योग प्रशिक्षक वृक्षासनमा विश्व कीर्तिमान कायम

बिहीबार, वैशाख ८, २०७९

काठमाडौँ, ८ वैशाख : नेपाली योग प्रशिक्षक विक्रम खड्काले तीन घण्टा ५० मिनेटसम्म वृक्षासन (ट्रि पोज) मा बसेर विश्व कीर्तिमान बनाएका छन् । लायन्स क्लब अफ काठमाडौँ च्याम्पिएनले आज आयोजना गरेको कार्यक्रममा मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खीलराज रेग्मीले उनलाई विश्वरेकड प्रमाणपत्र हस्तान्तरण गरे । 
‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ले केही हप्ताअघि प्रमाणपत्र उपलब्ध गराएको थियो । उक्त प्रमाणपत्र आज खड्कालाई हस्तान्तरण गरिएको हो ।
मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीले वृक्षासनमा बसेर विश्व कीर्तिमान कायम गर्न सफल भएकामा खड्कालाई बधाई दिँदै विश्वमा नेपालको नाम राख्न सफल भएको बताए ।
योग प्रशिक्षक खड्काले वृक्षासनको पुरानो रेकर्ड आफूले तोड्न सफल भएकामा खुसी व्यक्त गरे । यसअघि, वृक्षासनको विश्व रेकर्ड भारतीय नागरिक सनत रथको नाममा थियो । सन् १८ जुन २०२० मा बैङ्गलोरका सनतले एक घण्टा ६ मिनेट ५५.३ सेकेन्डसम्म वृक्षासनमा बसेर गिनिज बुकमा नाम लेखाएका थिए । 
योग प्रशिक्षक खड्काले काठमाडौँको गोंगबुमा न्यू लाइफ क्लिनिक सञ्चालन गर्दै आएका छन् । 

प्रकाशित मिति: बिहीबार, वैशाख ८, २०७९  २२:४६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार