थप तीन देशमा मङ्कीपक्सका नयाँ बिरामी फेला परे

बिहीबार, जेठ १२, २०७९

काठमाडाैं, १२ जेठ । संयुक्त अरब एमिरेट्स् (यूएई) मङ्कीपक्स रोगको नयाँ बिरामी फेला पर्ने पहिलो खाडी राष्ट्र बनेको छ । चेक रिपब्लिक र स्लोभिनिआमा पनि मङ्गलवार पहिलो पल्ट मङ्कीपक्सका बिरामी भेटिएको पुष्टि भएको थियो । अफ्रिकाबाहिर अन्य १८ वटा देशमा उक्त रोगको भाइरस पुगेको पुष्टि भइसकेको छ । त्यस्तो सङ्ख्या अझै बढ्ने अनुमान गरिएको छ । यद्यपि विज्ञहरू हालसम्म सर्वसाधारणमा यो रोग फैलिने समग्र जोखिम न्यून नै रहेको मान्छन् । युरोप, अस्ट्रेलिया र अमेरिकामा उक्त भाइरसका सङ्क्रमितहरूको सङ्ख्या बढ्ने क्रममा छ । मङ्कीपक्सको लक्षणमा सामान्यतया बिरामीलाई ज्वरो आउने र शरीरमा फोका देखिने गरेको छ। तर सङ्क्रमण हुँदा गम्भीर लक्षण देखिएको छैन ।

उपचार के हो

यूएईमा त्यहाँका स्वास्थ्य अधिकारीहरूले हालै पश्चिम अफ्रिकाको भ्रमणबाट फर्केका यात्रुमा मङ्कीपक्स भेटिएको र उनको उपचार भइरहेको बताएका छन् ।

उनीहरूले कुनै पनि प्रकारको महामारीका लागि आफूहरू "पूर्ण रूपमा तयार" अवस्थामा रहेको पनि बताएका छन् । उनीहरूका अनुसार उक्त भाइरसको सङ्क्रमण तुरुन्तै पत्ता लगाउन सघाउने निगरानी प्रणाली पनि सक्रिय बनाइएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) भन्छ, "अफ्रिकाभन्दा बाहिरका देशहरूमा यदि सही प्रतिकार्य गरिने हो भने भने मङ्कीपक्स भाइरसलाई नियन्त्रणमा राख्न सकिन्छ ।"

"हामी सङ्क्रणको स्तर कस्तो र यसले कस्तो स्वरूप लिँदै छ भन्ने बारेमा बुझ्न मङ्कीपक्सको सम्भावित सङ्क्रमणप्रति निगरानी बढाउन सबैलाई आग्रह गछौँ," डब्ल्यूएचओका विश्वव्यापी सङ्क्रामक विपद् तयारी मामिलासम्बन्धी निर्देशक सिल्भी ब्राइअन्डले मङ्गलवार एउटा सम्मेलनमा बताएकी थिइन् । यो भाइरसको सङ्क्रमण फैलिनुलाई "असामान्य" को सङ्ज्ञा दिँदै अझैसम्म यो नियन्त्रण गर्न सकिने अवस्थामा नै भएको उनको भनाइ थियो ।

मङ्कीपक्सको सङ्कर्मण हुँदा विभिन्न लक्षणहरू देखिन्छन्

तस्बिर : UKHSA

नियन्त्रणको योजना कस्तो

अफ्रिकाबाहिर सङ्क्रमण पुष्टि भएका र आशङ्का गरिएका समेत गरी मङ्कीपक्सका कारण २३८ जना बिरामी परेको बताइएको छ । संसारभरिका स्वास्थ्य अधिकारीहरूले उक्त भाइरस नियन्त्रण गर्ने योजनाहरू घोषणा गरेका छन् । जर्मनीले सङ्क्रमणले नराम्रो स्वरूप लिएको खण्डमा तयारीका निम्ति भन्दै बिफरको उपचारमा प्रयोग हुने र मङ्कीपक्सविरुद्ध पनि प्रभावकारी इम्भ्यानेक्स खोपको ४०,००० मात्रा खरिद गर्ने आदेश दिइएको बताएको छ ।

जर्मन स्वास्थ्य अधिकारीहरूले बिफर उन्मूलन गर्ने अभियानको अङ्गका रूपमा वर्षौँअघि बिफरको खोप लगाएका मानिसमा पनि मङ्कीपक्स भाइरस प्रतिरोध गर्न सक्ने क्षमता बाँकी रहेको हुनुपर्ने बताएका छन् । तर उनीहरूले उपचारका पुराना विधिको दुष्प्रभाव धेरै हुने भएकाले त्यो अहिलेको समयमा मङ्कीपक्सविरुद्धको सङ्घर्षमा उपयुक्त नहुन पनि सक्ने बताएका छन् ।

मङ्कीपक्सको जाँच कतिबेला गर्ने

हाम्रो शरीरमा धेरै कारणले डाबर आउन सक्छ । एउटा कारण मङ्कीपक्स भाइरस पनि हो ।

तर डाबर मङ्कीपक्स हो वा होइन भनेर थाहा पाउन के-के कुरामा ध्यान दिनुपर्छ र के जाँच गर्नुपर्छ ? सबैभन्दा पहिले त हामीले आफैलाई सोध्नुपर्छ: के म सङ्क्रमितको संसर्गमा पुगेको छु ?  मङ्कीपक्स भाइरस सर्नका लागि सङ्क्रमितसँग नजिकको र लामो सम्पर्क हुनुपर्छ । विश्वमा अहिले यो सङ्क्रमण भएका मानिसहरूको सङ्ख्या निकै न्यून छ। जसको अर्थ हो यसको सङ्क्रमण भइहाल्ने जोखिम निकै कम छ । यो सङ्क्रमण फैलिइरहने अफ्रिकाका दुर्गम देशहरूमा पनि बालबालिकाहरूमा यसको सङ्क्रमण निकै कम छ । मङ्कीपक्स भयो भने सबैभन्दा पहिले ज्वरोजस्तै लक्षण महसुस हुनसक्छ। थकान लाग्छ र जीउ तातेर बिसन्चो हुन्छ । यसलाई चिकित्सकहरू शरीरका कोषहरूमा भाइरस प्रवेश गर्दा हुने "आक्रमण अवधि" भन्छन् । हाम्रो रोगप्रतिरोधी क्षमता सङ्क्रमणविरुद्ध सक्रिय हुने भएकाले ग्रन्थिहरू सुन्निन थाल्छन् । त्यसपछि शरीरमा डाबर देखा पर्छन्। ती विभिन्न चरणमा "फुट्दै" जान्छन् । सुरुमा छालामा रातो दाग मात्रै देखिन्छ र बिस्तारै छालामा खटिरो देखिन्छ अनि पाप्राहरू आउन थाल्छ ।

विश्व स्वास्थ्य सङ्गठनको आपत्कालीन कार्यक्रमका डा. रोसमण्ड लुइस भन्छन्, "यो रातो दागबाट सुरु हुन्छ। बिस्तारै डाबर बन्छ र हामीले छालामा छाम्दा पनि थाहा पाउँछौँ ।" ती राता दागहरू बिस्तारै फोको जस्तो बन्छन् र पिपजस्तो सेतो तरलले भरिन थाल्छन् ।

यी खटिराहरू बिस्तारै सुक्न थाल्छन् र पाप्रा बन्छन् । पाप्राहरू पनि बिस्तारै उप्किएर जान्छन् ।

"यस कारण यो ठेउला हो कि भनेर झुक्किन सकिन्छ," डा. लुइस भन्छन् ।

डाबर

 

मङ्कीपक्सको डाबर सबैभन्दा पहिले अनुहारमा देखा पर्छन्। कहिलेकाहीँ मुखमा पनि देखिन्छन् । त्यसपछि पाखुरा र खुट्टामा अनि जीउमा सर्दै जान्छन् । पछिल्ला केही सङ्क्रमणहरूमा भने डाबरहरू यौनाङ्ग वरिपरि पनि देखा परेका छन् । डा. लुइस भन्छन्, "रौँले ढाकिएका कारण डाबरहरू नदेखिन पनि सक्छन् ।" छालाको रङ्ग अनुसार फरकफरक देखिने यो डाबरले तन्ना र लुगाहरूमा सङ्क्रमण छोड्न सक्छ । छाला रोगसम्बन्धी ब्रिटिस संस्थाकी सभापति डा. तान्या ब्लेकर भन्छिन्, "फरक प्रकारका डाबरहरू छुट्टाउन कठिन हुनसक्छ। यदि कुनै आशङ्का छ भने सल्लाह लिएर परीक्षण गराउनु उपयुक्त हुन्छ ।"

अरू के कारणले डाबर आउन सक्छ ?

डाबर आउने धेरै सम्भावनाहरू हुन्छन् तर त्यसमध्येका केही यस प्रकार छन्।

एलर्जी

एलर्जी

 

छालाले कुनै कुराबाट खतरा ठानेर प्रतिक्रिया जनाउँदा उत्पन्न हुने चिलाउने राता डाबरहरू एलर्जी हुन् । यसको कारण कहिलेकाहीँ थाहा नहुन पनि सक्छ । तर निश्चित खानेकुरा वा कुनै बोटबिरुवा छुँदा तथा कुनै रसायन वा औषधिको कारण पनि यस्तो हुनसक्छ।

एलर्जी

 

ठेउला

यो डाबर निकै चिलाउँछ र धेरै चरण पार गरेपछि पाप्रा उप्किएर जान्छ । यसको सङ्क्रमण जीवनमा एक पटकभन्दा बढी पनि हुनसक्छ । बच्चा हुँदा ठेउला आइसकेको छ भने वयस्क भएपछि फेरि पनि आउन सक्छ । शरीरमा निष्क्रिय भएको ठेउला पुनः सक्रिय भयो भने पनि डाबर देखिन्छ। यस्तो हुँदा शरीरमा दुख्ने दागहरू देखिन्छन् ।

ठेउला

 

लुतो

लुतो कीटाणुले छालामा अण्डा पारेपछि आउँछ। यसका कारण छाला निकै चिलाउँछ र रातो हुन्छ । यसले शरीरको जुनसुकै ठाउँमा पनि डाबरहरू आउँछन्। प्राय:जसो चाहिँ औँलाको बीचबाट देखिन सुरु गर्छन् । छालामा राता धर्साहरू पनि देखिन्छ। धेरै सङ्क्रामक नभए पनि यसलाई निको पार्न उपचार जरुरी पर्छ ।

उडुस र किराको टोकाइ

उडुसको टोकाइ

 

हामीले प्रयोग गर्ने ओछ्यान र डसनामा उडुस सरेका छन् भने तिनले टोक्न सक्छन् ।

धेरै साना हुने भएकाले तिनलाई सजिलै देखिन्न । अरू किराहरूको टोकाइमा जस्तै यसको टोकाइले बन्ने डाबरहरू निकै चिलाउने र रातो हुन्छन् । उडुसको टोकाइबाट आउने डाबरहरू एकै भागमा धेरै वटा हुन सक्छन् ।

यौन सङ्क्रमण

यौन सङ्क्रमण परीक्षण

 

सङ्क्रमित व्यक्तिसँग यौनसम्पर्क राखेपछि सर्न सक्ने जीवाणु सङ्क्रमण भिरङ्गी हो । हर्पेस भनिने भाइरसको सङ्क्रमण पनि यौन क्रियाकलापबाटै सर्छ । यो भयो भने पनि डाबरहरू आउँछन् । यौन सङ्क्रमण भएको आशङ्का हुनासाथ छिटोभन्दा छिटो परीक्षण गरेर उपचार गर्नु राम्रो हो ।

मोलस्कम

मोलस्कम

 

यो बालबालिकाहरूमा देखिने भाइरल सङ्क्रमण हो । यो हानिकारक नभए पनि शरीरभरि फैलन्छ र चिलाउँछ। यसबाट आउने डाबरको बीचमा सानो खाल्डो हुन्छ । यसबाट आउने डाबरहरू काखीमा, घुँडाको पछाडि र गुप्ताङ्गको वरपर देखा पर्छन् । छालाको संसर्ग वा सङ्क्रमितले प्रयोग गरेका तौलिया वा वस्तुको प्रयोगबाट यो सर्न सक्छ ।

हात खुट्टा र मुखमा देखिने रोग

मुखमा बिमिरा

 

यो भाइरल सङ्क्रमण खकार र सिँगानबाट सर्छ । कहिलेकाहीँ सङ्क्रमण घरायसी प्रयोगका सामग्रीबाट पनि सर्न सक्छ ।

यसले पनि ज्वरो आउनेजस्ता लक्षण निम्त्याउन सक्छ । मुखमा खटिराहरू र हत्केला र खुट्टाको पैतालामा राता डाबरहरू पनि देखिन सक्छन्। यो प्राय: आफैँ निको हुन्छ ।

इम्पेटाइगो

इम्पेटाइगो

 

छालामा हुने जीवाणु सङ्क्रमणबाट यसले रातो दागहरू बनाउनुका साथै मुखको वरपर मसिना बिमिराहरू बनाउँछ । यो देख्दा निकै जटिल जस्तो लागे पनि जीवाणु प्रतिरोधी मलमको प्रयोगबाट निको हुन्छ ।–बीबीसी 

प्रकाशित मिति: बिहीबार, जेठ १२, २०७९  १३:३५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार