हस्तकला  प्रशिक्षण दिन महानगरको सहयोग

अक्षेश्वर महाविहारलाई अक्षयकोषका लागि २० लाख प्रदान 
बिहीबार, चैत १७, २०७८

ललितपुर, १७ चैत । ललितपुर महानगरले हस्तकला प्रशिक्षण प्रदान गर्नका लागि अक्षेश्वर महाविहार संरक्षण समितिलाई अक्षयकोष स्थापना गर्न २० लाख हस्तान्तरण गरेको छ । ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले र समितिका अध्यक्ष राजेश शाक्यलाई बिहीबार चेक हस्तान्तरण गरे । समझदारी पत्रमा हस्ताक्षर गर्दै ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले ललितपुर महानगरलाई ‘वल्र्ड क्राफ्ट काउन्सिल’ले तीन वर्ष अघि महानगरलाई हस्तकला नगरी घोषणा गरेको स्मरण गरे । उनले भने, ‘हस्तकलामा लागेकालाई प्रोत्साहित गर्न अक्षयकोषका लागि रकम हस्तान्तरण गरेका हौं ।’ हस्तकला आर्थिक उपार्जनको महत्वपूर्ण स्रोत भएको बताए । प्रमुख महर्जनले हस्तकलाको तालिम लिएकालाई व्यवसायी बन्न महानगरले सहयोग गर्ने योजना बनाएको जानकारी दिए । 
उनले भने, ‘समितिसँगको यो सहकार्य प्रस्थान विन्दु हो, यसलाई हामी निरन्तरता दिन्छौं ।’ कोरोनाका कारण संकटमा परेको हस्तकला क्षेत्रलाई बिउँत्याउन अक्षयकोषले सहयोग गर्ने बताए । 
कोरोना भाइरसका कारण भएको बन्दाबन्दीका कारण हस्तकलालाई व्यवसाय बनाइरहेका धेरै हस्तकलाकर्मीहरु पलायन भएका छन् । 
समितिका अध्यक्ष राजेश शाक्यले हस्तकला प्रबद्र्धनका लागि महानगरले अक्षयकोष स्थापना गर्न सहयोग गरेकोमा धन्यवाद दिए । उनले हस्तकलाको सीपलाई अर्को पुस्तामा हस्तान्तरण आवश्यक भएको बताए । कोरोनाका कारण भएको बन्दाबन्दीपछि हस्तकलाको सीप जानेकाहरु यो क्षेत्रबाट पलायन भएको स्पष्ट पारे ।   
हस्तकला प्रबद्र्धन समितिका अध्यक्ष तथा वडा नं २६ का वडा अध्यक्ष सुरेश महर्जनले ललितपुर महानगरले हस्तकलामा लाग्न चाहनेलाई प्रोत्साहित गर्न अक्षयकोष रकम हस्तान्तरण गरेको बताए । 
अक्षेश्वर परम्परागत बौद्ध कला महाविद्यालय संचालन र निरन्तरताको लागि टेवा दिन महानगरको हस्तकला प्रबद्र्धन समितिको बैठकले अक्षयकोषका लागि रकम दिने निर्णय गरेको हो । 
उक्त महाविद्यालय बौद्ध विहार संघ ललितपुर, अक्षेश्वर महाविहार, नेपाल परम्परागत हस्तकला प्रशिक्षण केन्द्रको संयुक्त पहलमा स्थापना गरिएको थियो ।

प्रकाशित मिति: बिहीबार, चैत १७, २०७८  १४:२३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार