बन्दीपुर केबुलकारको ‘राइट अफ वे’ मा २५७ रूख काटिने

शनिबार, कात्तिक ६, २०७८

दमौली । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माणाधीन अवस्थामा रहेको केबुलकारको ‘राइट अफ वे’मा दुई सय ५७ रूख काटिने भएको छ । केबुलकार निर्माणका लागि त्यसमार्गमा पर्ने रूख काट्न लागिएको हो ।  सबडिभिजन वन कार्यालय बन्दीपुरले शुक्रबारदेखि रूख कटानका लागि स्थलगत निरीक्षण सुरु गरेको छ । बन्दीपुर गाउँपालिका–४ स्थित कोच्चो सामुदायिक वनभित्रको दुई सय ५७ रूख काट्न लागिएको सबडिभिजन वन कार्यालय बन्दीपुरका प्रमुख सुरेश भुजेलले जानकारी दिए । रूख काट्नका लागि वन विभागबाट स्वीकृति प्राप्त भइसकेको छ । “दुई हप्ताभित्र रूख काटेर सकिन्छ, काटेको रूख सामुदायिक वनलाई बुझाउनुपर्छ,” उनले भने । 
आरकेडी रियल स्टेट एन्ड कन्स्ट्रक्सन प्रालि, पन्चासे केबुलकार एन्ड टुर्स प्रालि, टुरिजम इन्भेष्टमेन्ट फन्ड लिमिटेड, बन्दीपुर गाउँपालिका र स्थानीयवासीको लगानीमा केबुलकार परियोजना निर्माणको कामलाई अगाडि बढाइएको छ । लगानीदाता कम्पनी नेपाल र विदेशमा बस्ने नेपालीहरूको कम्पनी हो, जहाँ एक हजार एक सयभन्दा बढी लगानीकर्ता रहेका छन् । बन्दीपुर गाउँपालिका–४ ठूल्ढुङ्गास्वाँराबाट बरालथोकसम्म जोडिने केबुलकारबाट एसियाकै ठूलो दाबी गरिएको विमलनगरस्थित सिद्धगुफा पनि अवलोकन गर्न सकिनेछ । ठूल्ढुङ्गास्वाँराबाट सुरु हुने केबुलकार सिद्धगुफाको छेउ हुँदै बन्दीपुरको उचाइसम्म पुग्नेछ । केबुलकारले एक किलोमिटर छ सय मिटर यात्रा गर्नेछ ।  विसं २०७५ साउन पहिलो साता शिलान्यास भई विसं २०७७ फागुन १ गते केबुलकार सञ्चालन गर्ने लक्ष्य लिइएको थियो । तर कोभिड–१९ को प्रभावका कारण उक्त लक्ष्य प्रभावित भएको छ । विसं २०७६ चैत दोस्रो सातादेखि कोभिड–१९ का कारण लकडाउन भएपछि परियोजनाको काम प्रभावित भएको बन्दीपुर केबुलकार एन्ड टुरिजम लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले बताए । 
अब विसं २०७९ फागुन १ गते बटम स्टेसनको सम्पूर्ण काम र केबुलकारको सम्पूर्ण काम सकेर व्यावसायिक सञ्चालन गरिने शर्माले जानकारी दिए ।  कम्पनीले विसं २०७९ वैशाख १ गतेदेखि होटेललगायत सम्पूर्ण पूर्वाधार प्याकेजसहित फुलफेजमा पर्यटन पूर्वाधारयुक्त केबुलकार परियोजना सञ्चालनमा ल्याउने रणनीति बनाएको थियो । माथिल्लो स्टेसनको बहुआयामिक चारतारे होटेलसहितको निर्माण सम्पन्न गरी विसं २०८० असोज १ गते परियोजना मूल योजना सञ्चालनमा ल्याउने तयारी गरिएको छ । तर कम्पनीले त्यस भन्दा अगावै विसं २०७८ फागुन १ गते रेष्ट्रो जोन जोन सञ्चालनमा ल्याउने भएको छ । “केबुलकारभित्र रेष्ट्रोको सुविधा प्रत्येक आकर्षण र हट प्रडक्ट बन्छ, प्रत्येक दिनको अफ आवर साँझ ५ देखि ९ बजेसम्म यो सेवा दिने तयारीमा छौँ,” शर्माले भने । उनका अनुसार तल्लो र माथिल्लो स्टेसनमा रेष्टुरेन्ट हुने भएकाले रेष्ट्रो प्याकेजमा सेवा दिन सक्नेछ ।  परियोजनाको कूल लागत रु दुई अर्ब दश करोड पुगेको छ । मोनोकेवल डिटाचवेल रोटेटिङ गोन्डोला प्रविधिमा आधारित १९ गोन्डालामार्फत प्रतिघण्टा तीन सय यात्रीहरू बोक्न सक्ने क्षमता रहे पनि त्यसलाई विस्तार गरिएको छ । बजारको माग र चापका कारण यसलाई विस्तारित गर्दै २५ वटा गोन्डोला मेटेरियल क्याविनसहित प्रतिघण्टा पाँच सय यात्रुहरू बोक्ने र दैनिक १६ घण्टामाथि सेवा दिन सक्ने गरी अत्याधुनिक प्रविधि जडान गरी पूर्वाधार थप गरिने कम्पनीले जनाएको छ । यहाँ ल्यान्डस्क्यापिङ र कृत्रिम झरना पनि बनाइनेछ । बन्दीपुरको ऐतिहासिकता झल्कने गरी बन्दीपुर घडी ः बन्दिपुर गार्डेन बनाउने लक्ष्य लिइएको छ । यस गार्डेनभित्र बटम स्टेसनको पाँच तला माथिबाट पानीको आकर्षक झरना बनाइनेछ । यसले पर्यटकलाई लोभ्याउने विश्वास गरिएको शर्माले बताए ।  यसैगरी वाटर पार्क, म्युजिकल वाटर शो बनाउने लक्ष्य छ । माथिल्लो स्टेसनमा नौतल्ले चारतारे होटेल बन्नेछ । यसअगाडि ६६ कोठा रहे पनि अब त्यसलाई बढाएर ८४ देखि एक सयसम्ममा स्तरोन्नति गरिनेछ । होटेललाई निश्चित समय र व्यवस्थापन पार गरेर चारतारेबाट पाँचतारे होटेलमा रुपान्तरण गर्ने गरी रणनीतिक तयारी थालिएको कम्पनीका सञ्चालक तारानाथ उपाध्यायले जानकारी दिए । एक अर्ब अधिकृत पूँजी रहेको कम्पनीको जारी पूँजी रु ७५ करोड र चुक्ता पूँजी रु २० करोड रहेकामा त्यसलाई बढाएर रु ९० करोड पु¥याउने लक्ष्य लिइएको छ । –रासस 
 

प्रकाशित मिति: शनिबार, कात्तिक ६, २०७८  १९:३०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार