निलम्बनको कदम ‘पूर्ण रुपमा अस्वीकार गर्ने’ माधव नेपालको घोषणा 

माधव–भीमलाई निलम्बन गर्ने ओलीको निर्णयपछि एमालेमा तरङ्ग 
सोमबार, चैत १६, २०७७

काठमाडौं । पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफूमाथि गरिएको निलम्बनको कारबाहीपछि प्रचण्डसँग नमिलीकनै अलग्गै रूपमा नेकपा एमालेको पुनर्गठन गर्ने बताएका छन् । उनले देशभरि ‘जिल्ला कमिटीहरू पुनर्गठनको अभियान सुरु भइसकेको’ बताएका छन् ।
सोमबार अपराह्न प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल तथा भीम रावललाई ६ महिनाका लागि पार्टी सदस्यबाट निलम्बन गरेका थिए । ओली हाल नेकपा एमालेको ‘वैधानिक अध्यक्ष नरहेको’ भन्दै नेता नेपालले आफूविरुद्धको कारबाहीलाई पूर्ण रूपमा अस्वीकार गर्ने बताए ।
नेता नेपालले बीबीसीलाई दिएको अन्तर्वार्ता ।  
प्रधानमन्त्रीको कदमप्रति तपाईंको प्रतिक्रिया के छ ?

यो कदमबाट उहाँ कति निरकुङ्श हुनुहुन्छ, कति स्वेच्छाचारी हुनुहुन्छ भन्ने कुरालाई बताइरहेको छ ।
उहाँ कम्युनिस्ट आन्दोलनलाई तहसनहस बनाउने कुरामा पार्टीलाई छिन्न भिन्न बनाउने कुरामा उद्यत हुनुहुन्छ । 
उहाँलाई कम्युनिस्ट आन्दोलन र पार्टीको कुनै माया छैन । उहाँको आफ्नै हैसियत अवैधानिक भइसकेको छ । उहाँले फागुन २८ गते बैठकको नाममा जुन गुटको भेला गर्नुभयो त्यो नै अवैधानिक भएकाले त्यसबाट गरिएका कुनै पनि निर्णय स्वीकार गर्न सकिदैँन । त्यही भएर उहाँको यो कदमलाई म पूर्ण रूपमा अस्वीकार गर्छु । देशभरका कार्यकर्ताहरूलाई दृढताका साथ केपी ओली गुटविरुद्ध संघर्षको मैदानमा उत्रिन म आह्वान गर्छु । उनको सामूमा कसैले आत्मसमर्पण गर्नु जरुरी छैन । दृढताका साथ मोर्चामा उभिनु पर्दछ । आन्दोलनको पक्षमा अघि बढ्नुपर्दछ ।

यो कारबाहीपछि नेकपा एमाले पनि विभाजनको दिशामा जान लागेको हो ? 
त्यो कुरा म पछि गर्छु, सबैको बीचमा छलफल गरेर । केपी ओलीले यो पार्टी टुक्र्याउन, छिन्नभिन्न पार्न खोजिरहेका छन् ।
उनी यो पार्टीको केन्द्रीय कमिटीको वैधानिक अध्यक्ष पनि रहेनन् । उनले केन्द्रीय कमिटी भङ्ग गरिसके । अहिले उनले केन्द्रीय कमिटीको अध्यक्षको हैसियत नै गुमाइसके । 
कतिपयले तपाईं पार्टीमा अब एक्लिनु भयो, तपाईंकै पक्षका मानिसहरूले पनि साथ दिइरहेका छैनन् भन्छन् नि ?
सबै साथमा हुनुहुन्छ । म आजै बैठक बसिरहेको छु । दृढताका साथ अघि बढ्न भनेर देशभरिबाट फोन आइरहेको छ ।
अघि बढ्नुस् हामी तपाईंको साथमा छौँ भनिरहनु भएको छ । पार्टी भित्रका असल र क्रान्तिकारी कार्यकर्ताहरू मेरो साथमा छन् । हामी एकताबद्ध भएर अघि बढिरहेका छौँ ।
प्रधानमन्त्रीको पक्षका नेताहरूले विगतमा तपाईँले कारबाही गर्नुभएको थियो अहिले ओलीले गर्नुभयो। ‘जस्तालाई त्यस्तै’ भयो भनिरहेका छन् । यसबारेमा के भन्नुहुन्छ ? 
उहाँहरूले नेकपा छाडेर हिँड्नुभएको थियो । नेकपा एमाले हाम्रो हो । केपी ओलीको होइन । यसको निर्माणमा केपी ओलीको कुनै भूमिका पनि छैन र एमालेलाई सिद्ध्याउन खोजिएको हो । 
अब तपाईंहरू एक ठाउँमा बस्ने अवस्था देखिएन । पार्टी दुईवटा नै हुने भयो होइन ? 
लक्षण त्यस्तै छ । 
अन्त्यमा, अब तपाईं प्रचण्डसँग मिलेर अघि बढ्नुहुन्छ कि ?
त्यस्तो चाहिँदै चाहिँदैन । हामीले देशव्यापी रूपमा सङ्गठन निर्माण गरिरहेका छौँ । गोर्खा, अर्घाखाँचीमा जिल्ला कमिटीहरू बनिसकेको छ ।
जम्मै ठाउँमा जिल्ला कमिटीहरू पुनर्गठनको अभियान सुरु भइसकेको छ । देशव्यापी रूपमा कार्यकर्ता भेलाहरू सुरु हुन थालिसकेकै छ ।
केपी ओलीसामू आत्मसमर्पण गर्ने व्यक्तिहरू कम्युनिस्ट आन्दोलनलाई सिद्ध्याउने व्यक्तिहरू हुनेछन् र उनको गुटवादी जमातमा जाने व्यक्तिहरू हुनेछन् । कम्युनिस्ट पार्टीको पक्षमा रहनेहरू एक ठाउँमा उभिनेछन् ।   
 

प्रकाशित मिति: सोमबार, चैत १६, २०७७  २१:१३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार