शुक्लागण्डकीमा माओवादी केन्द्रलाई पदाधिकारी छान्न सकस

सोमबार, माघ ३, २०७८

तनहुँ, ३ माघ . माओवादी केन्द्रले देशभर एक साथ ११ मंसिरमा प्रथम गाउँ तथा नगर अधिवेशनको मिति तोक्यो । तोकिएको मितीमा तनहुँका आठ स्थानीय तहमा अधिवेशन सुरु भयो । १० मध्ये नौ स्थानीय तहमा केही दिन ढिला भएर पनि सर्वसम्मत नयाँ नेतृत्व चयन गरियो । शुक्लागण्डकी नगरपालिकामा भने अधिवेशन सुरु भएको झन्डै दुई महिना पुग्न लाग्दासमेत नेतृत्वको टुंगो लागेको छैन ।

११ मंसिरमा अधिवेशन सुरु भएको दिन शुक्लागण्डकीमा ६५ सदस्यीय नगर कमिटी घोषणा भएको थियो । पदाधिकारीमा उम्मेद्वारको संख्या अधिक भएपछि सहमतिका लागि भन्दै १८ मंसिरसम्म नगर अधिवेशन सरेको थियो । सरेको मितिसम्म पदाधिकारीमा सहमति नभए निर्वाचनमार्फत टुंगो लगाउने उल्लेख गरे पनि अझैसम्म माओवादीको शुक्लागण्डकी नगर कमिटी पदाधिकारीविहीन बनेको छ ।

पदाधिकारीको टुंगो लगाउन माथिल्लो कमिटीका नेताहरू असफल देखिन्छन् । पदाधिकारीको छिनोफानो लगाउन कसरतमा जुट्नुपर्ने नेताहरू नै आ-आफ्ना निकटलाई पदाधिकारी बनाउने दौडमा छन् । 

नगर कमिटीलाई पदाधिकारीमा सातजना आवश्यक रहेकोमा १६ जनाको उम्मेद्वारी परेको छ । अध्यक्षमा तीनजनाले उम्मेद्वारी दिएका छन् । नगर कमिटीको अध्यक्षका उम्मेद्वार मनराज गुरुङ, शरण सापकोटा र भद्रबहादुर खत्री (विष्णु) हुन् । गुरुङ हाल नगर कमिटीका सचिव हुन् । सापकोटा वाइसीएलको तनहुँ इञ्चार्ज र खत्री माओवादी केन्द्रको जिल्ला समन्वय समितिको सचिवालय सदस्य हुन् । 

खत्रीले सहमति भएमा आफ्नो उम्मेद्वारी फिर्ता लिने बताउँदै आइरहेका छन् । अध्यक्षमा मुख्य लडाइँ गुरुङ र सापकोटाबीच देखिन्छ । गुरुङलाई मुक्ति सिग्देल समूहको साथ छ । सापकोटालाई केन्द्रीय सदस्य आशा कोइराला नगर कमिटी अध्यक्ष बनाउन लागिपरेको चर्चा छ । कोइरालाले सर्वसम्मत भएमा आफ्ना श्रीमान् दिनेश गौतम (विश्वजित)लाई नगर कमिटी अध्यक्ष बनाउन चाहान्थिन् । तर, गौतम सर्वसम्मत हुने छाँट नदेखिएपछि उम्मेद्वारी दर्ता नै भएन । र, केन्द्रीय सदस्य कोईरालाको जोडबल सापकोटालाई नगर कमिटी अध्यक्ष बनाउनेमा छ । गुरुङ र सापकोटाले अध्यक्षमा आफ्नो दाबेदारी कुनै हालतमा नछाड्ने मनस्थितिमा छन् । 

नगर कमिटी उपाध्यक्षमा ६ जनाको उम्मेद्वारी परेको थियो । रामचन्द्र भण्डारी, चेतनारायण पौडेल, बुद्धिबहादुर खत्री, जौमाया बराल सुनार र राजु रानाले उम्मेद्वारी दिएका छन् । उपाध्यक्षमा एक महिलासहित तीनजना निर्वाचित हुने प्रावधान रहेको छ । जौमाया बराल सुनारले नगर कमिटीबाट राजिनामा दिएर प्रदेश कमिटी सदस्य भइसकेको अवस्था छ ।

सचिवमा जीवन पोखरेल र अनिल तिवारी, सहसचिवमा अनिष ढकाल, सुमन आले, विनोद पौडेल र मिलन महतको दाबी छ । कोषाध्यक्षमा पहलसिंह विक, झ्यामकुमारी थापाको उम्मेद्ववारी दर्ता भएको छ । 

नगर कमिटीको अध्यक्ष पदमा कुनै हालतमा सर्वसम्मत नहुने देखिन्छ । ‘सहमतिको सम्भावना अब देखिँदैन । अन्तिम विकल्प भनेको निर्वाचन नै हो’, अध्यक्षका एक उम्मेद्वारले भने । नेतृत्वको असक्षमताको कारण पदाधिकारी चयनमा ढिलाई भइरहेको उनले बताए । ‘पार्टीको नगर कमिटी लामो समयदेखि नेतृत्वविहीन हुँदा जनतामा गलत सन्देश प्रवाह हुन्छ । त्यतातिर नेताहरूको ध्यान पुग्न सकेको छैन्’, उनले भने ।

पार्टीको निर्देशनअनुसार सहमतिमै पदाधिकारी चयन गर्नलाई कोसिस भइरहेको पार्टीले बताउँदै आएको छ । ‘सहमतिमै नेतृत्व चयन गर्न पार्टीले भनेकाले हामीले सहमतीको प्रयास गर्‍यौँ । सहमति नभएको हुनाले निर्वाचन गराउन माथिल्लो कमिटीसँग अनुमति मागेका थियौँ । सहमति नै गर्नुस् भन्ने भो । त्यसपछि प्रदेश र केन्द्रको अधिवेशनमा लाग्नुपर्‍यो । अहिले फेरि कोरोनाले रोकेको छ’, केन्द्रीय सदस्य आशा कोइरालाले भनिन् ।

आगामी साता सबै पदाधिकारी चयन हुने उनको दाबी छ । ‘जुन पदमा सहमति हुँदैन ती पदमा निर्वाचन गराउँछौँ’, उनले भनिन् । माओवादीको गण्डकी प्रदेश कमिटीमा अध्यक्ष र प्रदेश कमिटी सदस्य मात्रै चयन गरिएको छ । केन्द्रीय कमिटीमा पनि अध्यक्ष र केन्द्रीय सदस्य चयन हुँदा अन्य पदाधिकारीको टुंगो लागेको छैन ।

प्रकाशित मिति: सोमबार, माघ ३, २०७८  १६:०९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार