बज्रबाराही धार्मिक वन अतिक्रमण रोक्न संर्घष समिति गठन

बुधबार, मंसिर २२, २०७८

काठमाडौं, २२ मंसिर । लतिपुरको बज्रबाराही धार्मिक वन अतिक्रमण गरेर सडक विस्तार गरेपछि चापागाँउका स्थानीयवासीले संर्घष समिति बनाएर आन्दोलन सुरू गर्ने भएका छन् । बुधबार चापागाँउका स्थानीयवासीले वन संरक्षणका अभियन्ता राजेन्द्र देशारको संयोजकत्वमा श्रीमाई बज्रबाराही धार्मिक वन संरक्षण संर्घष समिति गठन गरेका हुन् । बैठकले २५ जनालाई सदस्य रहने गरी समिति बनाएको हो । समिति संयोजक देशारले कानुनविपरीत बज्रबाराही वनमा डोजर प्रयोग गरेर सडक विस्तार गरेपछि आफूहरूको विरोधलाई विकाश विरोधीको आरोप लगाएर आन्दोलन दबाउन खोजेको बताए । ‘हामीले १००भन्दा धेरै स्थानीयवासीको विरोधको हस्ताक्षर गोदावरी नगरपालिकामा बुझायौं, तर दर्ता नै भएन,’ उनले भने । गोदावरी नगरपालिकाको नवनिर्मित भवन अगाडि करिब आठ फिट चौडाइको सडक वन क्षेत्र अतिक्रमण गरेर विस्तार गरेपछि स्थानीयवासी विरोधमा उत्रेका हुन् । ५०० मिटर दूरीको सडक विस्तारका लागि नगरपालिकाले करिव ८५ लाख रुपैयाँ लगानीमा उपभोक्ता समितिमार्फत काम गरिरहेको छ । धर्मिक वनमा अनाधिकृत रुपमा संरचना निर्माण गर्न नपाइने कानुनी व्यवस्था भए पनि नगरपालिकाले जिल्ला वन कार्यालयको मौखिम सहमतिमा सडक विस्तार गरेको बताउँदै आएको छ । स्थानीय किशोर देशारले बज्रबाराही वनमा सडक विस्तार मात्र नभई पुरातात्विकविपरीत धेरै संरचना निर्माण गरिएको बताए । उनले भने, ‘बज्रबाराही वनको संरक्षणको जिम्मा लिएको ज्योतिदय संघले निर्माण गरेको संरचनाहू नै पुरातत्विक दृष्टिकोणविपरीत छ ।’ बज्रबाराही वन सव डिभिजन कार्यालयकी सहायक वन अधिकृत प्रेमा थापाले आफूले पत्र लेखेर सडक विस्तारको काम रोक्न लगाए पनि पर्खाल लगाउन भने नरोकिएको बताइन् । ‘सडक मापदण्डभित्रको वनमा सडक बनाउन डकुमेन्ट त चाहिने हो, ‘मौखिक कुराकानीका आधारमा काम गरेको रहेछ,’ उनले भनिन् । धार्मिक वनमा नयाँ संरचना बनाउन नहुने भन्दै नगरपालिकाले लाखौं लगानीमा एक व्यवसायीले जिपलाइन निर्माण गरेर सुरु गरेपछि हटाएको थियो । तर, पछिल्लो समय नगरपालिकाकै लगानीमा स्थानीयले यही धार्मिक वनमा व्यायामशाला निर्माण गरेर सञ्चालन गरिरहेका छन् । 

प्रकाशित मिति: बुधबार, मंसिर २२, २०७८  १३:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार