रासायनिक उत्पादनसँग अर्गानिक उत्पादनलाई प्रतिस्पर्धा गर्नै मुस्किल

सोमबार, माघ ३, २०७८

झापा, ३ माघ । कमल-२ का कृषक नवराज पौडेलले अर्गानिक तरकारी उत्पादन सुरु गरेको तीन वर्ष भयो । गाउँपालिकाले दिएको परामर्शबाट अर्गानिक उत्पादनको महत्त्व थाहा पाएपछि उनी अर्गानिक उत्पादनमा लागेका हुन् । १३ कठ्ठा जमिनमा तरकारी खेती गर्छन्, उनी । काँक्रा, काउली, बन्दा, टमाटर, सागलगायतका तरकारी बाली लगाउँदै आएका छन् । ‘मैले लगाउने सबै तरकारी बाली अर्गानिक नै हुन्छ,’ उनी भन्छन्, ‘बरू नफलोस् तर, अर्गानिक खेती नै गर्छु । अर्गानिक खेती गर्न थालेपछि सन्तुष्ट छु ।’ पहिला रासायनिक मल लगाउँदाको भन्दा उत्पादन केही खस्किएको छ । तर, स्वाद भने आकाश जमिनको फकर छ । अर्गानिक खेती गर्दै आएका नवराजलाई रसायनिक तरकारीसँग बजारमा प्रतिस्पर्धा गर्न निकै कठिन छ । आफूले उत्पादन गरेको अर्गानिक तरकारी केर्खा बजारमा लगेर आफैँ बेच्ने भएका कारण पनि रासायनिक तरकारीसँग प्रतिस्पर्धाको अनुभव उनीसँग राम्रै छ । ‘रसायनिक विषादीको मूल्य पनि कम छ । हेर्दा हलक्कै पनि देखिन्छ । एउटै प्रकृतिको विषादी पनि अर्गानिकका लागि दुई हजार पर्छ भने त्यही प्रकृतिको रसायनिक विषादी दुई सयमै आउँछ,’ उनी भन्छन्, ‘अर्गानिक मल बनाउन पनि झन्झटिलो छ । रसायनिक मल लगाउँदा हलक्कै बढ्छ । हेर्दा राम्रो पनि देखिन्छ ।’ बजारमा अर्गानिक उत्पादनको मूल्य केही महँगो छ । तर, उपभोक्ताले भने रासायनिक तरकारी देखाएर अर्गानिक पनि किन त्यतिमा नआएको भन्दै प्रश्न गर्ने गरेको उनी बताउँछन् । जसका कारण रासायनिक तरकारीसँग प्रतिस्पर्धा गर्न निकै मुस्किल भएको उनी बताउँछन् । उपभोक्तामा अर्गानिक प्रतिको चेतना खासै विकास नहुँदा बजारमा प्रतिस्पर्धा गर्न नै मुस्किल भएको पौडेल बताउँछन् । ‘अर्गानिक तरकारी अलिक शिक्षितले मात्र किन्छन् । उनीहरुले यसको महत्त्व बुझ्छन् । तर, अरू सबैमा अर्गानिक प्रतिको शिक्षा पुगेको छैन,’ उनी भन्छन्,‘धेरैले धेर्दा त रासायनिक राम्रो छ । यसको किन धेरै मूल्य भयो भनेर बार्गेनिङ गर्छन् । जसका कारण हामीलाई बजारमा प्रतिस्पर्धा गर्न निकै मुस्किल छ । अर्गानिकको महत्त्व मात्र बुझ्ने हो भने हामीलाई धेरै सहज हुने थियो । अर्गानिक उत्पादनको महत्त्व बझुाउन राज्यले नै विशेष शिक्षा दिनुपर्ने आवश्यकता छ ।’ सरकारले अर्गानिक उत्पानदनका लागि छुट्टै बजारको व्यवस्था गरिदिए अर्गानिक उत्पादक कृषकलाई केही सहज हुने उनी बताउँछन् । झापामा अर्गानिक उत्पादनमा फड्को मारेको संस्था हो, दमक-३ को मानसरोवर कृषि सहकारी संस्था । यो संस्थाले अर्गानिक उत्पादनमा आफ्नो छुट्टै पहिचान बनाएको छ । पछिल्लो समय उपभोक्तामा अर्गानिक उत्पादनप्रति केही आकर्षण बढेको बताउँछन् संस्थाका अध्यक्ष, विश्वनाथ बराल । तर, रसायनिक उत्पादनसँग प्रतिस्पर्धा गर्न अझै केही मुस्किल रहेको उनको बुझाइ छ । ‘अहिले अर्गानिक उत्पादन नै प्रयोग गर्नुपर्छ भन्ने त भएको छ । तर, रासायनिक उत्पादनसँग प्रतिस्पर्धा गर्न सबै हिसाबले गाह्रो छ । अर्गानिक मल उत्पादनमा उतिकै खर्च हुन्छ । जुन सरसायनिकमा हुँदैन,’ उनी भन्छन्, ‘त्यही कारण अर्गानिक उत्पादन केही महँगो पर्न पनि जान्छ ।’ अर्गानिक उत्पादन सुरु गर्ने बितिकै उत्पादनमा पनि केही ह्रास आउने बराल बताउँछन् । विगत लामो समययता प्रयोग हुँदै आएको रसायनिक मलले विरुवाका लागि चाहिने प्रांगारिक तत्व नै मरिसकेको उनले बताए । ‘विरुवालाई चाहिने १६ वटा खाद्य पदार्थ वर्षौँदेखि विषको प्रयोगले नस्ट भएको छ । विरुवालाई चाहिने जिवाणु विकास गर्न लामो समय लाग्छ । माटोमा खाद्य तत्व छैन । माटो सुधार्न तीन/ चार वर्ष लाग्छ,’ उनले भने, ‘माटो सुधारिएपछि ठूलो उत्पादन हुन्छ । विरुवा र फल राम्रो हुन्छ । अहिले तत्काल खोज्नेका लागि त गाह्रो छ । अहिले त माटो सुधार गर्दा उत्पादन पनि केही कम छ ।’ ठूलो परिणाममा अर्गानिक उत्पादन गर्दा बजारमा प्रतिस्पर्धा गर्न निकै मुस्किल पर्ने उनी बताउँछन् । मल उत्पादन महँगो हुने भएकाले अर्गानिक उत्पादनको मूल्य पनि महँगो हुने उनले बताए ।

प्रकाशित मिति: सोमबार, माघ ३, २०७८  १६:२६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार