१० करोड मानिसमा कोभिडको दीर्धकालिन लक्षणः अध्ययन

मंगलबार, माघ ४, २०७८

लन्डन, ४ माघ । कोभिड १९ बाट पार पाउन विश्वले संघर्ष गरिरहेका बेला कोभिडको दीर्धकालीन असरबाट विश्वको ठूलो जनसंख्या प्रभावित भएको छ । मिसिगन युनिभर्सिटीका अनुसन्धानकर्ताहरुले गरेको एउटा नयाँ अध्ययन अनुसार कोभिडबाट संक्रमितमध्ये ४० प्रतिशत मानिसहरु कोभिडको दीर्धकालीन असरबाट प्रभावित भएका छन् । अर्थात विश्वको १० करोड जनसंख्या कोभिडपछिको समस्याबाट प्रभावित छ । अनुसन्धानकर्ताहरुले १७ देशका विभिन्न ४० अध्ययनहरुलाई विश्लेषण गरेका थिए । कोभिड भएर अस्पताल भर्ना भएका व्यक्तिमा दीर्धकालीन कोभिडको सम्भावना ५७ प्रतिशत देखिएको थियो । ‘कोभिडबाट संकमित विश्वका  कूल २३ करोड ३७ लाखमध्ये १० करोड जना कोभिडपछिको दीर्धकालिन समस्याबाट पीडित छन्,’ अनुसन्धानकर्ताहरुले भनेका छन् । कोभिडपछिको दीर्धकालीन समस्याले विभिन्न देशको स्वास्थ्य प्रणालीमा दबाब दिनसक्ने उनीहरुले सजग गराएका छन् ।   कोभिड संक्रमितमध्ये ४९ प्रतिशत महिला र ३७ प्रतिशत पुरुषमा यस्तो समस्या देखिएको छ । अध्ययनअनुसार एशियामा ४९ प्रतिशत, युरोपमा ४४ प्रतिशत र उत्तर अमेरिकामा ३९ प्रतिशतमा कोभिडपछि दीर्धकालिन समस्या देखिएको छ । कोभिड भएको दुई सातापछि पनि एक महिना वा सो भन्दा लामो समयसम्म कोभिडजस्तै लक्षण देखिनुलाई दीर्धकालीन कोभिड मानिन्छ । कम्जोरी, सास फेर्न कठिनाई हुनु, पीडा, चिन्ता तथा डिप्रेसन दीर्धकालीन कोभिडका लक्षण हुन् । अनुसन्धानकर्ताहरुले गरेको अध्ययन पीएलओएस मेडिसिन जर्नलमा प्रकाशित छ । यसैबीच, सेप्टेम्बरमा गरिएको एउटा अध्ययनमा तीन कोभिड बिरामीमध्ये एक जनामा तीनदेखि ६ महिनासम्म कोभिडको लक्षण देखिएको पाइएको थियो ।

प्रकाशित मिति: मंगलबार, माघ ४, २०७८  १४:३६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार