पूर्वराष्ट्रपति केनेडी हत्यासँग सम्बन्धित थप कागजात सार्वजनिक गर्न केही समय लाग्ने

शनिबार, कात्तिक ६, २०७८

वासिङ्टन । ह्वाइट हाउसले आफ्ना पूर्वराष्ट्रपति जोन एफ केनेडीको हत्यासँग सम्बन्धित लामो वर्गीकृत कागजात जारी गर्न ढिलाइ गर्ने बताएको छ । राष्ट्रपति जो बाइडेनले जनाएअनुसार उक्त घटनासँग सम्बन्धित बाँकी फाइल तत्काललाई पूर्णरूपमा सार्वजनिक गर्नबाट रोकिने छ । अर्काे वर्ष डिसेम्बर १५ सम्ममा टेक्सासको डलासमा केनेडीको हत्या भएको ६० वर्षपछि उक्त घटनासँग सम्बन्धित कागजात सार्वजनिक गर्ने तयारी गरिएको छ । सन् २०१८ मा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले थुप्रै गोप्य फाइल सार्वजनिक गरेपनि सुरक्षाको कारण देखाउँदै अन्य कागजात सार्वजनिक गर्नबाट रोकिएको थियो ।  ह्वाइट हाउसले जनाएअनुसार राष्ट्रिय सङ्ग्रहकर्तालाई त्यो प्रतिक्रियामा समीक्षा गर्नका लागि यथेष्ट समय चाहिने भएपनि कोरोना महामारीले उक्त कामलाई प्रभावित पारेको छ । राष्ट्रपति बाइडेनले उक्त कागजातको सार्वजनिकीकरणमा ढिलाइ सैन्य रक्षा, खुफिया अपरेशन, कानून प्रवर्तन आदिका कारणले भएको बताउनुभएको छ ।  
छयालीस वर्षीय पूर्वराष्ट्रपतिको हत्या एक गहिरो राष्ट्रिय त्रासदी थियो जुन अमेरिकी इतिहासमा र त्यस भयानक दिनमा जीवित रहेका धेरै अमेरिकीको सम्झनामा प्रतिध्वनित भएको छ बताइएको छ । तत्कालीन सर्वोच्च अदालतका प्रधानन्यायाधीश अर्ल वारेनको नेतृत्वमा भएको १० महिनाको अनुसन्धानले सोभियत युनियनमा बसेका पूर्वमरीन ली हार्वे ओसवाल्डले केनेडीको गाडीमा गोली चलाएको निष्कर्ष निकालेको थियो । आयोगको अनुसन्धान अधुरो भएकोमा आलोचना गरिएको थियो, पछि कङ्ग्रेसको समितिले केनेडीलाई सम्भवत ः षड्यन्त्रको परिणामको रूपमा मारिएकोू निष्कर्ष निकालेको थियो । अमेरिकी कानूनअनुसार हत्याका सबै सरकारी अभिलेख जनतालाई पूर्णरूपमा सूचित पार्नका लागि खुलासा गर्न आवश्यक छ ।–एएफपी 
 

प्रकाशित मिति: शनिबार, कात्तिक ६, २०७८  १८:१५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार