काठमाडौं । हरितालिका तीजका अवसरमा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनको यति बेला पाशुपत क्षेत्रमा बाक्लो भिड लागेको छ । पशुपति क्षेत्र विकास कोषले आज मन्दिर प्रवेश गर्ने भक्तजनका लागि सहज तरिकाले व्यवस्था मिलाएको जनाएको छ ।
मन्दिर प्रवेशका लागि गौरीघाट, उमाकुण्ड, दक्षिणामूर्ति, रुद्रगाडेश्वर, वासुकी हुँदै उत्तरढोकाबाट मन्दि प्रवेश गर्नेगरी एउटा लाइनको व्यवस्था गरिएको छ । त्यस्तै मित्रपार्क, जयवागेश्वरी, भुवनेश्वरी, शंकराचार्यमठ दक्षिण हुँदै फलामे पुल– पश्चिम सानो ढोकाबाट मन्दिर प्रवेश गर्ने अर्को लाईन तथा गौशाला, पिङ्गलास्थानवाट वनकाली, चारशिवालय, पञ्चदेवलपूर्व, वज्रघर, दक्षिणढोकासम्मको लाईनलाई चौसट्ठीबाट मन्दिर प्रवेश गर्ने गरी व्यवस्थापन गरिएको छ ।
त्यस्तै तिलगंगा राममन्दिर हुँदै आर्यघाट पारीपट्टी भएर पशुपतिनाथ मन्दिरको पूर्व ढोकाबाट प्रवेश गरी दर्शन गर्न अर्को लाईनको व्यवस्था गरिएको छ ।
त्यस्तै दर्शननार्थीले छिटोभन्दा छिटो दर्शन गरी फर्कन सक्ने गरी बिहान ३ः०० देखि नै पशुपतिनाथ मन्दिरका चारैढोका खोलिएको थियो । श्रीयन्त्र पूजा र महाभोगको बेलामा मात्र केही समय मन्दिर बन्द रहने त्यस बाहेकको समय मन्दिर खुल्ला रहने छ ।
कोषले बहुमुल्य गरगहना लगाएर मन्दीर अनाउन आग्रह गरेको छ ।
‘हरितालिका पर्वलाई व्यवस्थित गरी दर्शनार्थीलाई आवश्यक सेवा सुविधा पु¥याउन धार्मिक सामाजिक संस्थाहरुलाई समन्वय गरी मन्दिर प्राङ्गणभित्र आवश्यकता अनुसार संस्कृति संरक्षण महाशाखाले महिला स्वयंसेवकहरु मात्र परिचालन गर्नेगरी मिलाउनेछ, पुरुष स्वयंसेवकहरुलाई मन्दिर प्राङ्गण भित्र पूर्ण रुपमा निषेध गरिएको छ’, कोषले भनेको छ, ‘तर कोषका कर्मचारी, भण्डारी, रकमी र महिला सुरक्षाकर्मी भने परिचालन गरिनेछ । कोर क्षेत्र र सो भन्दा बाहिरी क्षेत्रमा भने आवश्यकता अनुसार स्वयंसेवी संस्था तथा स्वयंसेवकहरु परिचालन गरिनेछ ।’
हिन्दूहरुको महान् पर्व हरितालिका तीजका अवसरमा पशुपतिनाथको दर्शनार्थ पुग्ने भक्तजन एवं विशेषगरी हिन्दू नारीहरुको सेवा सुविधाका लागि आवश्यक पर्ने सुरक्षा, स्वयंसेवा, चन्दन प्रसादको व्यवस्थालगायतका व्यवस्था गरिएको छ ।
‘कोषले दर्शन मार्गको व्यवस्था एवं सुधार, जुत्ता चप्पल राख्ने ठाउँको व्यवस्था, आकस्मिक स्वास्थ्य सेवा, उपासना सहितको मनोरञ्जनात्मक गीतसंगीत, दीपावली, व्रतालुहरुले गौदान गर्ने स्थानको व्यवस्था जस्ता कार्यक्रमलाई सहज रुपमा सम्पादन गर्न पशुपति क्षेत्र विकास कोषले विभिन्न व्यवस्था गरेको छ । पशुपतिनाथको दर्शन गर्न आउने दर्शनार्थीहरुको सुविधाका लागि चार स्थानबाट दर्शनमार्गको व्यवस्था गरी दर्शन गर्ने व्यवस्था मिलाईएको र सोही अनुसार जुत्ता चप्पल राख्ने व्यवस्था पनि मिलाइएको कोषले जानकारी दिएको छ ।
त्यस्तै सहज दर्शन र मन्दीर र ट्राफिक व्यवस्थापन र पार्किङको व्यवस्थापनलाई प्राथमिकतामा राखिएको संस्कृति संरक्षण महाशाखाका निमित्त प्रमुख रेवति रमण अधिकारीले जानकारी दिए ।
त्यस्तै परिषद् सदस्य भरत प्रसाद बडालले, धर्म गर्न आउनेले अरुलाई छल्ने भन्दा पनि अरुलाई सहयोग गर्ने भावनाका साथ प्रस्तुत हुनु पर्ने भन्दै एक अर्कालाई सहयोग गर्न आग्रह गरे ।