पानीले लुम्बिनीमा साढे चार अर्ब बराबरकाे धानखेती नष्ट, राहतको पर्खाइमा किसान

शुक्रबार, कात्तिक ५, २०७८

बुटवल । चार दिनसम्म लगातार परेको वर्षाले काटेर राखेको धानबाली नष्ट गरेपछि रुपन्देही मर्चवारका किसान रामअवतार यादव परिवार कसरी पाल्ने भन्ने चिन्तामा छन् । झन्डै पाँच बिघामा लगाएको धानबाली भित्र्याउने तयारी गर्दैगर्दा वर्षाले सखाप पारिदियो । अधिकांश काटिसकेको धान नष्ट भएपछि उनमा वर्षभरिको हातमुख जोर्ने चिन्ता थपिएको छ । ‘सरकारले राहत दिने भन्ने सुनेको छु, तर खै विश्वास लागेको छैन,’ उनले दुःखेसो पोखे । बुटवल उपमहानगरपालिका-१५ रानीगन्जका किसान जितबहादुर रानाको पनि अवस्था पनि उस्तै छ । उनले एक बिघा १० कट्ठामा लगाएको धानबालीमा वर्षाले नोक्सान पुर्‍यायो । ‘यस वर्ष धानमा राम्रो बाला लागेको थियो, विगतमा भन्दा उत्पादन बढ्ने अनुमान थियो, तर सबै पसिना खेर गयो,’ रानाले भने । उनलाई पनि राहत पाइने कुराको विश्वास लागेको छैन । २० बिघा क्षेत्रफलमा धानखेती गरेका रुपन्देहीको सैनामैना नगरपालिका-१ का किसान दशरथ यादवले आफ्नो अधिकांश धानबाली पानीले नष्ट गरेको सुनाए । लुम्बिनी प्रदेशका अधिकांश जिल्लाका किसानको धानखेती वर्षाले नष्ट गरेपछि धेरैजसो किसान यतिबेला पीडामा छन् ।  लुम्बिनी प्रदेशको कृषि खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयका अनुसार पहिलो चरणमा प्रदेशका सबै जिल्लाहरूको प्रारम्भिक क्षतिको विवरण लिने कार्य सम्पन्न भएको छ । पहिलो चरणमा संकलन गरिएको विवरणअनुसार लुम्बिनी प्रदेशमा चार अर्ब ५१ करोड ४२ लाख ५४ हजार ८० रुपैयाँ बराबरको क्षति भएको मन्त्रालयका निमित्त सचिव तुलसीराम भण्डारीले बताए । लुम्बिनी प्रदेशमा कुल तीन लाख १७ हजार चार सय १४ मेट्रिक टन धानमा क्षति पुगेको मन्त्रालयको तथ्यांक छ । मन्त्रालयका निमित्त सचिव भण्डारीले वर्षाले पुर्‍याएको क्षतिको विषयमा प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीमार्फत प्रधानमन्त्रीसमक्षसमेत जानकारी गराइएको बताए । ‘प्रदेशमा भएको क्षतिको विषयमा हामीले मुख्यमन्त्रीमार्फत प्रधानमन्त्रीलाई समेत जानकारी गराएका छौं,’ उनले भने । राहतको विषयमा भने प्रदेश मन्त्रिपरिषद्ले ठोस निर्णय गरेको छैन ।  प्रदेशको खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयका अनुसार वर्षाले सबैभन्दा बढी क्षति रुपन्देहीमा पु¥याएको छ । मन्त्रालयको तथ्यांकअनुसार रुपन्देहीमा ६७ हजार पाँच सय ५० हेक्टर क्षेत्रफलमा लगाइएको धानमा बाढीको कारण क्षति पुगेको छ । कपिलवस्तुमा ६४ हजार ३५०, बर्दियामा ४९ हजार ६ सय ३८, दाङमा ३७ हजार नौ सय ३६, बाँकेमा ३५ हजार ६ सय २५ हेक्टर क्षेत्रफलमा लगाइएको धानमा पूर्णरूपमा बाढीले क्षति पुर्‍याएको छ । नवलपरासीमा २२ हजार सात सय १२, गुल्मीमा १० हजार दुई सय ४६, पाल्पामा आठ हजार नौ सय १०, अर्घाखाँचीमा आठ हजार तीन सय चार, प्युठानमा ६ हजार १४, रोल्पामा चार हजार सात सय ९२, रुकुममा दुई हजार ५८ हेक्टर क्षेत्रफलमा बेमौसमी बर्षाले धान बालीमा क्षति पुर्‍याएको छ । किसानले ३६ हजार ४ सय ८० हेक्टर खेतमा काटिसकेको धानमध्ये २३ हजार सात सय १२ हेक्टर अर्थात् ६५ प्रतिशत क्षति पुगेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक ५, २०७८  ११:१७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार