कप्तान र उपकप्तान नै परिवर्तन गरेको भएर राम्रो हुन्थ्यो : सिता 

मंगलबार, जेठ ३, २०७९

काठमाडौं, ३ जेठ । केही दिनअघि मात्रै नेपाल क्रिकेट संघ (क्यान) ले उपकप्तानबाट हटाएपछि सिता रानामगरले उपकप्तान मात्रै नभएर कप्तान पनि हटाउँदै नयाँ खेलाडीलाई अवसर दिनुपर्न प्रतिक्रिया दिएकी छन् ।  युगान्डाविरुद्धको दोस्रो टी–२० खेलमा उपलब्ध हुँदै खेलेकी सिताले खेलपछि पत्रकार सम्मेलनमा बोल्दै क्यानले उपकप्तानमात्र नभएर कप्तान नै हटाएर युवा खेलाडीलाई अवसर दिनुपर्ने बताएकी हुन् ।  ‘क्यानको निर्णय ठिकै थियो होला । युवा खेलाडीलाई ग्रुम गर्न परिवर्तन गर्नु भएको होला । तर कप्तान र उपकप्तानलाई नै परिवर्तन गरेर ग्रुम गरेको भए अझै राम्रो हुन्थ्यो होला । यो होम मैदान पनि हो,’ उपकप्तानबाट हटाए पछि पहिलो पटक प्रतिक्रिया दिँदै सिताले भनिन् । 

यस अघि क्यानले युगान्डाविरुद्धको पाँच टी–२० श्रृंखलाको पूर्व सन्ध्यामा सितालाई हटाउँदै इन्दु वर्मालाई उपकप्तानी जिम्मा दिएको थियो । नेपाली टिमको कप्तानी भने रुविना क्षेत्री गरिरहेकी छन् ।  आज भएको दोस्रो खेलमा समेत नेपाल युगान्डासँग पराजित भएको छ । पहिलो खेलमा फिल्डिङ र ब्याटिङमा चुक्दै १२ रनले हारेको नेपाल दोस्रो खेलमा समेत सोही गल्ती गर्दै १ विकेटले हार्न पुग्यो । यो सँगै नेपाल श्रृंखलामा २–० ले पछि परेको छ । 

यूएईमा भएको फ्रेयर ब्रेक इन्भिटेसनल प्रतियोगिता खेल्न पुग्दा सिताले पहिलो खेल गुमाएकी थिइन् । सितालाई उपकप्तानबाट हटाएपछि क्यानको एउटा पक्ष अहिले असन्तुष्ट रहेको छ । कहिले यसलाई पूर्वाग्रही हिसाबले समेत गरिएको निर्णय मानेका छन् ।  सिताले समेत आफूभन्दा क्यान पावरफुल भएको र क्यानको निर्णयलाई मान्ने बत्ताइन् । ‘म जहाँ रहे पनि खेल्ने हो । एपीएफ क्लबमा मेरो कदर रहेको छ । म भन्दा अरू नै पावरफुल भएपछि , क्यान नै पावर फुल भएपछि उहाँहरूको निर्णयलाई मान्नुपर्छ । म खुसी छु,’ सिताले भनिन् ।  यस्तै सिताले आफूलाई नेपाली महिला क्रिकेट टिमको लिडर बनाउनेमा कुनै अपेक्षा नगरेको समेत बनाइन् । 

प्रकाशित मिति: मंगलबार, जेठ ३, २०७९  १८:३७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार