मुलुकमा मौलाएको बेथिति र भ्रष्टाचार नियन्त्रणका लागि मेरो उम्मेदवारी : मदन बहादुर अमात्य 

मंगलबार, मंसिर २१, २०७८

ललितपुर ।  नेपाली कांग्रेसका नेता मदनबहादुर अमात्यले लोकतन्त्रलाई बलियो बनाउँदै मुलुकको आर्थिक समुन्नतिका लागि योजनाबद्ध तरिकाले काम गर्ने बताएका छन् ।  नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य (खुल्ला) पदमा उम्मेदवारी दिएका अमात्यले मुलुकमा मौलाएको बेथितिलाई अन्त्य गर्न र भ्रष्टाचार नियन्त्रणका लागि आफूले पार्टीको केन्द्रीय समितिमा रहेर काम गर्न चाहेको बताए ।  नेपाली कांग्रेस ललितपुरका निवर्तमान सभापति अमात्यले पत्रकारहरुसँग कुरा गर्दै नेपाली कांग्रेसलाई समृद्ध पार्टी बनाउन आफूले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएको स्पष्ट पारे ।  
अमात्य ललितपुर पार्टी सभापति हुँदा स्थानीय तहमा कांग्रेसले महानगर, नगर तथा गाउँपालिका प्रमुख उपप्रमुख विजयी भएका थिए । उनले केन्द्रीय समितिमा रहेर देशलाई कांग्रेसमय बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । 
आफ्नो सम्पूर्ण शक्ति र समय पार्टी संगठनलाई अझै चुस्त बनाउन अपर्ण गर्ने प्रतिवद्धता जाहेर गरेका  अमात्य सन्तनेता कृष्णप्रसाद भट्टराई (किसुनजी) का चेलाका रुपमा चिनिन्छन् । २० वर्षको उमेरमा राजनीतिमा लागेका अमात्य ललितपुरको गाबहालमा जन्मिएका हुन् । बाबु र बाजे हेटौंडाको भिमफेदीमा भएकाले उनको बाल्यकालका केही वर्ष भिमफेदीमा पनि बित्यो । 
संविधानसभा सदस्य समेत रहेका उनले लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसलाई विवेकशील संगठन बनाउनु आवश्यक भएको बताए । युवा देशको मेरुदण्ड भएको बताउँदै उनीहरुको सोच, योजनालाई देश विकासमा लगाउनुपर्ने धारणा उनको छ । अपागंता भएका, महिला, दलित, जनजाति र पछि पारिएका वर्गको हकअधिकार स्थापित गर्न अनवरत रुपमा लाग्ने उनले बताएका छन्। 
निष्ठावान र स्वाभिमानी नेताको परिचय बनाएका कांग्रेस नेता अमात्यले पार्टी अहिले संकटपूर्ण अवस्थामा रहेकाले त्यसलाई हल गर्नका लागि पार्टीलाई बलियो बनाउनुपर्नेमा जोड दिएका छन् । 

प्रकाशित मिति: मंगलबार, मंसिर २१, २०७८  २१:०४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार