टेक्ससमा २१ जनालाई गोली हानी मार्नुअघि बन्दुकधारीले सामाजिक सञ्जालमा त्यसबारे 'लेखेका थिए'

बिहीबार, जेठ १२, २०७९

टेक्सस, १२ जेठ । अमेरिकाको टेक्सस राज्यस्थित एउटा प्राथमिक विद्यालयमा २१ जनाको ज्यान लिने गरी आक्रमण गरेका बन्दुकधारीले हमला गर्नुअघि सामाजिक सञ्जालमा त्यसबारे लेखेको अधिकारीहरूले बताएका छन् । फेसबुक सञ्चालक कम्पनी मेटाका अनुसार १८ वर्षीय सन्दिग्धले लेखेका कुरा सीमित मानिसले हेर्न सक्ने गरी पोस्ट भएको बताइएको छ । टेक्सस राज्यका गभर्नर ग्रेग याबटका अनुसार १९ जना बालबालिका र दुईजना शिक्षकलाई गोली प्रहार गर्नुअघि आक्रमणकारीले तीनवटा चेतावनी फेसबुकमा पोस्ट गरेका थिए । सुरुमा उनले आफ्नै हजुरआमालाई गोली हान्ने र पछि आफूले त्यसो गर्ने लेखेको याबटले बताएका छन् ।

त्यसपछि उनले एउटा एलिमेन्ट्री विद्यालयमा 'आक्रमण गर्न लागेको' घोषणा गरेका थिए । उक्त सन्देश ती बन्दुकधारी विद्यालय पुग्नुभन्दा १५ मिनेटअघि मात्रै पोस्ट गरिएको बताइएको छ ।

टेक्सस

तस्बिर : REUTERS

ती बन्दुकधारीले टेक्सस एलिमेन्ट्री स्कूलको एउटै कक्षा कोठामा १९ जना बालबालिका अनि दुई शिक्षकलाई मारेको थिए । उनले सबैलाई कोठामा थुनेका थिए । पछि उनलाई एक सीमारक्षक अधिकारीले गोली हानेर मारेका थिए । घटनामा कैयौँ बालबालिका घाइते भएका छन् ।

समाचारसंस्था एपीका अनुसार उक्त आक्रमण सुरु भएपछि नजिकै रहेका एक सीमारक्षक अधिकारी उक्त विद्यालय गए र ती युवकलाई गोली हानेर मारिदिए ।

घटना भएको युभाल्डी मेक्सिकोसँगको सीमाभन्दा ८० माइल पर छ । मङ्गलवारको घटनामा दुईजना प्रहरी अधिकारी घाइते भएको तर उनीहरूको अवस्था सामान्य रहेको बताइएको छ ।

अमेरिका

तस्बिर : REUTERS

बन्दुकधारी १८ वर्षका युवाले के कारण आक्रमण गरे भन्ने कुरा स्पष्ट हुन सकेको छैन । अमेरिकाका विद्यालयमा गोलीकाण्डहरू बारम्बार भइरहेका छन् । गत वर्ष मात्रै त्यहाँ त्यस्ता २६ घटना भएको विवरण सार्वजनिक भएका छन् । सेन्टर फर डिजीज कन्ट्रोल एन्ड प्रिभेन्शन सीडीसीले सार्वजनिक गरेको तथ्याङ्कका अनुसार सन् २०२०मा अमेरिकामा कार दुर्घटनाभन्दा बढी मानिसको बन्दुक आक्रमणमा परेर मृत्यु भएको थियो । दश दिनअघि मात्रै न्यूयोर्क राज्यमा भएको हमलामा १० जनाको मृत्यु भएको थियो ।–बीबीसी 

प्रकाशित मिति: बिहीबार, जेठ १२, २०७९  १३:१२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार