एकसाथ ६७४३ वटा वडामा जुममार्फत अधिवेशन उद्घाटन गरे एमाले अध्यक्ष ओलीले

शनिबार, कात्तिक ६, २०७८

काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज (शनिबार) जुम एप्समार्फत देशभरका ६ हजार सात सय ४३ वटा वडाका अधिवेशनलाई एकसाथ उद्घाटन गरेका छन् ।  आसन्न दशौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज  वडा अधिवेशन र ९ कात्तिकमा पालिका अधिवेशन हुन लागेको हो । यो उद्घाटन समारोहलाई इन्टरनेट पहुँच भएका वडाका कार्यक्रममा ‘डिस्प्ले’ गरिएकाे छ । 

बाढीपहिरोबाट प्रभावित जिल्लामा भने आज वडा अधिवेशन स्थगित भएका छन्  । एमालेको १०औँ महाधिवेशन १० देखि १२ मंसिरमा चितवनमा हुँदैछ  ।

शुक्रबार बसेको एमाले स्थायी कमिटी बैठकले रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा गठित २१ सदस्यीय १०औँ महाधिवेशन मूल व्यवस्थापन समितिलाई पूर्णता दिएको थियो ।   

बैठकले राष्ट्रिय महाधिवेशनका प्रतिनिधि चयन गर्नका लागि २०७७ चैत मसान्तसम्म सदस्य बनेका र नवीकरण गरेका सदस्यहरू योग्य रहने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

उनका अनुसार बैठकले १०औँ महाधिवेशनमा नेतृत्व चयनका लागि विद्युतीय मतदान मेसिन प्रयोग गर्ने निर्णय गरेको छ । यसका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन निर्वाचन आयोगलाई आग्रह गरेको छ ।  

राष्ट्रिय महाधिवेशनका प्रतिनिधि चयनसम्बन्धी मापदण्ड तय गर्न र अन्य आवश्यक निर्णय गर्नका लागि स्थायी कमिटीको बैठक ११ कात्तिकमा बोलाउने निर्णय गरेको छ । केन्द्रीय कमिटी बैठक १२ कात्तिकमा बस्ने निर्णय गरेको छ ।

एमाले वडा अधिवेशन उद्घाटनमा किन देखिएनन् बादल र रावल ?

 

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट पार्टीका ६ हजार भन्दा वढी वडाका वडा अधिवेशन एकसाथ उद्घाटन गरेको घोषणा गरेका छन् । 

पार्टी केन्द्रीय कार्यालय थापाथलीमा आयोजना गरिएको भर्चुअल कार्यक्रममा ओलीले अधिवेशन उद्घाटन भएको घोषणा गर्दै सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्न आह्वान गरेका छन् । 

पार्टीका आधारभूत संगठन भनेकै वडा र शाखा संगठनको अधिवेशन भएको भन्दै उनले यति धेरैवटा वडा अधिवेशन उद्घाटन गर्नु सहज नभएको भन्दै पार्टीका नेता कार्यकर्तालाई धन्यवाद दिए । 

कार्यक्रममा सुरेन्द्र पाण्डे र प्रदीप ज्ञवालीलाई दायाँ बाँया राखेर उद्घाटन मन्तव्य दिइरहेका ओलीसँग विगतमा नजिकै बस्ने रामबहादुर थापा ‘बादल’ र उपाध्यक्ष भीम रावललगायतका नेता भने देखिएका छैनन् । सुरेन्द्र पाण्डेलगायतका नेता भने मञ्चमा उपस्थित छन् ।

पार्टी प्रवक्ता योगेश भट्टराई विरामी परेर अस्पताल भर्ना भएका कारण कार्यक्रमको संचालन भने नेता प्रदीप ज्ञवालीले गरिरहेका छन् । 

प्रकाशित मिति: शनिबार, कात्तिक ६, २०७८  १३:२०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार