'समाजको सामूहिक विकास र समृद्धिमा अघि बढ्न प्रेरणा मिलोस्'

प्रचण्डद्वारा २५६६ औँ बुद्ध जयन्तीको शुभकामना
सोमबार, जेठ २, २०७९

काठमाडौँ, २ जेठ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २५६६औँ बुद्ध जयन्तीका अवसरमा सामाजिक ऐक्यबद्धता, पारस्परिक सम्मान एवं सद्भावले नै समाजको सामूहिक विकास र समृद्धिमा अघि बढ्न प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।
अध्यक्ष प्रचण्डले आज जारी गरेको शुभकामना सन्देशमा गौतमबुद्धको २५६६औँ जन्मजयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण बौद्ध धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्दै उक्त कामना गरेका हुन् ।
“नेपाली समाज विविधताले भरिपूर्ण एकताबद्ध र सहिष्णु समाज हो, समाजको विकास पनि एकापसका सामुदायिक भावनाहरूको सम्मानले नै हुने गर्छ,” सन्देशमा भनिएको छ, “सामाजिक ऐक्यबद्धता, पारस्परिक सम्मान एवं सद्भावले नै समाजको सामूहिक विकास र समृद्धिमा अघि बढ्न प्रेरणा मिल्दछ ।”
नेपालको भूमिमा जन्मेर शान्तिका दूत गौतमबुद्धले प्राप्त गर्नुभएका ज्ञान आजसम्म सान्दर्भिक र जीवनोपयोगी भएको र बुद्धका विचारले विश्व शान्ति र मानव कल्याणका लागि आज पनि उत्तिकै महत्व रहको उल्लेख छ ।
“सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सफल कार्यान्वयनका क्रममा अहिले हामी स्थानीय तह सदस्य निर्वाचनको मतगणनाको चरणमा छौँ,” सन्देशमा भनिएको छ, “छिट्पुटका घटनाबाहेक निर्वाचनमा देशभरबाट भएको जनताको उत्साहप्रद सहभागिताले लोकतन्त्रको सबलीकरणमा मद्दत मिलेको छ ।”
अध्यक्ष प्रचण्डले प्रतिगामी प्रतिक्रियावादी शक्तिलाई परास्त गरी जनताको बलमा गठन भएको वर्तमान पाँच दलीय गठबन्धन सरकारले एकै चरणमा स्थानीय तहको निर्वाचन सम्पन्न गरी लोकतन्त्र र संविधानका विरुद्ध हुन खोज्ने प्रतिगमनकारी षडयन्त्रलाई निस्तेज पार्न सफल भएको बताएका छन् ।  
त्यसैगरी, अध्यक्ष प्रचण्डले आजकै दिन परेको किरात समुदायको प्रमुख चाड उभौली पर्व तथा चण्डी पूर्णिमाका अवसरमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेका छन् ।

 

प्रकाशित मिति: सोमबार, जेठ २, २०७९  ०६:१८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार