दक्षिण अफ्रिकाबाट उडेको विमानको पाङ्ग्रामा लुकेका व्यक्ति एम्स्टर्ड्याममा जीवितै फेला

सोमबार, माघ १०, २०७८

एम्स्टर्ड्याम, १० माघ । दक्षिण अफ्रिकाबाट आएको एउटा मालवाहक विमानको पाङ्ग्रा भएको भागमा लुकेर बसेका एक व्यक्तिलाई डच प्रहरीले एम्स्टर्ड्यामस्थित स्किपोल विमानस्थलमा जीवितै फेला पारेको छ । सामान्यतया जोह्यानिस्बर्गबाट एम्स्टर्ड्यामको उडानका लागि ११ घण्टा लाग्छ । दक्षिण अफ्रिकाको उक्त सहरबाट उडेको कार्गो विमान केन्याको राजधानी नाइरोबीमा एक पटक रोकिएको ठानिएको छ ।
लामो दूरीको उडानमा विमानको बाहिरी भागमा लुकेर त्यसरी चढ्ने मानिस जीवित फेला पर्नु असामान्य मानिन्छ । आकाशमा निकै माथि पुगेपछि अक्सिजनको मात्रा तथा तापक्रम घट्ने हुँदा सास फेर्न नसकेर र कठ्याङ्ग्रिएर मानिसको मृत्यु हुन्छ । प्रहरीले ती व्यक्तिको उमेर र उनी कुन देशका नागरिक हुन् भन्ने पत्ता लागिनसकेको बताएको छ ।
“ती व्यक्ति उक्त विमानको नोज ह्वील भएको भागमा जीवित फेला परे र उनलाई स्थिर अवस्थामै अस्पताल लगियो,” प्रहरी प्रवक्ता योआना हेल्मन्ड्सले समाचारसंस्था एएफपीलाई बताइन् । ‘ती व्यक्ति अझै जीवित हुनु अद्भुत कुरा हो’, उनले भनिन् । विमानको अग्रभागमुनि रहेको र विमान अवतरण गर्दा प्रयोग हुने पाङ्ग्रालाई नोज ह्वील भनिन्छ।
डच प्रसारक एनओसका अनुसार विमानस्थलमा फेला परेपछि ती व्यक्तिको शरीरको तापक्रम बढाइएको थियो। एम्बुलेन्स आउँदासम्म सोधिएका प्रश्नको उनले उत्तर दिएका थिए । कार्गो विमान कम्पनी कार्गोलक्सकी एक प्रवक्ताले समाचारसंस्था रोएटर्सलाई इमेलमार्फत् कार्गोलक्स इटालियाले सञ्चालन गरेको विमानमा ती व्यक्ति लुकेर आएको पुष्टि गरेकी छन् ।
आइतवार जोह्यानिस्बर्गबाट स्किपोल उडेको कार्गोलक्सको मालवाहक विमान नाइरोबीमा एकचोटि ओर्लिएको उडानसम्बन्धी डेटामा देखिन्छ । तर ती व्यक्ति दक्षिण अफ्रिकाबाटै कि केन्याबाट उक्त विमानमा त्यसरी लुकेका हुन् भन्ने थाहा हुन सकेको छैन ।–बीबीसी 

प्रकाशित मिति: सोमबार, माघ १०, २०७८  १४:०२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार