ललितपुर महानगरलाई एभरेष्ट बैंकले विद्युतीय शवदाह मेसिन उपलब्ध गराउने

मंगलबार, कात्तिक २, २०७८

काठमाडौं । ललितपुर महानगलाई एभरेष्ट बैंकले विद्युतीय शवदाह मेसिन जडान गर्न सहयोग गर्ने भएको छ । बैंकको सहयोग महानगरले शंखमूलमा निर्माण गर्न लागेको विद्युतीय शवदाह गृहका लागि आवश्यक मेसिन खरिदका लागि हुनेछ । सहयोगसम्बन्धी सम्झौतापत्रमा ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जन तथा बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ्गले सोमबार हस्ताक्षर गरे । महानगरले शंखमूलमा निर्माण गर्न लागेको विद्युतीय शवदाह गृहका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंककोे २५ औं वार्षिकोत्सवको अवसर पारेर एभरेष्ट बैंकले विद्युतीय शवदाह उपकरण उपलब्ध गराउन लागेको हो । दाउराको माध्यमबाट शवदाह गर्दा हुने वातावरणीय प्रदुषण न्यूनीकरण गर्न महानगरपालिकाले वडा नं. ११ स्थित शंखमूल क्षेत्रमा विद्युतीय शवदाह गृह निर्माण प्रक्रिया अघि बढाएको छ । शंखमुल घाटमा हिन्दु–बौद्ध धर्मको मान्यता अनुरुप शवदाह गरिँदै आएको छ । महानगरका अनुसार त्यस क्षेत्रमा एउटा विद्युतीय शवदाह र अर्काे दाउराबाट शवदाह गर्न मिल्ने गरी घाट व्यवस्थापन गरिनेछ । बैंकले ललितपुर महानगरपालिकालाई मुख्य विद्युतीय शवदाह सिस्टम एक थान र १०० फिटको एक थान चिम्नी उपलव्ध गराउने छ । ती सामग्रीको मूल्य ८८ लाख ( भारु ५५ लाख रुपैयाँ ) रहने सम्झौता पत्रमा उल्लेख छ । सम्झौता पत्र अनुसार ललितपुर महानगरले विद्युतीय शवदाह उपकरण प्राप्त गर्नका लागि आवश्यक सम्पूर्ण लिखित प्रक्रिया पूरा गरेर सम्बन्धित निकायसँग समन्वय गरी काम गर्ने सहज वातावरण बनाउनु पर्ने, विद्युतीय शवदाह उपकरण राख्नका लागि आवश्यक जग्गाको व्यवस्था गर्नु पर्नेछ । सो जग्गामा विद्युतीय शवदाह उपकरण राख्न आवश्यक पर्ने शवदाह गृहको निर्माण कार्य (सिभिल कन्सट्रक्सन) ललितपुर महानगरले गर्नुपर्ने, विद्युतीय शवदाह उपकरण सञ्चालन गर्नका लागि ललितपुर महानगरले प्राविधिकको व्यवस्था गर्नु पर्ने, उपकरण सञ्चालनका लागि २४ सै घण्टा विद्युत् आपूर्तिको व्यवस्था गर्नुपर्ने तथा विद्युतीय शवदाह उपकरण मर्मत सम्भार पनि महानगरले गर्नुपर्ने छ । विद्युतीय शवदाह गृह सञ्चालनमा नआउँदासम्मका लागि शवदाह कार्यलाई निरन्तरता दिन महानगरले वैकल्पिक व्यवस्था गर्नुपर्ने तथा समयमा नै कार्यसम्पादन गर्न ललितपुर महानगरले बैंकलाई बेग्लै कार्यसम्पादन तालिका उपलब्ध गराउनु पर्ने सम्झौता पत्रमा उल्लेख छ । सामाजिक हितको कार्य भएकाले भन्सार तथा कर छुटका लागि सरकारसँग ललितपुर महानगरले पहल गर्ने तथा थप शवदाह उपकरणका लागि ललितपुर महानगरले छुट्टै दाता वा आफैले खरीद गर्नुपर्ने सम्झौता पत्रमा उल्लेख छ । यस्तै एभरेष्ट बैंककातर्फबाट विद्युतीय शवदाह गृहका लागि १ थान विद्युतीय शवदाह उपकरण उपलब्ध गराउने छ । विद्युतीय शवदाह उपकरण नेपाल झिकाउन आयातकर्ता उर्जा ग्यासिफाएर प्रा लि. लाई खरिद आदेश दिने उल्लेख छ । विद्युतीय शवदाह उपकरण महानगरले व्यवस्था गरेको जग्गामा जडान गर्न उर्जा ग्यासिफाएर प्रा लि.ले समयमा कार्यसम्पादन गर्नुपर्नेछ । सम्झौता पत्र हस्ताक्षर समारोहमा ललितपुर महानगरपालिका वडा नं ९ का वडा अध्यक्ष राजु महर्जन तथा बैंकका अधिकारीको सहभागिता थियो ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २, २०७८  १५:२५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार