एमाले प्रमुख सचेतक विशाल भट्टराईको गृहपालिकामा गठबन्धनका उम्मेदवार विजयी

मंगलबार, जेठ ३, २०७९

खोटाङ, ३ जेठ । खोटाङमा विभिन्न दलका नेताको वडा तथा पालिकामा फरक दलका उम्मेदवार विजयी भएका छन् । एमाले प्रमुख सचेतक विशाल भट्टराईको गृहपालिका खोटेहाङ गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । खोटेहाङमा माओवादी केन्द्रका उदिमबहादुर राई अध्यक्ष र कांग्रेसका रुपेश राई उपाध्यक्षम विजयी भएका हुन् । २०७४ सालको स्थानीय निर्वाचनमा एमाले विजयी भएको सो गाउँपालिकामा एमालेका अध्यक्षका उम्मेदवार कविता राई र उपाध्यक्षका उम्मेदवार राजन बञ्जरा पराजित भएका छन् । उदिमबहादुरले ३७२८ र कविताले ३६९० मत पाए । विजयी रुपेशले ३७६३ र राजनले ३३१० मत पाएका छन् । भट्टराईको गृहवडा खोटाङ बजारमा भने एमालेका शिवप्रसाद फुयाल विजयी भएका छन् । 

यस्तै, कांग्रेस प्रदेश १ का महामन्त्री भुपेन्द्र राईको गृहपालिकामा कांग्रेसकै उम्मेदवार पराजित भएका छन् । कांग्रेसका उम्मेदवार नइन्द्र राईलाई ६४१ मतले पछि पार्दै एमालेका लोकेन्द्र राई अध्यक्षमा विजयी भएका हुन् । लोकेन्द्रले २८०३ र नइन्द्रले २१६२ मत पाएका छन् । उपाध्यक्षमा पनि एमालेकै अरुणा थापा मगर २७३३ मत पाएर विजयी बनेकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी रमा कट्वालले २३१२ मत पाएका छन् । सो पालिकामा २०७४ को निर्वाचनमा भुपेन्द्र अध्यक्षमा विजयी भएका थिए ।  माओवादी केन्द्रका नेता एवं प्रदेश १ का खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री रामकुमार राईको गृहपालिका साकेला गाउँपालिकामा माओवादी केन्द्रका अर्जुनकुमार खड्का पराजित भएका छन् । उपाध्यक्षमा माओवादी केन्द्रकी उम्मेदवार बिर्सिका राई विजयी हुँदा खड्का भने कांग्रेसका रविप्रकाश राईभन्दा पछि परेका हुन् । रविप्रकाशले १८५० मत ल्याउँदा खड्काले १७७२ मत पाएका छन् । खड्का निवर्तमान अध्यक्ष पनि हुन् ।

 यस्तै, बिर्सिकाले २०१२ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका सरिता खड्काले १२२४ मत ल्याएका छन् । उनको गृहवडा रतन्छामा एमालेका जितेन्द्रकुमार राईसँग माओवादी केन्द्रका गौतम राई पछि पारिएका छन् ।  एकीकृत समाजवादीका नेता एवं प्रदेश १ का सामाजिक विकासमन्त्री राजन राईको गृहपालिका केपिलासगढी गाउँपालिकामा कांग्रेससँग एकीकृत समाजवादीका उम्मेदवार पराजित भएका छन् । नेकपा (एस)का माईतीराज राईलाई पछि पार्दै कांग्रेसका समिर राई अध्यक्षमा विजयी भएका हुन् । समिरले २२४४ मत पाउँदा माइतीराजले १८०८ मत पाए ।

उपाध्यक्षमा जनता समाजवादीका उम्मेदवार गुरुराज राई विजयी भएका छन् । उनले १९८३ मत प्राप्त गरेका छन् । उपाध्यक्षका निकटतम प्रतिद्वन्द्वी एमालेकी मैया सुनुवारले १७६१ मत पाएका छन् । राईको गृहवडा बासपानीमा भने नेकपा (एस)का तुलाराम राई विजयी भएका छन् ।  एमाले नेतृ एवं प्रदेश १ का पूर्वसामाजिक विकास मन्त्री उषाकला राईको वडामा एमाले पराजित भएकाे छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-४ खाल्लेमा एमालेका डिल्लीकुमार राईलाई माओवादी केन्द्रका खगेन्द्र राईले हराएका छन् । डिल्लीकुमार निवर्तनमा वडाध्यक्ष हुन् ।  कांग्रेस जिल्ला सभापति विष्णुकुमार राईको वडा दिप्रुङ चुईचुम्मा गाउँपालिका-३ छोरम्बुमा एमालेका भुपेन्द्र बस्नेत विजयी भएका छन् । बस्नेतले ३९५ मत पाउँदा कांग्रेसका महेन्द्र राईले २५५ र माओवादी केन्द्रका उम्मेदवार अजम्बर राईले २७८ मत पाएका छन् । 

प्रकाशित मिति: मंगलबार, जेठ ३, २०७९  १२:५८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार