स्याउका बिरुवा बिक्री नहुँदा जलाएर नष्ट

बुधबार, वैशाख २१, २०७९

खलङ्गा, २१ वैशाख । जुम्लामा स्याउका बिरुवा बिक्री नहुँदा किसानले जलाएर नष्ट गरेका छन् । पातारासी गाउँपालिका–६ का खड्कबहादुर बुढा  २०५७ सालदेखि स्याउको बेर्ना उत्पादन गर्दै आएका छन् । बिरुवा बेचेरै वर्षमा रु २४ लाखसम्म आम्दानी गरेको उनको अनुभव छ । यस वर्ष बिरुवा बिक्री नभएपछि झण्डै ६ हजार बिरुवा उखेलेर जलाएको बुढाले बताए । 
बुढालाई जस्तै तातोपानी गाउँपालिकाका जीवलाल न्यौपानेलाई पनि स्याउको बिरुवा बिक्री नहुँदा समस्या भएको छ । “नौ हजार बिरुवा उत्पादन गरे, हालसम्म एउटा पनि बिक्री भएन”, उनले भने । कृषि विकास कार्यालयका निमित्त प्रमुख गणेश अधिकारीका अनुसार जिल्लाभरि ११० स्याउका नर्सरी दर्ता छन्  । केही किसानले दर्ता नगरेरै पनि नर्सरीमा स्याउका बिरुवा उत्पादन गरिरहेका छन्  । अधिकांश किसानले उत्पादन गरेको बिरुवा बिक्री हुन नसकेको उनले बताए ।  यसअघि जिल्लामा उत्पादित स्याउका बिरुवा मुगु, बझाङ, बाजुरा, डोल्पा, अछाम, हुम्लालगायत जिल्लामा बिक्री गर्ने गरिएको थियो । जुम्लामा तीन हजार ४५० हेक्टरमा स्याउ खेती भइरहेको छ ।–रासस 
 
 

प्रकाशित मिति: बुधबार, वैशाख २१, २०७९  १९:३३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार