पेन्सन बुझ्न आफन्तकाे शबनै बोकेर कार्यालयमा...

मंगलबार, माघ ११, २०७८

डब्लिन, ११ माघ : पैसाका लागि मानिसले के के सम्म गर्दा रहेछन् भन्ने उदाहरण दक्षिणपूर्व आयरल्यान्डकाे एक कार्यालयकाे घटनाले उदाङ्गाे पारिदिएकाे छ । यहाँका एक मानिसले पेन्सनका लागि मृत मानिसलाई पनि जीवित रहेकाे भन्दै पेस गरेका छन् । याे घटनाको साक्षी दक्षिणपूर्व आयरल्यान्डको कार्लोका बासिन्दा बनेका छन् । मृत्यु भइसकेका व्यक्तिलाई ह्विल चेयरमा राखेर उनका आफन्तले पेन्सन दाबी गर्न कार्यालय पुगेका हुन् ।

यसै साता सार्वजनिक भएको सो घटनामा कार्लोस्थित हुलाक कार्यालयमा पुगेर ती व्यक्तिले आफन्तको पेन्सन माग्छन् । तर, कार्यालयका कर्मचारीले रकम लिन सम्बन्धित व्यक्ति आफैँ उपस्थित हुनुपर्ने जवाफ दिन्छन् ।

कर्मचारीको जवाफपछि उनी कार्यलयबाट करिब पाँच सय मिटरको दूरीमा पुग्छन् जहाँ ६६ वर्षका एक व्यक्तिलाई दुई जनाले ह्विलचेयरमा राखेका थिए । ती ह्विलचेयरमा राखिएका व्यक्ति सेवानिवृत्त पेन्टर पिडर डोयल हुन् । उनका खुट्टा भुईमा लत्रिएको र अनुहार ढाएिको थियो । 

ह्विल चेयरसम्म  पुगेर ती व्यक्ति फेरि हुलाक कार्यालय पुगेर वृद्ध आउन नसक्ने भन्दै पेन्सन माग्छन् । आईरिस टाइम्सका अनुसार फेरि रकम माग्न आएपछि कर्मचारीले पनि ह्विलचेयरमा बसेका मानिसको स्वास्थ्यबारेमा चासो देखाउँछन् । 

कर्मचारीले जाँच गर्ने क्रममा ती व्यक्ति मृत भेटिन्छन् । कर्मचारी आएपछि उनलाई बोकेका दुई व्यक्तिले ‘वृद्धलाई हृयघात भएको’ भन्दै शव त्यही छोडेर भाग्छन् । शब लिएर आएका युवा भागेपछि स्थानीयले तत्कालै एम्बुलेन्स बोलाएका थिए । एम्बुलेन्समा आएका स्वास्थ्यकर्मीले डोयल मरिसकेकाे बताएका थिए ।

६६ वर्षीय ती वृद्ध त्यहाँ ल्याउनु अघिल्लो दिनसम्म जीवितै थिए । तर, घरबाट कार्यालय ल्याउने बेलासम्म उनी जीवितै थिए वा मृत थिए भन्ने बारेमा प्रहरीले अनुसान्धान सुरु गरेको छ । उनलाई बोकेका व्यक्तिहरूले भने उनको कार्यालयमा आईसकेपछि मृत्यु भएको दाबी गरेका छन् । डोयललाई जीवितै देखाउन उनको अनुहार र शरीर ढाकिएको प्राप्त विवरणमा जनाइएको छ ।-  एजेन्सी

प्रकाशित मिति: मंगलबार, माघ ११, २०७८  १७:०३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार