इफेक्ट’ कमजोर हुँदै गएको छ । नर्वे, डेनमार्क, फिनलन्ड, द नेदरल्यान्ड्स, फ्रान्स आदि देशमा यस्तो देखिन्छ ।

के डिजिटल प्रविधिको प्रयोगका कारण बौद्धिक स्तर घटिरहेको हो ?
अहिले नै सानो उमेरमा कीटनाशक औषधि वा स्क्रीनसँगको सम्पर्कजस्ता कारकले कस्तो विशिष्ट भूमिका खेले भन्न सकिँदैन ।
तर हामी के भन्न सक्छौँ भने बच्चाले स्क्रीनमा बिताएको समयले आईक्यूमा उल्लेख्य रूपमा प्रभाव पार्न सक्छ । सन् १९४० को दशकदेखि एक पुस्ताबाट अर्को पुस्तामा जाँदा बौद्धिक स्तर बढेको देखिएको भए पनि अहिले केही देशमा त्यो परिस्थिति उल्टिएको देखिएको छ । सबै दोष त्यसलाई लगाउन नसकिए पनि कैयौँ अध्ययनले टेलिभिजन वा भिडिओ गेममा बढी समय बिताउँदा आईक्यू र ज्ञानसँग सम्बन्धित मस्तिष्कको विकास प्रक्रिया कमजोर रहेको देखाएको छ । भाषा, एकाग्रता, स्मृति र संस्कृति हाम्रो चेतनशीलताका मूल जग हुन् र त्यसमा प्रभाव पर्दा हाम्रो शैक्षिक गुणस्तरमा पनि उल्लेख्य ह्रास आउँछ ।

डिजिटल उपकरणको प्रयोगले किन यस्तो प्रभाव पार्छ ?
कारणहरू प्रष्ट छन् । हाम्रो भाषागत र भावनात्मक विकासका लागि महत्वपूर्ण रहने परिवारसँग अन्तरक्रियाको गुणस्तर र परिमाणमा कमी । अरू उपलब्धिपूर्ण कामहरू जस्तै गृहकार्य, संगीत, कला र अध्ययनमा दिने समय पनि घट्छ । स्क्रीनमा व्यतीत हुने समय र सङ्ज्ञानको विकासको उल्टो सम्बन्ध भएको अनुसन्धाताहरू बताउँछन् । त्यसबाहेक निद्रा प्रभावित हुने, ध्यान अन्यत्र जाने हुनाले एकाग्रता भङ्ग हुन्छ र ज्ञानसम्बन्धी प्रतिक्रिया कम हुँदा मस्तिष्कले आफ्नो पूर्ण क्षमतामा काम गर्न सक्दैन । एकैखालको त्यस्तो जीवनशैलीले शरीरको विकासबाहेक मस्तिष्कले काम गर्ने तरिकालाई पनि प्रभावित गर्छ ।

स्क्रीनले हाम्रो मस्तिष्क प्रणालीमा के असर गर्छ ?
मस्तिष्क ‘स्थिर’ अङ्ग होइन । यसको ‘अन्तिम’ चरित्र अनुभवमा आधारित हुन्छ । हामी बाँच्ने विश्व र हामीले भोग्ने चुनौतीले यसको संरचना र काम गर्ने तरिकामा परिवर्तन ल्याइरहेको छ । मस्तिष्कका कतिपय सञ्जाल बालियो भइरहेका हुन्छन् कतिपय मोटा र पातला बन्छन् । मनोरञ्जनका लागि स्क्रीनमा धेरै समय खर्च गर्दा त्यसले मस्तिष्क विकास ढिलो हुने डेस्म्यूजेको तर्क छ

मनोरञ्जनका लागि स्क्रीनमा समय बिताउदाँ शारिरिक रूपले मस्तिष्कको परिपक्व हुने प्रक्रिया ढिलो हुने पाइएको छ । बालबालिकाको मस्तिष्कलाई त्यसले कमजोर बनाउँछ । विद्यालय, बौद्धिक गतिविधि, अध्ययन, संगीत, कला, खेलकुदजस्ता गतिविधिले मनोरञ्जनात्मक स्क्रीनभन्दा धेरै बढी सकारात्मक प्रभाव मस्तिष्कलाई दिन्छन् ।

के सबै स्क्रीन उत्तिकै घातक छन् ?
कसैले पनि ‘प्रविधि क्रान्ति’लाई खराब भएकाले यसलाई रोक्नुपर्छ भनिरहेका छैनन् ।
केही देशले बालबालिकालाई कति समय स्क्रीनमा बिताउन दिने भनेर कानुन बनाउन थालेका छन् म स्वयम् पनि मेरो दैनिक कामकाजमा उल्लेख्य समय डिजिटल उपकरणमा बिताउँछु । विद्यार्थीहरूलाई आधारभूत कम्प्युटर ज्ञान र सीप सिकाउनुपर्छ । त्यसैगरी शिक्षकहरूले पनि अध्यापन प्रवर्धन गर्ने निश्चित सफ्टवेअर प्रयोग गर्न सक्छन् । तर जहाँसम्म बालबालिका वा किशोरवयका मानिसलाई स्क्रीन चलाउन दिने कुरा छ, अधिकांश अवस्थामा स्क्रीन मनोरञ्जनका लागि प्रयोग हुने गरेको छ । सबैभन्दा बढी टेलिभिजन (चलचित्र, सिरीज र क्लिप) अनि भिडिओ गेम (लडाइँ र हिंसा) र त्यसपछि सामाजिक सञ्जालको प्रयोग बढी गरिन्छ । इन्टरनेटबाहिर गरिने पढाइ, संगीत, कला र खेलकुदजस्ता गतिविधिले मस्तिष्कमा राम्रो प्रभाव पार्ने डेस्म्यूजेको तर्क छ ।

बालबालिका र किशोरकिशोरीले अधिकांश अवस्थामा कति समय स्क्रीनमा बिताउँछन् ?
औसतमा दुई वर्षकाले प्रत्येक दिन तीन घण्टा र आठ वर्षकाले प्रत्येक दिन पाँच घण्टा समय बिताएको पाइन्छ । किशोरकिशोरीले सात घण्टाभन्दा बढी समय बिताएको देखिन्छ । त्यसको अर्थ १८ वर्षको उमेर पुग्नुभन्दा पहिले नै उनीहरूले ३० स्कूले वर्ष वा १६ वर्षे पूर्णकालीन रोजगारीको अवधि स्क्रीनको अघि बिताइसक्छन् । त्यो पागलपन र गैरजिम्मेवारपूर्ण हो । डिजिटल नेटिभहरूले सामाजिक असमानता भोग्नुपर्ने डेस्म्युजेको चिन्ता छ ।

बालबालिकाले मनोरञ्जनका लागि स्क्रीनमा कति समय व्यतीत गर्दा हुन्छ ?
सुरुमा बालबालिकालाई मनोरञ्जनका लागि स्क्रीनमा समय बिताउँदा त्यसले मस्तिष्कलाई क्षति पु¥याउने, निद्रा खलबल्याउने अनि भाषा ग्रहण गर्ने क्षमतालाई कमजोर बनाइदिने कुरा बुझाउनुपर्छ । त्यसबाहेक एकाग्रता भङ्ग गर्छ, शैक्षिक उपलब्धि कमजोर बनाउँछ र मोटोपन बढाउँछ । डेस्म्युजेका अनुसार अभिभावकहरूले स्क्रीनको नकरात्मक प्रभावबारे आंशिक र पूर्वाग्रही सल्लाह लिने गरेका छन् । कतिपय अध्ययनहरूले कारण व्याख्या र छलफल गरिएको अवस्थामा बालबालिका र किशोरकिशोरीलाई ती नियम पालना गर्न सजिलो भएको देखाएको छ ।

सारांशमा भन्नुपर्दा जुनसुकै उमेर समूहमा भए पनि सकेसम्म कम समय स्क्रीनमा बिताएको राम्रो हो । ६ वर्षको उमेरभन्दा पहिला सकेसम्म स्क्रीनमा पहुँच नभएकै राम्रो हो ।  (त्यसको अर्थ बेलाबेलामा तपाईँले आफ्ना बच्चासँग कार्टून हेर्न पाउनुहुन्न भन्ने होइन ।) 
जति चाँडो उनीहरूलाई स्क्रीनसम्म पहुँच दियो त्यति नै बढी नकारात्मक प्रभाव र त्यसपछि चाहिनेभन्दा बढी खपत गर्न खोज्ने जोखिम हुन्छ ।
६ वर्षभन्दा माथिको उमेर भएकाहरूलाई यदि सामग्री उपयुक्त छन् र उनीहरूले पर्याप्त समय सुतिरहेका छन् भने दिनको आधा वा एक घण्टा पहुँच दिन सकिन्छ । विद्युतीय उपकरणमा गेम खेल्ने बालबालिका र किशोरकिशोरी पढाइमा राम्रो भएको देखाउने अध्ययनसँग डेस्म्युजे सहमत छैनन् । त्यसका लागि विद्यालय जानु आधा घण्टाअघि वा सुत्न जानुअघि वा अरू व्यक्तिसँग भएका बेलामा प्रयोग गर्न नपाइने सर्त हुनुपर्छ । अनि सबैभन्दा महत्वपूर्ण कुरा सुत्ने कोठामा स्क्रीन हुनुहुँदैन । तर हाम्रा केटाकेटीलाई स्क्रीन समस्या हो भनेर बुझाउन अप्ठ्यारो छ किनभने अभिभावकहरू नै निरन्तर फोन वा स्क्रीनमा खेल्न व्यस्त छन् । –बीबीसी 
 

प्रकाशित मिति: मंगलबार, मंसिर ९, २०७७  १७:२०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार