महात्मा गान्धीको बिग्रिएको घडी १२ हजार पाउन्डमा लिलामीमा बिक्यो 

आइतबार, मंसिर ७, २०७७

चाँदीको जलप लगाइएको स्वीस घडी गान्धीले लिलाम बढाबढमा बिक्री गर्न ल्याएका व्यक्तिका हजुरबुवालाई ‘धन्यवाद स्वरूप’ दिएका थिए ।

नयाँदिल्ली । कुनै समय महात्मा गान्धीले ‘लगाएको र बिग्रिएको’ घडी १२ हजार पाउन्ड (झण्डै अठार लाख रुपैयाँ) मा बिक्री भएको छ । चाँदीको जलप भएको स्वीस घडी अहिले घडीको स्वामित्व भएका व्यक्तिको हजुरबुवालाई गान्धीले सन् १९४४ मा ‘उनको समर्पणका लागि धन्यवाद स्वरूप’ दिएका थिए । लिलामीकर्ता एन्ड्रर्यू स्टोले शुक्रबार इस्ट ब्रिस्टल अक्सनमा १० हजार पाउन्ड प्राप्त गर्ने आशा राखेका थिए । स्टोका अनुसार घडी किन्ने व्यक्ति अमेरिकाका एकजना निजी सङ्कलक हुन् । यसअघि गान्धीले लगाएको ठानिएको चस्माको लिलामी भएको थियो । गत अगस्टमा लिलामी भएको उक्त चस्मा २ लाख ६० हजार पाउन्डमा बिक्री भएको थियो ।  स्टोले ‘विगतका केही महिना रफ्तारपूर्ण‘ भएको र घडीको बिक्री ‘अर्को राम्रो परिणाम’ भएको बताए । ‘गत अगस्टमा चस्मा आश्चर्यजनक मूल्यमा बिक्रीपछि गान्धीका अन्य सामग्रीहरू बिक्रीका अनुरोधहरू आएका छन्’, उनले भने,‘ती सामग्रीहरूमा सिक्का र तस्बिरहरू थिए । अनि उनको यो घडी आइपुग्यो र हामीलाई लाग्यो ‘क्या गज्जब भयो ।’

‘इतिहासको टुक्रा’
उक्त घडी कुनै बेला गान्धीका समर्थक रहेका सिकर्मी मोहनलाल शर्माको थियो । सन् १९३६ मा, उनी नागरिक अधिकारबादी नेता गान्धीलाई भेट्न र उनलाई सघाउन गएका थिए । त्यतिबेला उनको समर्पणका लागि धन्यवादस्वरूप गान्धीले सन् १९४४ मा आफ्नो घडी दिएका थिए । र, त्यसको स्वामित्व क्रमशः उनका नाति कहाँ आइपुग्यो । ‘यो इतिहासको एउटा अविश्वसनीय वस्तु हो र यो लगाइएको र फुटेको हुनाले महत्व थपिएको छ’, स्टोले भने ।
‘यो घडी धेरै वर्ष गान्धीले लगाएका थिए भनेर सोच्दा र त्यसपछि उनका एकजना निकटका साथीलाई दिइएको थियो र जसले त्यसलाई त्यति नै महत्व दिएर जोगाए भन्ने तथ्य अदभूत छ’ स्टोले भने । बीबीसी 
 

प्रकाशित मिति: आइतबार, मंसिर ७, २०७७  १६:१५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार