भारतमा तीन करोड बालबालिकाले पाए कोरोनाको खोप

बुधबार, वैशाख २८, २०७९

नयाँदिल्ली, २८ वैशाख । भारतमा तीन करोडभन्दा बढी बालबालिकाले कोरोना भाइरस विरुद्धको कम्तीमा एउटा खोप लगाएका छन् ।
खोप लगाएका बालबालिका भने १२ देखि १४ वर्षसम्मको उमेरको रहेको सङ्घीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
भारतमा १२ देखि १४ वर्षसम्मका बालबालिकालाई कोरोना भाइरस विरुद्धको खोप लगाउन गत मार्च १६ देखि सुरु गरिएको हो ।
कोरोना भाइरस विरुद्धको खोप लगाउनु उपयुक्त हुने विज्ञ तथा सरोकारवालाको सुझाव र निष्कर्षका आधारमा भारतमा सरकारले बालबालिकालाई पनि खोप लगाइदिने निर्णय गरेको थियो ।
खोप लगाएका बालबालिकालाई खोप लगाएर सुरक्षित भएको भन्दै सङ्घीय स्वास्थ्य मन्त्री मनसुख मन्डावियाले बधाइ दिएका छन् ।  
खोप लगाएका बालबालिका मध्ये एक करोड दुई लाख २७२ ले दोस्रो खोप पनि लगाएको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।
त्यसैगरी १५ देखि १८ वर्षसम्मका भने पाँच करोड ८७ लाख ७० हजार ४२८ ले कम्तीमा एउटा खोप लगाएका छन् । तीमध्ये चार करोड ३३ लाख आठ हजार ६५१ ले दोस्रो खोप लगाएका छन् ।
भारतमा अघिल्लो वर्षको जनवरी १६ देखि देशव्यापीरुपमा कोरोना भाइरस विरुद्धको खोप लगाउने अभियान सुरु गरिएको थियो । रासस/एएनआई

 

प्रकाशित मिति: बुधबार, वैशाख २८, २०७९  ०५:४९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार