यती एयरलाइन्सले पायो अन्तर्राष्ट्रिय उडान अनुमति

शुक्रबार, कात्तिक ५, २०७८

काठमाडौँ ।  निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी यती एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान गर्ने अनुमति (एओसी) पाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले अन्तर्राष्ट्रिय चार्टर्ड र ‘ननसेड्युल फ्लाइट’ उडान गर्नका लागि यती एयरलाइन्सलाई उडान अनुमति दिएको हो । चार्टर्ड उडान तथा कार्गो उडानका लागि एओसी पाएको एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए । अनुमति प्राप्त गरेसँगै दक्षिण पूर्वी एशियाली राष्ट्र म्यानमार, थाइल्याण्ड, कम्बोडिया र भियतनाममा क्रमशः उडान थाल्ने एयरलाइन्सले जनाएको छ । प्रवक्ता बर्तौलाका अनुसार दक्षिण एशियाली राष्ट्रहरुमा भने बङ्गलादेश श्रीलङ्का, भुटान, भारतलगायतका देशमा तत्कालै उडान गर्ने गरी तयारी भएको छ । यात्रु चार्टर्ड र कार्गो उडानको अवस्थालाई हेरेर दक्षिण पूर्वी एशियाली मुलुकमा क्रमशः नियमित उडान गरिने एयरलाइन्सले जनाएको छ । विशेषगरी यी क्षेत्रबाट धार्मिक पर्यटक बढीभन्दा बढी नेपाल भित्र्याउने उद्देश्यका साथ कम्पनीले चार्टर्ड उडान गरेको जनाएको छ । यती एयरलाइन्ससँग हाल छोटा दूरी तथा अन्तर्राष्ट्रिय गन्तव्यमा उडान गर्नसक्ने क्षमताका पाँच थान एटीआर–७२ जहाज रहेका छन् । यसअघि नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स), हिमालय एयरलाइन्स, बुद्ध एयर र श्री एयरलाइन्सले उडान अनुमति पाइसकेका छन् ।

नेपाल वायुसेवा निगमले सुदूर पहाडमा उडान भर्ने

नेपाल वायुसेवा निगमले सुदूरपश्चिमका पहाडी जिल्लामा आइतबारदेखि उडान भर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा निगमले आइतबारदेखि उडान सुरु गर्न लागेको हो ।  बेमौसमी वर्षात्सँगै आएको बाढी पहिराले त्यहाँका पहाडी जिल्लाका राजमार्ग अवरुद्ध भएका कारण यातायात सेवा पनि बन्द भएकाले मन्त्री आलेले नागरिकलाई सहजरुपमा सेवा दिने उद्देश्यले वायुसेवा निगमका जहाज सञ्चालन गर्न निर्देशन दिएका छन् ।  मन्त्री आलेको निर्देशनपछि सुदूरपश्चिमका पहाडी जिल्ला बझाङ, बाजुरा र डोटीमा नेपाल वायुसेवा निगमले कैलालीको धनगढीबाट नियमितरुपमा हवाइ सेवा सञ्चालन गर्ने तयारी गरेको वायुसेवा निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले बताए । उनले भने, “बाजुरामा हाम्रो जहाज सञ्चालन थियो अब मन्त्रीको निर्देशनपछि बझाङ, बजुरा र डोटीमा नियमित हवाइ उडान सञ्चालन हुनेछ ।” वर्षात्का कारण बाढी, पहिराले राजमार्ग अवरुद्ध हुँदा त्यहाँका नागरिकलाई यातयात सेवाका लागि निकै सास्ती हुँदै आएको छ । बाढी, पहिराले गरेको क्षतिका बारेमा निरीक्षण तथा अवलोकनका लागि सुदूरपश्चिम पुग्नुभएका मन्त्री आलेलाई त्यहाँका नागरिकले बाढी, पहिराले बाटाघाटा र सडक अवरुद्ध हुँदा समस्या भएको र जहाज सञ्चालनका लागि आग्रह गरेपछि उनले सुदूरपश्चिमका पहाडी जिल्लामा नियमित उडान गर्न नेपाल वायुसेवा निगमलाई निर्देशन दिएका हुन् ।  मन्त्री आलेको निर्देशनपछि सुदूरपश्चिमका पहाडी जिल्लामा आइतबारदेखि कैलालीको धनगढी विमानस्थलबाट जहाज चलाउनका लागि सम्पूर्ण तयारी पूरा भएको नेपाल वायुसेवा निगमले जनाएको छ । 
सुदूरपश्चिमका पहाडी जिल्लामा सहुलियत भाडा दर कायम गरी हवाइ उडान गर्ने योजना रहेको वायुसेवा निगमको कार्यालयले जनाएको छ । मन्त्री आलेकै निर्देशनमा नेपाल वायुसेवा निगमले आइतबारदेखि धनगढी–काठमाडौँ पनि उडान गर्ने भएको छ । 
यसैबीच मन्त्री आलेले आजै कैलालीको धनगढीमा रहेको गेटा विमानस्थलकोसमेत निरीक्षण गरेको उनको सचिवालयले जनाएको छ । विमानस्थलको निरीक्षण गर्दै मन्त्री आलेले गेटा विमानस्थललाई राष्ट्रियस्तरको विमानस्थलमा बिस्तार गर्नुपर्ने बताएका थिए । 
कूल ८३ बिघा क्षेत्रफल रहेको विमानस्थललाई थप व्यवस्थित र सुविधा सम्पन्न बनाउन बजेट विनियोजन गर्नेसमेत मन्त्री आलेले प्रतिबद्धता व्यक्त गरेका छन् ।  

विराटनगर विमानस्थल शनिबारदेखि सञ्चालनमा आउने
बेमौसमी वर्षापछि आएको बाढीका कारण डुबानमा परेको विराटनगर विमानस्थल भोलि शनिबारदेखि सञ्चालनमा आउने भएको छ । विमानस्थलको धावनमार्गमा बाढी पसेर तीन दिनदेखि बन्द रहेको विमानस्थल पुनः सञ्चालनमा आउन लागेको नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । प्राधिकरणले बिहानदेखि साँझ ५ बजेसम्म दिउँसोको समयमा मात्रै मौसम अनुकूल उडान गर्ने गरी अनुमति दिएको हो । तत्कालका लागि भीएफआर उडान मात्र हुनेछ । उपकरणको परीक्षणपश्चात आइएफआर उडान हुने जनाइएको छ । दुई दिनसम्म उपकरणहरुको परीक्षणपश्चात विमानस्थल सञ्चालनमा आउने भएको हो । हाललाई रात्रिकालीन उडान हुनेछैन ।
विमानस्थल जलमग्न भएपछि यही कात्तिक ३ गतेदेखि नोटाम जारी गरेर विमानस्थल बन्द गरिएको थियो । वर्षाबाट काठमाडौँ–विराटनगर उडान प्रभावित भएको थियो । नियमित उडानका सबै एयरलाइन्सले उडान रद्द गरेका थिए । स्थानीय केसलीया खोलामा आएको बाढी विमानस्थलमा पसेकाले धावनमार्ग, पार्किङ एरियालगायतका स्थान डुबानमा परेका थियो । 

प्रकाशित मिति: शुक्रबार, कात्तिक ५, २०७८  २१:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार