नेपालद्वारा युगान्डालाई १०० रनको लक्ष्य

बिहीबार, जेठ ५, २०७९

काठमाडौं, ५ जेठ । नेपालले तेस्रो टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा पाहुना टोली युगान्डालाई जितका लागि १०० रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर ९९ रनको योगफल बनायो । नेपालका लागि ज्योति पाण्डेले सर्वाधिक ४७ रनको योगदान दिइन् । त्यसैगरी कप्तान रुबिना क्षेत्रीले अविजित रहँदै १८ रन जोडिन् भने सीता रानामगर १२ रनमा आउट भइन् । त्यस्तै विन्दु रावलले चार रन जोडद रोमा थापा र डोली भट्टले समान तीन–तीन रन जोडिन् ।  सबनम राई र इन्दु बर्माले एक–एक रन जोडिन् । बलिङमा युगान्डाका फिओना कुलुमे, कोन्सी अवेको र सराह अकिटेङले समान दुई–दुई विकेट लिए भने रीता मुसामाली र जनेत एम्बाबाजीले एक–एक विकेट लिए । पाँच खेलको महिला टी ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा युगान्डा २–० ले अघि रहेको छ । युगान्डाले पहिलो खेलमा नेपाललाई १२ रनले पराजित गरेको थियो भने दोस्रो खेलमा नेपाल युगान्डासँग एक विकेटले पराजित भएको थियो ।

प्रकाशित मिति: बिहीबार, जेठ ५, २०७९  १५:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार