हार्न नजानेका चिरीबाबु, प्रतिस्पर्धीलाई फराकिलो मतान्तरले पछि पार्दै दोस्रो कार्यकालका लागि चुनिए

ललितपुर महानगरमा चिरीबाबुको ‘सेकेन्ड इनिङ्स’
मंगलबार, जेठ १०, २०७९

जावलाखेल (ललितपुर) , १० जेठ । ललितपुर महानगरपालिकाको मेयरमा नेपाली काँग्रेसका उम्मेदवार चिरीबाबु महर्जन विजयी भएका छन् । उपमेयरमा नेकपा एमालेकी मञ्जली शाक्य ९बज्रचार्य० विजयी भएकी छन् । मेयरमा चिरीबाबुले आफ्ना निकटतम प्रतिस्पर्धीलाई फराकिलो मत अन्तरले पराजित गर्दै मेयरमा दोस्रो कार्यकालका लागि विजयी भएका हुन् । अन्तिम मतपरिणामको औपचारिक घोषणा केही बेरपछि हुँदैछ ।

मुख्य निर्वाचन अधिकृत किरणप्रसाद शिवाकोटीका अनुसार महानगरमा कुलु मतदाता १ लाख २२ हजार ८९० रहेकोमा ८६ हजार ५ सय ४० मत खसेको  थियो । मेयरमा तीन स्वतन्त्रसहित १३ जना तथा उपमेयरमा ११  जनाको उम्मेदवारी परेको थियो । 
२०७४ को स्थानीय तहको निर्वाचनमा पनि कांग्रेसबाट उम्मेदवार महर्जनले ३ सय २६ मतान्तरले व्यञ्जनकारलाई पराजित गरेका थिए । त्यतिबेला महर्जनले २४ हजार ६ सय ४२ मत प्राप्त गर्दा व्यञ्जनकारले २४ हजार ३ सय १६ मात्र मत प्राप्त गरेका थिए । ललिपतपुर महानगपालिमा २९ वटा वडामध्ये ११ वडामा काँग्रेस, ११ वडामा एमाले,३ वडामा माओवादी, २ वडामा नेकपा एस तथा २ वडामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।  

यस्तो छ चिरीबाबुको जीवन गाथा 

२०१४ सालमा छोरा जन्मेपछि बाआमाले उनको नाम चिरीबाबु राखिदिए । नेपाल भाषामा चिरीको अर्थात सानो हो । न्हुच्छे महर्जन र हरिमाया महर्जन माइला छोरा चिरीबाबु सानैदेखि तार्किक कुरा गर्थे । श्रमलाई सम्मान गर्थे । कर्ममा विश्वास गर्थे । तेजिला थिए । एक पटक भनेको कुरा ढुंगामा लेखेजस्तै हुन्थ्यो । ललितपुरको त्रिपद्य स्कुल पढेका उनी विद्यार्थी जीवनमा कहिल्यै दोस्रो भएनन् । त्यति मात्रैै होइन, चुनावमा पनि उनी कहिल्यै दोस्रो भएनन् । सधै पहिला भए । वडा नं ३ को तीन पटक वडा अध्यक्ष बने । ज्यापू समाज ललितपुरको अध्यक्षमा निर्वाचित भए । ललितपुर महानगरको दुईपटक मेयर पदमा निर्वाचित भए ।  चिरीबाबु भन्छन्, ‘अहिलेसम्म पढाइ र चुनावमा मलाई कहिल्यै ब्याक लागेको छैन ।’ 

चिरीबाबुको सादापन 

परिवारका माइला सन्तान चिरीबाबुलार्ई तडकभडक मन पर्दैन । मध्यवर्गीय परिवारका उनी साधारण भएर जिउन चाहन्छन् । उनको लवाइखवाई र व्यवहारले त्यो देखाउँछ । जीवनमा भागेको संघर्षले आफूलाई सादा जीवन बिताउन प्रेरित गरेको उनी बताउँछन् । त्यति मात्रै होइन,कस्तो जीवन बाँच्ने भन्ने कुरामा मान्छेको स्वभाव र हुर्काइ समेत महत्वपूर्ण हुने उनको अनुभवले बताउँछ । पुस्तक पढ्न र नयाँ ठाउँ घुम्न मन पराउने उनलाई नेपाली खाना खुबै मनपर्छ । 

संघर्षपूर्ण स्कुले जीवन 

ललितपुरको मेयरमा दोस्रो कार्यकालका लागि निर्वाचित चिरीबाबुले स्कुले शिक्षा निकै संघर्ष गरेर पुरा गरेका हुन् । जन्मेको चार वर्षमै बाबुको मृत्यु भएपछि तीन छोरा र तीन छोरीलाई हुर्काउन उनकी आमालाई निकै कठिन भयो । बाबुको मृत्यु भएपछि उनको परिवारले खेतीपाती गरेर अन्न त जुटाउँथ्यो । तर घरमा नगद भने हुँदैनथ्यो । पढ्न मन गर्ने चिरीबाबुलाई आमाले जेनतेन अन्नपात बेचेर पाँचसम्म त पढाइन् । तर ६ कक्षादेखि भने उनले पढाउन नसक्ने भइन् ।
स्कुलमा मासिक रुपमा तिर्नुपर्ने शुल्क २ रुपैयाँ ३९ पैसा उनको परिवारले धान्न नसक्ने भयो । ६ कक्षामा उनी भर्ना भए तर शुल्क तिर्न सकेनन् । उनका भिनाजु दीपक महर्जन तत्कालिन समयमा ठेक्कापट्टा गर्दथे । अहिलेको ज्ञानोदय बालबाटिकाका संस्थापक इन्दिरा यक्थुम्बाको घर निर्माणको जिम्मा उनकै भिनाजुले पाएका थिए । उनी भिनाजुले ठेक्का पाएको घर बनाउने काममा ज्यामी बने । सानो बच्चाले काम गरेको देखेपछि इन्दिराको आँखा चिरीबाबुमा अडियो । अनि उनले चिरीबाबुका बारेमा सोधपुछ गरिन् ।
‘पढ्नका लगि पैसा नभएपछि ज्यामी काम गर्न आएको थाहा पाएपछि इन्दिरा म्यामले १० कक्षासम्म मेरो पढाई खर्च ब्यहोर्ने हुनुभयो,’ चिरीबाबुले शब्दपाटीलाई आफ्नो विगत सुनाए । ‘तर मैले ज्यामी काम भने सधैंका लागि छोड्नु पर्ने उहाँको सर्त थियो, जसले नै मेरो जीवनमा परिवर्तन ल्याइदियो ।’
कक्षा १० सम्मको स्कुलको युनिफर्म, किताब र विद्यालय शुल्क सबै १० कक्षासम्मइन्दिराले नै ब्यहोरिन् । त्यसले चिरीबाबुकी आमालाई पनि राहत भयो । 
चिरीबाबु कक्षा ६ मा पढ्दै थिए, उपत्यकाव्यापी प्रश्नोत्तर कार्यक्रम आयोजना भएको थियो । त्यतिखेर उनले एक सय रुपैयाँ पुरस्कार पाएका थिए । त्यो एक सय रुपैयाँले उनले जुत्तासहित दुई जोर स्कुलको ड्रेस किने । बचेको ३३ रुपैयाँले बैंक खाता खोले । उनले भोगेको संघर्षले पैसाको महत्व सानैदेखि बुझे । 

जागिर खाँदै पढ्दै 

जेनतेन गरेर स्कुलको पढाइ सकेका चिरीबाबुलाई कलेज कसरी पढ्ने भन्ने चिन्ता थियो । आर्थिक अवस्था कमजोर भएकाले काम गर्दै पढ्नु बाध्यता थियो । त्यसैले, राष्ट्रिय शिक्षा समितिमा उनले खरिदारको जागिर खाए ।

चिरीबाबुको राजनीतिक यात्रा 

त्यतिबेला उनी कुनै दलमा आबद्ध भएका थिएनन्। सुधारिएको पञ्चायत आएपछि २०३८ मा उनी वडाअध्यक्ष उठे । जसमा उनले सहजै जित हासिल गरे । चिरीबाबु भन्छन्, ‘टोलटोलमा फ्री क्लिनिक र पुस्तकालय स्थापना गर्नमा नेतृत्वदायी भूमिका खेलेकाले चुनाव सजिलै जिते ।  ‘मेरो इमान्दारितामा अहिलेसम्म कसैले पनि औला उठाउन सकेको छैन, किनकी म जनताको पैसा खाँदिन र त मलाई जनताले मन पराउँछन् । अनि उनीहरुको विश्वास जितेको छु,’ चिरीबाबु भन्छन् ।
२०३८ सालमा वडा अध्यक्ष चुनिए पनि त्रिभुवन बिमानस्थलको प्रोजेक्टमा काम गरि रहे । त्यसो गर्नुको एउटा कारण थियो — घर व्यवहार चलाउनु । आत्मसन्तुष्टिका लागि उनी वडा अध्यक्ष भए, घर चलाउन जागिर खाए । २०४६ सालमा बुहदललाई समर्थन गर्न उनले वडाध्यक्षबाट राजीनामा दिए ।

कांग्रेस पार्टीमा आवद्धता

उनको कांग्रेस पार्टीसँगको आवद्धता भने रोचक छ । ललितपुर महानगर वडा नं।१०का निवर्तमान वडा अध्यक्ष नरसिंह ब्यञ्जनकारले नै चिरीबाबुलाई कांग्रेसमा प्रवेश गराएका हुन् । ०४९ सालमा भने वडा नम्बर ३ मा वडाध्यक्षको रुपमा कांग्रेसले चिरीबाबुलाई उठायो । र उनले जित हासिल गरे ।  चिरीबाबुले २०५१ सालमा ज्यापु समाज स्थापना गर्न सहयोग गरे । २०५१ देखि ६२ सम्म उनी ज्यापु समाजका अध्यक्ष थिए । 

देउवासँग बाजी जितेका चिरीबाबु 

संघीयता लागू भएपछिको पहिलो स्थानीय तहको निर्वाचन । नेपाली कांग्रेसमा ललितपुर महानगरको नेतृत्व गर्ने उम्मेदवारको खोजी थियो । उपत्यकाको महत्वपूर्ण पालिका, जहाँ सक्षम र योग्य र जित्ने उम्मेदवार उठाउनु पर्ने थियो । जिल्ला पार्टी नेतृत्वको आँखा चिरीबाबुमा परेको रहेछ । यो कुरा केन्द्रीय पार्टी सभापति शेरबहादुर देउवासम्म पुग्यो । देउवासँग चिरीबाबुले बाजी ठोके । आफूले हारे देउवालाई एक लाख दिने । आफूले जिते देउवाले एक सय दिनुपर्ने । निर्वाचनको जितसँगै उनले पार्टी सभापतिसँगको बाजी पनि जिते । बाजी जिते वापत पाएको एक हजार अहिले पनि उनले सुरक्षित राखेका छन् । पहिलो कार्यकालमा चिरीबाबुले बाजीको मर्म मर्न दिएनन् । नगरलाई बस्न योग्य सहर बनाउन धेरै काम गरेर आफूलाई प्रमाणित गरे ।  

चिरीबाबुलाई मिश्रीको साथ 

प्रत्येक दिन एकाबिहानै  मिश्री महर्जन चिरीबाबुको डायरी हेर्छिन । कार्यक्रम सम्झाउँछिन् । त्यसका लागि आवश्यक कागजपत्र, डायरी, अध्ययन गर्नुपर्ने पुस्तकको व्यवस्था मिलाइदिन्छिन् । त्यसो त चिरीबाबु आफ्नी जीवनसंगिनीसँग दिनभर भोगेका सजिला, अप्ठ्यारा सुनाउँछन् । जानेको र बुझेको विषयमा सल्लाह र सुझाव दिन्छिन् । त्यतिमात्रै होइन, मिश्रीले पत्रिकामा पढेका राजनीतिक र सामाजिक विषय समेत चिरीबाबुलाई सुनाउँछिन् । सामाजिक संजालमा भेटेका राम्रा र नराम्रा पक्षलाई केलाएर चिरीबाबुलाई बताउँछिन् ।
४० वर्ष अघि प्रेम विवाह गरेका चिरीबाबु उनको साथ र सहयोगले हर्षित छन् । भन्छन्, मेरो सफलताको एउटा आधार उनको साथ र सहयोग हो ।’ दुई छोरी र एक छोराका बाबु चिरीबाबुका एक नातिनी र एक नाति छन् । छोराका छोराछारीबाट हजुरबा बनेका चिरीबाबु अमेरिकामा रहेका नातिनी सचि र नाति वोधिसँग फुर्सद मिलाएर घण्टौ बात मार्छन् । 

महानगरमा चिरीबाबुको दोस्रो इनिङ्स 

दोस्रोपटक मेयर बन्दै गर्दा चिरीबाबुले पाएको लोकप्रिय मतको महत्वपूर्ण आधार(ललितपुरको मुहार फेर्न उनले गरेको काम । मिजासिलो स्वभाव । मेयरको कुर्सीमा बसेपछि सबैलाई गर्ने समान व्यवहार, हुन् । यसका साथै बेदागी हुनु जनताले पत्याउनुको अर्को मुख्य आधार हो । सांस्कृतिक सहर ललितपुर महानगरको परिचयलाई उनले राष्ट्रिय मात्रै होइन, अन्तर्राष्ट्रिय स्तरमा व्यापक बनाए । हुन्छलाई हुन्छ, हुँदैनलाई हुँदैन भन्न सक्ने आँट भएका, स्पष्ट भिजन भएका, विकासप्रेमी नवनिर्वाचित मेयर चिरीबाबु महर्जनले आफूलाई थप पुष्टि गर्न पाँच वर्ष पाएका छन् । अबको पाँच वर्षमा महानगरवासीको दैनिकी सुरक्षित र सजिलो बनाउन महर्जनले गर्ने कामले उनी जनजनको मनमा बस्न थप सफल हुने निश्चित छ । महानगरमा चिरीबाबुले खर्चेको ५ वर्ष र अब खर्चने पाँच वर्षले ललितपुरको मात्रै होइन, नेपालको परिचयलाई अझै फराकिलो बनाउनेमा दुई मत छैन ।  ललितपुरसँगै नेपालको समृद्धिमा चिरीबाबुले पु¥याउने योगदानले नेपाली कांग्रेसको नेतृत्वले गर्व गर्न सकोस् । विकासप्रेमी र आफ्ना दुखसुखका अभिभावक बन्ने सक्ने मान्छेलाई मेयर चुनेकोका महानगरवासीलेकुनै लघुताभास गर्ने छैनन् । 

प्रकाशित मिति: मंगलबार, जेठ १०, २०७९  १८:३७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार