रोजगारी गुमाएका लाखौंलाई सरकारले सहयोग गर्नुपर्ने

कोरोना भाइरस महमारी 
शुक्रबार, कात्तिक २८, २०७७

काठमाडौं । दशैंको मुखमा अनि गन्तव्य देशमा महामारी व्यापक फैलिरहेकै बेला पनि केही महिनाअघि मात्र अत्यन्त कष्टका साथ घर फर्किएका हजारौं नेपालीहरू फेरि भारततिर लागेका तस्बिरले देशभित्र बेरोजगारीको अवस्था कति भयावह बनिरहेको छ भन्ने देखाएको अर्थविद्हरू बताउँछन् । कोरोनाभाइरस महामारी र त्यसको सङ्क्रमण विस्तार गर्न लगाइएका लकडाउनको सबभन्दा धेरै घातक असर मानिसहरूको जीविका परेको छ । नेपालमा यही कारण १५ लाखभन्दा धेरै मानिसले रोजगारी गुमाएको हुनसक्ने विवरणहरू सार्वजनिक भएका छन् ।
करिब ८० लाख मानिस कुनै न कुनै काममा अल्झिएको अनि थप मानिसहरू अनौपचारिक क्षेत्र भनिने अभिलेखमा नदेखिने रोजगारीमा सामेल भएको मानिन्छ । ‘यो पृष्ठभूमिमा यति संख्यामा रोजगारी गुम्नु भनेको निकै धेरै हो । हाम्रो ठूलो जनशक्ति श्रममा आधारित नै रहेको हुनाले हामीलाई धेरै क्षति भएको छ’, भूतपूर्व अर्थसचिव रामेश्वर खनालले बताए । ‘यो अत्यन्त खराब अवस्था हो । रोजगारी गुम्नुको अर्थ गरिबी बढ्नु पनि हो । कोभिडकै कारण नेपालमा थप १२ लाख मानिस गरिबीको रेखामुनि धकेलिएको विवरण आएका छन्’ अर्थविद् केशव आचार्यले बताए । यसरी रोजगारी गुमाउनेमा ठूलो संख्या महिलाहरूको पनि छ ।
‘हालसालै महिला मन्त्रालय अनि राष्ट्रसंघको महिला निकायले गरेको दु्रत अध्ययनका बेला सम्पर्क गरिएका महिलाहरूमध्ये ८३ प्रतिशतले काम गुमाएको पाइयो । त्यसमाथि पनि पहिलेदेखिनै जोखिममा परेका मधेशी वा मुस्लिम वा एकल महिला समूहहरूमा झन् धेरै अप्ठेरो परेको छ’, महिला रोजगारीका विषयकी जानकार शरु जोशी श्रेष्ठले बताइन् । प्रत्येक वर्ष सरदर पाँच लाख थप मानिसलाई रोजगारी दिलाउनुपर्ने लक्ष्य त पूरा हुन नसकिरहेको अवस्थामा एक्कासि गुमेको यति धेरै रोजगारी पुनस्र्थापना गर्न सकिएला त ? अर्थविद्हरू भन्छन्–सकिन्छ तर त्यसका लागि सरकारले दृढ अठोटका साथ केही काम तत्काल गर्नुपर्छ ।
सरकारका सामु के छ विकल्प ?
कोरोनाभाइरस महामारीको बेला रोजगारीमा पुगेको क्षति नेपालले मात्र बेहोरेको नौलो संकट होइन । विश्वभरि यस्तै प्रभाव परिरहेका छन् ।अनि विश्वभरि विभिन्न सरकारहरूले यसलाई पुनः जागृत गर्न कदम पनि चालिरहेका छन् । छिमेकी देशहरू बंगलादेशमा प्रत्यक्ष नगद सहयोगसहित अर्बाैं डलर बराबरको राहत प्याकेज ल्याइएको छ भने भारत र पाकिस्तानले पनि ठूलो धनराशिसहित आर्थिक पुनरुत्थानका विभिन्न प्याकेज घोषणा गरेका छन् ।
नेपालले केही अर्ब रुपैयाँ कोरोनाभाइरस व्यवस्थापनमा खर्च गरेको र केही राहत मौद्रिक नीतिमार्फत् अघि सारे पनि आर्थिक पुनरुत्थानका उल्लेखनीय प्याकेज ल्याएको छैन । संकटका बेला सरकारले सार्वजनिक पूर्वाधारमा व्यापक लगानी गरेर रोजगारी सृजना गर्न सुझाइएका छन् । अर्थविद्हरूले अब त्यस्तो गर्न ढिलो गर्न नहुने सरकारलाई सुझाव दिएका छन् । ‘अर्थतन्त्र त्यतिखेर मात्र चल्छ जतिखेर मानिसहरूसँग आयस्रोत हुन्छ । अझ त्योभन्दा पनि महत्वपूर्ण त बाँच्नकै निम्ति पनि मानिसहरूलाई आयस्रोत जरुरी हुन्छ । त्यो रोजगारीमार्फत् नै गरिनुपर्छ’, अर्थविद् पुष्प शर्माले बताए ।
तत्काल व्यापक रोजगारी सिर्जना गर्न अहिले सरकार नै अघि सर्नुपर्ने सुझाव पूर्वसचिव खनालले दिएका छन् । ‘यस्तो ठूलो खति भएको बेला अर्थशास्त्रको नियमले के भन्छ भने निजी क्षेत्रले मात्र यो सक्दै सक्दैन । सरकारले वित्तीय नीतिमार्फत् कदम चाल्नै पर्छ । यसको तात्पर्य के हो भने सरकार वा सरकारी संयन्त्रले खर्च वृद्धि गरेर श्रममूलक योजनामा लगानी गर्नुपर्छ । जस्तोसुकै निर्माण कार्य होस् (त्यो अहिलेको लागि वा भविष्यका लागि आवश्यक छ–छैन नहेरीकनै लगानी गर्नुपर्छ ताकि मानिसहरू काममा अल्झिन पाउन’ उनले भने ।
सरकारले केही खर्ब रुपैयाँ विकास निर्माण कार्यहरूमा तत्काल लगानी गरेर रोजगारीका व्यापक अवसर सिर्जना गर्नुपर्ने उनीहरूको सुझाव छ । अनि त्यसो गर्न नेपाल सरकारसँग स्रोतको अभाव नहुने उनीहरूको ठम्याइ छ ।–बीबीसी 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २८, २०७७  ०९:०७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार