साढे छ लाख मूल्यको अवैध काठ बरामद

शुक्रबार, कात्तिक ५, २०७८

बुटवल : रूपन्देहीमा साढे छ लाख मूल्य बराबरको अवैध काठ प्रहरीले बरामद गरेको छ । रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका र कंचन गाउँपालिकाबाट प्रहरीले अवैध काठ ट्याक्टरसहित नियन्त्रणमा लिएको हो ।

इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको टोलीले लुम्बिनी सांस्कृतिक नगरपालिका- १ खुनगाईमा सोही नगरपालिका- १० बस्ने २७ वर्षीय जितेन्द्र यादवले लु१त १२६१ नम्बरको ट्याक्टरमा चार लाख रुपैयाँ बराबरका १५ गोलिया काठ अवैध रूपमा ओसारपसार गरिरहेको अवस्थामा नियन्त्रणमा लिएको जनाएको छ ।

त्यस्तै, प्रहरी चौकी व्यहोरी रूपन्देहीबाट खटिएको प्रहरी टोलीले जिल्लाको कंचन गाउँपालिका- १ कुत्तागाउँस्थित लु६१प ९४९७ नम्बरको मोटरसाइकलमा लोड गरेको सालको काठको गोलिया एक थान र खाली जमिनमा रहेका तीन गोलिया गरी ३८.७२ क्युबिक फिट काठ बरामद गरेको जनाएको छ । उक्त काठको मूल्य दुई लाख ४५ हजार रुपैयाा रहेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता प्रहरी नायि उपरीक्षक सत्यनारायण थापाले बताए ।

लुम्बिनी सांस्कृतिक नगरपालिकाबाट बरामद भएको काठ आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय भैरहवा पठाइएको र कंचन गाउँपालिकाबाट बरामद भएको काठ कंचन सबडिभिजन कार्यालय फायरलाइन पठाइएको उनले जानकारी दिए ।

प्रहरीले स्थानीय व्यक्तिहरूको रोहवरमा अवैध काठ बरामद गरेको हो । अवेध रूपमा काठको ओसारपसार हुँदै छ भन्ने सूचनाको आधारमा प्रहरी टोलीलाई गस्तीमा पठाइएको र गस्तीका क्रममा काठ बरामद भएको थापाले बताए ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक ५, २०७८  २१:१९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार