खेलाडीहरुको पुरस्कार रकम भोलि निकासा हुन्छः प्रधानमन्त्री (भिडियो)

शुक्रबार, भदौ २९, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलि शुक्रबार बस्ने मन्त्रिपरिषद्को बैठकले खेलाडीहरुका लागि घोषणा गरिएको पुरस्कार निकासा गर्ने बताएका छन् ।
चीनको हाङझावमा हुने १९औं एसियाली खेलकुदमा सहभागी हुने नेपाली टोलीलाई बिदाइ कार्यक्रमलाई सम्बोधन गर्दै बिहीबार उन भने, ‘पुरस्कारको रकम अर्थ मन्त्रालयबाट स्वीकृत भई आजैमात्र खेलकुद मन्त्रालयमा पुगेको र भोलिको क्याबिनेटबाट सबै पैसा निकासा गर्ने छ ।’
प्रधानमन्त्री प्रचण्डले यसअघि घोषणा भएको पुरस्कार केही प्राविधिक, केही नीतिगत कारणले ढिला हुन गएकोमा दुःख व्यक्त समेत गरे । 
उनले भने, ‘यसअघि घोषणा भएको पुरस्कार खेलाडीहरुले आजसम्म पनि नपाएको भन्ने कुरा जानकारी छ । केही प्राविधिक, केही नीतिगत कारणले ढिला हुन गएकोमा दुःख व्यक्त गर्न चाहन्छु । मैले नै घोषणा गरेको पुरस्कार नियमावलीको अभावका कारण निकासामा ढिला भएको थियो अहिले त्यो बनेको छ । अर्थ मन्त्रालयबाट स्वीकृत भई आजै मात्र खेलकुद मन्त्रालयमा पुगेको छ । भोलिको क्याबिनेटबाट सबै पैसा निकासा हुन्छ ।’
उनले प्रधानमन्त्रीले घोषणा गरिसकेको कुरा हुँदैन कि भनेर चिन्ता नलिन खेलाडीहरुलाई आग्रह गरे ।

‘जित हेर्न म होङझोउमा तपाईंहरुको साथमा हुनेछु’ 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १९औं एसियन गेम्स खेल्न चीनको होङझोउ जान लागेका खेलाडी टोली र प्रतिनिधिमण्डललाई बधाई र शुभकामना सहित बिदाई गरेका छन् ।
 एसियाड समेत भनिने १९औँ एसियन गेम्समा सहभागी हुने टोलीलाई बिहीबार शुभकामना दिदै उनले खेलाडीलाई हौसला दिन आफू चीनमा खेल हेर्न जाने समेत बताए । 
उनले भने, ‘सरकार हमेसा तपाईंहरुको साथमा रहेको जानकारी गराउँदै उच्च मनोवल र दृढताको साथ प्रतियोगितामा सहभागी हुन र जित्नको निम्ति म विशेष रुपले अपिल गर्न चाहन्छु । जित हेर्न होङझोउमा म पनि तपाईंहरुको साथमा हुने छु ।’
उनले एसियाडमा सहभागी हुने खेलाडीलाई उच्च मनोवलका साथ प्रतियोगितामा सहभागी हुन र प्रशिक्षक र व्यवस्थापकलाई पनि आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नलाई आग्रह गरे ।
क्रिकेट, महिला र पुरुष भलिवल, इ–स्पोर्टस्, व्याटमिन्टन, सुटिङ, टेनिस, एथ्लेटिक्स, बक्सिङ, बास्केटबल लगायत विभिन्न २९ वटा खेलका खेलाडीहरु एसियाडमा सहभागी हुँदै छन् ।

प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०८०  १२:४२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार