धान डुब्यो, गहुँ लाउने आश मर्‍यो

बिहीबार, कात्तिक ४, २०७८

महोत्तरी । दसैँ र मोहम्मदको पर्व मनाएसँगै महोत्तरीका किसान गम्भीर चिन्तामा परेका छन् । हिन्दू परम्पराको दसैँ सकिनैलाग्दा र इस्लाम परम्पराको महत्वपूर्ण पर्व मोहम्मद डे मनाइरहँदा गत मङ्गलबार परेको बेमौसमी वर्षाले यहाँका किसान गम्भीर चिन्तामा परेका हुन् । सोमबार मध्यरातपछि मङ्गलबारभरि परेको पानीले धानबाली डुबाएर नोक्सान गरेको र खेतबारी जलमग्न भएपछि अबलगत्तै गहुँ र अन्य हिउँदेबाली लगाउन पाइने आश मरेको यहाँका किसान बताउँछन् । “बूढापाकाले दसैँ कहिले त दशा लिएर आउँछ भन्थे, यसपालि त्यस्तै भयो”, बर्दिबास नगरपालिका–९ पशुपतिनगरको टोकीटोलका किसान रामचन्द्र थापामगरले खेतमा डुबेको धान देखाउँदै भने, “जीवन गुजाराको मुख्यबाली थन्क्याउने बेलामा हातबाट गयो ।” धान डुबेर नोक्सान भएको र खेतबारीमा वर्षाको पानीको अत्यधिक चिस्यानले लगत्तै अब गहुँ र अन्य हिउँदेबाली लगाउन नपाउने भएपछि यसपालि जहान परिवार कसरी पाल्ने भन्ने चिन्ताले पिरोलेको मगरको भनाइ छ ।
मङ्गलबार कोजाग्रत पूर्णिमा पर्वमा धनधान्यकी देवी लक्ष्मीको पूजाआराधना र मोहम्मद पैगेम्वरको जन्मदिन मनाउने उत्सवको तयारीमा थिए । त्यसै दिन परेको पानीले ‘मुखको माड’ खोसिएको यहाँका आम किसानको गुनासो छ ।
खेतमा पाकी सकेको धान कतिले काटेर पसी (धान काटेर खेतमै सुकाउन फैलाएर राखिने काम) सुकाएका थिए । कति अब एक÷दुई दिनभित्रै धान काट्ने तयारी गर्दै थिए । अचानक परेको पानीले पसी डुबाएको र बोटकै धान पनि सोत्तर बनाएर लडाएको भङ्गाहा नगरपालिका–४ रामनगरका ७५ वर्षीय किसान इस्लाम राइनले गहँभरि आँशु काढ्दै बताउनुभयो । “हामी पर्व मनाउने तयारीमा थियौँ”, राइनले भन्नुभयो । धर्तीमा पाप बढेसँगै प्राकृतिक विपद् बढेको राइनको विश्वास छ ।
पछिल्लो बेमौसमी वर्षाले मुखमा आएको धानबालीमा गरेको नोक्सानीले यसपालि अन्नको सङ्कट बढ्ने किसान बताउँछन् । “थन्क्याउने बेलाको धान अब खेतमै उम्रने भयो, तरकारीबालीका बोट र लहरा पानीले डुबेर पहेँलिए”, भङ्गाहा–५ भुचक्रपुरका किसान दीपनारायण चौधरी थारुले भने, “पानीले गर्दा खेतबारी खनजोत गर्ने अवस्था नहुँदा अर्को बाली लगाइहाल्ने अनुकूलता पनि रहेन, खै के गरी गुजारा चलाउने ? रनभुल्लमा परियो ।”
पछिल्लो वर्षाले जिल्लाको खेतीपाती लथालिङ्ग बनाएको किसान बताउँछन् । तयार बाली खेतमा डुबेको र लगत्तै अर्को बाली लगाउन पाइने आश मरेको बलवा नगरपालिका–१० का किसान हासिम राइनको भनाइ छ । जिल्लाको कूल ७० हजार हेक्टर खेतीयोग्य जग्गामध्ये अनुकूल वर्षा हुँदा ४०÷४५ हजार हेक्टरसम्म धान खेती गरिन्छ । स्थायी सिँचाइको समुचित प्रवन्ध नहुँदा आकासे पानीकै भरमा गरिने खेतीमा कहिले पानी नहुँदा धान रोप्न नपाइएको चिन्ता र कहिले कुसमयको अतिवृष्टिले लगाको बाली नोक्सान गर्ने आफूहरूको नियति नै बनेको गौशाला नगरपालिका–१० लक्ष्मीनियाँका ७५ वर्षीय किसान लक्ष्मी महतो बताए ।
यसपालि करिब ३५ हजार हेक्टरमा धानबाली रहेको कृषि ज्ञानकेन्द्र महोत्तरी कार्यालयको आँकडा छ । पछिल्लो वर्षाले १०० हेक्टरभन्दा केही बढी क्षेत्रफलको काटेर पसी सुकाइएको धान डुबाएको अहिलेसम्मको अनुमानित तथ्याङ्क छ । यसबाहेक एक÷दुई दिनमै काट्ने तयारी रहेको धानका बोट पानीले लडाएर नोक्सान गरेको छ । यद्यपि लडेका धानका बोट उठाएर नोक्सानी कम गर्न सकिने र वर्षा थामिएको हुँदा केही दिनपछि अत्यधिक चिस्यान भएको जग्गा रुखिँदै गएर खनजोत गर्ने र नयाँबाली लगाउन सकिने कार्यालयका कृषिविज्ञ बताउँछन् ।
पछिल्लो वर्षाले महोत्तरीसहित प्रदेश–२ का आठवटै जिल्लामा व्यापक क्षति गरेको हुँदा सङ्घीय सरकारले तत्काल किसानलाई राहत दिने प्याकेज (योजना) दिनुपर्ने प्रदेश सरकारले माग गरेको छ । प्रदेशका मुख्यमन्त्री मोहम्मद लालबाबु राउत गद्दीले खेतीपातीमा भएको क्षतिबारे सङ्घीय सरकारको ध्यानाकर्षण गराउँदै राहत प्याकेजको माग गरेका छन् । 
धानखेतमा खोला कुँदेपछि चिन्ता
गौरीगञ्ज गाउँपालिका–२ भाकुरमाडी बस्तीमा पसेको पानी र हिलो अझै सुकेको छैन । धानका कुन्यू मिलाएजस्तै लहरै माटो र ढुङ्गाले जस्तापाता च्यापेर बनाएको घरको आँगनदेखि ओछ्यानसम्मै छिपछिप्पे हिलो र पानी छ तर, त्यहाँका बासिन्दालाई घरभन्दा पनि पाँक्न लागेको धानखेतमा खोलो कुँदेपछि अब के खाएर बाँच्ने भन्ने चिन्ता छ । 
बस्तीका ६५ वर्षीया तालु ताजपुरिया घरदेखि दुईसय मिटरमा रहेको खोला पारितिर देखाउँदै भन्छन्, ‘ऊ त्यहाँ मेरो खेतमा धान पहेँलपुर थियो । दसैँ सकिएपछि काटौला भन्दाभन्दै खोलाले सबै लगिदियो । अब के खाएर बाँच्नु ।’ उनको चार बिघा जमिनमा धान खेती थियो । कनकाई नदी र किस्ने खोलाको बीचमा रहेको भाकुरमाडीमा ४३ घर परिवार ताजपुरिया जातिको बसोबास छ । खोला किनारमा खेती र गाईवस्तु पालेर जीविकोपार्जन गर्ने उनीहरूलाई आज कन्काई खोलाको बाढीले विस्थापित बनाएको भन्दा पनि पाँकेको धान खोलाले बगाएपछि आत्तिएका छन् ।
सोही बस्तीकी ४८ वर्षीया आनन्दी ताजपुरियाको तीन बिघा जमिनमा लगाएको धानखेतमा खोला कुदिरहेको छ । बस्तीको पारिपट्टीअर्थात् भारतको विहार प्रान्तको कञ्चपुरसँग सीमा जोडिएको स्थानमा उनीहरूले धान खेती गर्दै आएका थिए । प्रत्येक परिवारको १० कट्ठादेखि पाँच बिघासम्म खेती थियो । करिब १५० बिघामा लगाएको धान खेतमा कन्काई खोला बगिरहेको छ । उनीहरूले बासमती, भाले शर्ना, गरिमा जातका धानखेती गरेका थिए ।
वडा नम्बर १ स्थित रङ्गियाथान बस्तीका ६८ वर्षीय सत्यनारायण राजवंशीले कात्तिक महिनामा यत्रो ठूलो खोलामा बाढी आएको पहिलोपटक भएको बताए । ‘यति ठूलो बाढी त असार साउनमा पनि आएको थाहा छैन’, उनले भने, ‘बेला न कुबेलाको बाढीले किसानको धान खेत सबै लग्यो अब भोकभोकै मर्ने भयौं ।’
बेमौसमी वर्षाका कारण जिल्लाका अन्य पालिकामा भन्दा बाढीले विस्थापित हुने गौरीगञ्ज गाउँपालिकामै छन् भने धानखेत पूर्ण रुपमा गुमाउने पनि यही रहेको पालिकाका अध्यक्ष बाबुराज श्रेष्ठले बताए । उनलेसयौँ किसानको पाक्न लागेको धान मात्र होइन जमिनमाथि नै खोला कुँदिरहेको जानकारी दिए । 
उनका अनुसार वडा नम्बर २ भाकुरमाडीका किसानको १५० बिघा, वडा नम्बर १ स्थित धानगाढाका किसानको १०० बिघा, होक्लाबाडीको ६० विगाह, विर्खेबस्तीको ६० बिघा, रङ्गियाथानको १०० बिघा, बालुवाडी भन्सार चोकको ५० बिघा गरी करिब ५२० बिघाभन्दा बढी जमिनको धान खोलाले बगाएको बताए । 
उनले प्राकृतिक प्रकोपको कारण पालिकाले ठूलो क्षति बेहोर्नुपरेको जानकारी दिँदै भने, “यहाँ भोकमरी लाग्ने अवस्था आयो अब । स्थानीयपालिकाले मात्र सबै क्षतिपूर्ति दिलाउन सक्दैन । तीनै तहको सरकार मिलेर उनीहरूलाई क्षतिपूर्ति दिलाउनुको विकल्प छैन ।” 
उनले पालिकाको विपद् कोषमा रु ५० लाख रहेको जानकारी दिनुभयो तर यस्तो विपद्को भयाबह अवस्थामा यतिले मात्र नपुग्ने हुँदा तीनै तहको सरकारको दात्यिव उत्तिकै हुने उनको भनाइ छ । 
कृषि ज्ञान केन्द्र झापाले सोही क्षेत्रको स्थलगत अवलोकन बुधबारै गरिसकेको छ । केन्द्रका प्रमुख निलकमल सिंहले क्षतिको विवरण कृषि मन्त्रालयमा पठाएर क्षतिपूर्तिका लागि पहल गर्ने उनीहरूलाई आश्वसन दिएका छन् । उनले जिल्लाका अन्य स्थानमा पानीले धान ढाल्ने र डुबाउने गरे पनि गौरीगञ्जका केही वडामा पूर्णरुपमा धानखेतीमा खोलाले क्षति पु¥याएको बताए । 

चितवनको ३० प्रतिशत धानबालीमा क्षति

धान भित्र्याउने समयमा परेको अविरल वर्षाले यहाँको धानबालीमा ३० प्रतिशत क्षति पु¥याएको छ । पानी र हावाहुरीले धान ढालेर, डुबाएर र बगाएर क्षति भएको हो । जिल्लामा २० प्रतिशत हाराहारी धान भित्र्याइएको भए पनि बाँकी धान खेतमै रहेको छ । कतिपय काटेर सुकाइएको छ भने कतिपय काट्न नै बाँकी रहेको छ । काट्न बाँकी धान पनि ठाढो अवस्थामा छैन ।
कृषि ज्ञान केन्द्र भरतपुरका योजना अधिकृत उमाराज अर्यालका अनुसार जिल्लाको पूर्वी क्षेत्र र माडीमा ५० प्रतिशत धान भित्र्याइसकिएको छ । भरतपुर महानगरपालिका क्षेत्रमा १० प्रतिशत मात्रै भित्र्याइएको छ । भित्र्याउन बाँकीमध्ये महानगरमा ७० प्रतिशत खडा अवस्थामा र २० प्रतिशत हाराहारी काटेको अवस्थामा रहेकोमा दुवै धानमा आधाभन्दा बढीमा क्षति पुगेको उनले जानकारी दिए । 
पूर्वी चितवन र माडीमा ३० प्रतिशत काटेको अवस्था र २० प्रतिशत काट्न बाँकी रहेको धान ढलेको छ भने पाँजा पानीले डुबाएको छ । जसका कारण दुवै धानमा क्षति पुगेको अर्यालको भनाइ छ । उहाँको भनाइमा पानीमा डुबेको धानबाट राम्रो चामल, चिउरालगायत उत्पादन हुन सक्दैन । काट्न बाँकी र काटिएका धानको पराल काम लाग्ने अवस्थामा नरहेको उनले जानकारी दिए ।
कार्यालयका प्रमुख युवराज पाण्डेले सबै पालिकामा स्थलगत निरीक्षण र दैनिक क्षतिको विवरण लिने काम भएको बताउनुभयो । निरन्तरको वर्षाको कारण धानमा ठूलो क्षति भएको उहाँले जानकारी दिनुभयो । पानी निरन्तर परिरहेकाले थप क्षति हुनसक्ने आँकलन गरिएको पाण्डे बताउनुहुन्छ । विगतका वर्षहरूमा वर्षे धान थन्क्याउने समयमा मौसम राम्रो हुने भए पनि यस वर्ष पानी र हावाहुरीले यहाँको धान प्रभावित भएको उनको भनाइ छ ।
चितवनमा यस वर्ष २७ हजार ३०५ हेक्टर क्षेत्रफलमा धान रोपिएको थियो । गत वर्षमा २७ हजार ३०५ हेक्टर क्षेत्रफलमा धान खेती भएकोमा एक लाख तीन हजार ४१६ मेट्रिकटन धान उत्पादन भएको थियो । जिल्लामा विगत वर्षको आँकडालाई हेर्दा प्रतिहेक्टर ३.८ मेट्रिक टन उत्पादन हुने गरेको छ । चितवनमा सावा मन्सुली, वार, सावित्री, मोती, गोरखनाथ, जिरा मसिनाजस्ता प्रजातिका धान लगाइने गरिन्छ ।–रासस 

प्रकाशित मिति: बिहीबार, कात्तिक ४, २०७८  १५:२१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार