सिन्धुका सरकारी स्कुलका विद्यार्थीलाई खोज्न सिकाउँदै ‘साथी शिक्षक’ 

प्राथमिक तह राम्रो भए क्षमतावान जनशक्ति उत्पादन हुन्छन् : जिमी लामा 
सोमबार, जेठ ९, २०७९

ललितपुर, ९ जेठ । 
विद्यालय बनाउने हामीले हो राम्रो 
सारथी सारथी हामी सारथी ।।
भाइबहिनीको मुहार हेर्दै रमाउने हामी 
 साना साना हात समाउने हामी ।।
परिवर्तन ल्याउन हिड्ने हामी सारथी । 
मबाट हामी हुँदै भयौ सारथी ।।
सामुदायिक विद्यालयका विद्यार्थीलाई अंग्रेजी र गणित विषय पढाउन जान लागेका शिक्षक साथीले गाएको गीतको एक हरफ हो यो । 
साथी शिक्षक सिन्धुपाल्चोकको थाङपाल पोखरी गाउँपालिका र मेलम्ची नगरपालिकाका विद्यालयमा पढाउन जाँदैछन् । साथी शिक्षक बनेर जानु अघि लिएको तालिमको समापनको दिन थियो शनिबार । उक्त कार्यक्रममा उनीहरूले यो गीत गाएर आफ्नो योजना, प्रतिबद्धता र त्यहाँ जानुको उद्देश्य प्रष्ट पारेका थिए । 
हेलम्बु एजुकेशन लाइभलिहुड पाटनर्रसीप (हेल्प) नामक संस्थाले सन् २०१९ देखि साथी शिक्षक कार्यक्रम सञ्चालन गरिरहेको हो । सामुदायिक विद्यालयका विद्यार्थीको गणित र अंग्रेजी विषय सुधारका लागि हेल्प नेपाल नामक संस्थाले यो पटक १५ जना साथी शिक्षकलाई विद्यालय पठाएको छ । हेल्प नेपालका प्रमुख जिम्मी लामाले गुणस्तरीय शिक्षाका लागि यो कार्यक्रम सञ्चालन गरेको बताए । उनले भने, ‘प्राथमिक तह अर्थात फाउन्डेसन राम्रो नभए क्षमतावान  जनशक्ति उत्पादन हुन सक्दैन, त्यसैले कक्षा एक देखि पाँचलाई प्राथमिकतामा राखेका हौं ।’ १५ वर्षपछिका लागि आवश्यक दक्ष जनशक्ति उत्पादनका लागि आजैबाट लगानी गरेका हौं । 
साथी शिक्षक कार्यक्रम संयोजक रञ्जना गौतमले साथी शिक्षकले विद्यार्थीलाई सिर्जनशील हुन, विषयवस्तुलाई फरक तरिकाले सोच्न, सहकार्य गर्न, संवाद र संचारको शैली समेत सिकाउने बताइन् । 
गौतमका अनुसार साथी शिक्षक बन्नका लागि धेरै आवेदन प्राप्त भएपनि हाललाई लामो छनौट प्रक्रियापछि १५ जनालाई छनौट गरिएको बताए । 
साथी शिक्षक बन्न तालिम लिएका पुष्पराज चौधरीले अवस्मरणीय यात्रामा प्रवेश गर्न यो तालिम लिएको प्रष्ट पारे । उनले भने, ‘मलाई शिक्षक हुन साह्रै मन पर्छ, शिक्षकले संसार बदल्ने शक्ति राख्छ ।’ कविता तामाङ पनि औधी खुशी छिन् । सामुदायिक विद्यालयमा बिताउने दुई वर्षले समाज बुझ्ने महत्वपूर्ण अवसर दिने उनको विश्वास छ । 
साथी शिक्षकलाई तालिमको प्रमाणपत्र दिँदै शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइरालाले साथी शिक्षकले विद्यार्थीलाई खोज्न सिकाउनु पर्ने बताए । उनले भने, ‘पौष्टिक आहार भनेको के हो भनेर प्रश्न सोध्नु भन्दा तिमीले बिहान के के खायौं भनेर प्रश्न सोध्दै खानेकुराको महत्व बुझाउनु पर्छ ।’ गहिराइमा पुग्ने कलाको विकास विद्यार्थीमा नभएकाले समस्या निम्तिएको उनको भनाई थियो । 
जुन शिक्षक प्रश्न सोध्छ त्यो नै असल शिक्षक भएको उनले बताए । उत्तर भनिदिने शिक्षक असल शिक्षक नभएको उनको भनाइ थियो । अनुसन्धान घरभित्र, विद्यालयको कक्षाकोठाभित्र जताततै गर्न सकिने उनको धारणा थियो । 
उनले भने, ‘मादलको बारेमा पढाउँदै हुनुहुन्छ भने अनुसन्धान गर्न लगाउनुस्, तपाई असल शिक्षक बन्नु हुनेछ र सक्षम विद्यार्थी उत्पादन गर्दै हुनुहुन्छ ।’
कार्यक्रममा शिक्षा पत्रकार सुदर्शन सिग्देलले गुणस्तरीय शिक्षाका लागि सिर्जनशीलता र खोजी अत्यावश्यक भएको बताए । 
 

प्रकाशित मिति: सोमबार, जेठ ९, २०७९  ११:४६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार