शशांकले सभापतिको दाबी छाडे, रामचन्द्र, शेखर र प्रकाशमान मध्ये एकजनाको खोजी

सहमति नजिक छौं, भोलिसम्ममा साझा उम्मेदवार : रामचन्द्र पौडेल
मंगलबार, मंसिर २१, २०७८

काठमाडौं, २१ मंसिर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भोलि सम्ममा साझा उम्मेदवार छान्ने दाबी गरेका छन् । पार्टीको १४ औं महाधिवेशनमा संस्थापनइतर पक्षबाट साझा उम्मेदवार तय गर्न भन्दै मंगलबार चाक्सीबारीस्थित नेता प्रकाशमान सिंहको निवासमा बसेको बैठकपछि नेता पौडेलले सहमतिमै साझा उम्मेदवार तय हुने बताएका हुन् ।
नेता पौडेलले आफूहरु सहमतिको नजिक पुगेको दाबी गरे ।  'हामी सहमतिको निकै नजिक पुगेका छौं', बैठकपछि पौडेलले भने, 'भोलिसम्म हाम्रो निर्णय बाहिर आउँछ ।' साझा उम्मेदवार तय गर्न केही प्रकृया पूरा गर्न बाँकी रहेको उनको भनाइ थियो ।
बैठकपछि महामन्त्री डा.शशांक कोइरालाले आफूले सभापतिमा दाबी छाडेको बताएका थिए । संस्थापन इतरबाट अब रामचन्द्रका साथै शेखर, प्रकाशमान सभापतिको आकांक्षी छन् ।
प्रकाशमान सिंहको चाक्सिबारीस्थित निवासमा बसेको बैठकले एकल उम्मेदवार छनोट गर्न नसकेपछि बुधबार बिहान ९ बजे  पुनः बैठक बस्ने गरी छुट्टिएका छन् । बुधबारसम्म एकमात्र उम्मेदवार तय गर्ने सहमति भएको बैठकमा सहभागी केन्द्रीय सदस्य रामकृष्ण यादवले जानकारी दिए । 
बैठकमा सभापतिका उम्मेदवार वरिष्ठ नेता पौडेल, महामन्त्री डा. शशाङ्क कोइराला, पूर्वमहामन्त्री सिंह र केन्द्रीय सदस्य डा. शेखर कोइरालाले आफ्नो दाबी प्रस्तुत गरेका थिए । नेताहरुले बुधबार बिहान आफ्नो समूहका केन्द्रीय सदस्य, जिल्ला सभापति र पूर्वजिल्ला सभापतिसँग रायपरामर्श गरी साँझसम्म एकमात्र उम्मेदवार घोषणा गर्ने तयारी गरेको यादवले जानकारी दिए । 
दिउँसो १ देखि साँझ ७ बजेसम्म बसेको बैठकमा सभापतिका चारै जना उम्मेदवार, कोषाध्यक्ष सीतादेवी यादव, नेता डा.रामशरण महत, बलबहादुर केसी, डा.मीनेन्द्र रिजाल, दिलबहादुर घर्ती, डा चन्द्र भण्डारी, बद्री पाण्डे, धनराज गुरुङ जीवन परियारलगायत सहभागी थिए । 
 

प्रकाशित मिति: मंगलबार, मंसिर २१, २०७८  २१:२३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार