नौ वडाध्यक्षको साथसहित चन्द्रागिरिमा दोहोरिए घनश्याम गिरी  

भन्छन्, ‘नगरवासीले सुम्पिएको अभिभारा पूरा गर्छु’
बिहीबार, जेठ ५, २०७९

काठमाडौँ, ५ जेठ । नेपाली कांग्रेसले चन्द्रागिरि नगरपालिकामा ऐतिहासक जित निकालेको छ । गत शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनमा कांग्रेसले नगर प्रमुखसहित बहुमत वडाध्यक्ष आफ्नो पक्षमा ल्याउन सफल भएको छ । प्राज्ञिक एवं विकासप्रेमी नेताका रुपमा सुपरिचित घनश्याम गिरी कांग्रेसका तर्फबाट पुनः मेयर पदमा दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको छ भने वडा न १, ३, ४, ७, ८, ९, ११,  १३ र १५ मा कांग्रेसले  विजय हासिल गरेको छ । नवनिर्वाचित नगर प्रमुख गिरीले १५ हजार ४७५ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का उत्तमबहादुर रावतले १४ हजार ६५१ मत प्राप्त गरेका छन् । उनी वडा नं १५ का निवर्तमान वडाध्यक्ष हुन् । 
कांग्रेसका तर्फबाट नवनिर्वाचित  वडाध्यक्ष  वडा नं १ मा हरिश्याम रानामगर, ३ मा दुर्गालाल महर्जन, ४ मा कृष्णप्रसाद खड्गी, ७ मा शम्भु केसी, ८ मा प्रल्हाद रिजाल, ९ मा अच्युत अधिकारी, ११ मा नरेन्द्रराज श्रेष्ठ  १३ मा श्रीकृष्ण खत्री र १५ मा घनश्याम लुइँटेल छन् । 
नवनिर्वाचित मेयर गिरी कांग्रेस चन्द्रागिरि नगर कार्य समितिका सभापतिसमेत हुन् । निर्वाचित भएपछि उनले भने, “निर्वाचनका समयमा नगरवासीसमक्ष आफूले शिक्षा, स्वास्थ्य, पूर्वाधार विकासलगायतका क्षेत्रमा गरेका प्रतिबद्धता पूरा गर्नेछु । यस चन्द्रागिरि नगरलाई मुलुककै नमूना प्रविधि मैत्री नगरपालिकाको रुपमा स्थापित गर्नेछु ।” 

‘उत्पादन रोजगार र बजारीकरण : प्रविधि युक्त सुशासन’ भन्ने चुनावी नाराका साथ उनी निर्वाचनमा होमिएका थिए । उनका मार्गचित्रमा सुशासन एवं सूचनामैत्री नगर बनाउने, उत्पादन प्रवद्र्धन र प्रोत्साहन गर्ने, प्राविधिक शिक्षालय र तालिम केन्द्र स्थापना गर्ने, प्रविधिमैत्री शिक्षामा जोड, गुणस्तरीय स्वास्थ सेवा प्रवद्र्धन, सफा र रमणीय वातावरण, पर्यटन प्रवद्र्धनः धर्म, संस्कृति, कला र गुठी संरक्षण लगायताका छन् । 
काठमाडौँ जिल्लाका दक्षिण पश्चिम भेगका थानकोट, दहचोक, नैकाप, नयाँ भञ्ज्याङ, वाड भञ्ज्याङ, बलम्बु, महादेवस्थान, तीनथाना, सतुङ्गल, मातातीर्थ, मच्छेगाउँ र नैकाप पुरानो भञ्ज्याङका तत्कालीन गाउँविकास समिति मिलाएर बनाइएको चन्द्रागिरिको पछिल्लो जनसङ्ख्या एक लाख ३६ हजार ९२८ छ । निर्वाचन आयोगका अनुसार  निर्वाचनका लागि नगरपालिकामा ४७ हजार २६४ मतदाता कायम भएकोमा यस पटकको निर्वाचनमा  ३६ हजार ७१२ ले मतदान गरेका थिए । यस पटकको निर्वाचनमा २२ मतदानस्थल ५६ मतदान केन्द्र तोकिएको थियो  ।
विसं २०७४ जेठमा सम्पन्न  स्थानीय तहको निर्वाचनमा ३८ हजार ८३६ मतदाता  थिए । सो  निर्वाचनमा १३ हजार ३०९ मत प्राप्त गरी कांग्रेसका नेता गिरी मेयर पदमा निर्वाचित भएका थिए । कांग्रेसले सो निर्वाचनमा चन्द्रागिरिका वडा नं ३, ४, ७, १२ र १४ मा वडाध्यक्ष पद आफ्नो पक्षमा ल्याएको थियो । कांग्रेस चन्द्रागिरि नगर समितिका उपसभापति राजेन्द्र विक्रम बानियाँ एवं नवीन महर्जनले नेपाली कांग्रेस र गठबन्धनका उम्मेदवारलाई चन्द्रागिरि नगरपालिकाको नेतृत्व गर्न आफ्नो अमूल्य मतदान गर्ने सबै नगरवासीलाई धन्यवाद दिएका छन् ।–रासस 
 

प्रकाशित मिति: बिहीबार, जेठ ५, २०७९  १७:३८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार