कुसुन्ती चक्रपथमा ललितपुर महानगरले लिफ्टसहितको आकाशे पुल निर्माण गर्ने 

शनिबार, भदौ १६, २०८०

ललितपुर। ललितपुर महानगरले कुसन्तीस्थित चक्रपथमा लिफ्ट र शौचालयसहितको अत्याधुनिक आकाशे पुल निर्माण गर्ने भएको छ । उक्त आकाशे पुल अपाङतामैत्री हुनेछ ।  भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत सडक विभागले गत आइतबार ललितपुर महानगरलाई पैदलयात्रुका लागि सडक वारपार गर्न आकाशे पुल निर्माणका लागि स्वीकृति दिएसँगै पुल निर्माणको बाटो खुलेको हो । ललितपुर महानगरले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई एक वर्ष अघि उक्त स्थानमा पुल निर्माण गर्न सहमति माग्दै पत्राचार गरेको थियो । आठ मिटरभन्दा बढीको सडकमा स्थानीय सरकारको क्षेत्राधिकार हुँदैन । ललितपुर महानगर केही दिनभित्र आकाशे पुल निर्माणका लागि टेण्डर आव्हान  गर्र्ने जनाएको छ । 

over head bridge 111693660925.jpg
ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले चक्रपथको उक्त स्थानमा सडक वारपार गर्न आकाशे पुल अत्यावश्यक भएको बताए । उनले भने, ‘ उक्त स्थान सुरक्षाका दृष्टिले अति नै जोखिमपूर्ण छ, गएको एक वर्षमा छ, सात जनाको ज्यान गइसक्यो ।’ कुसुन्तीको यातायात व्यवस्था कार्यालय नजिकैको चक्रपथमा  पुल निर्माण गरिनेछ । महानगर प्रमुख महर्जनले ढिलै भएपनि आकाशे पुल निर्माणका लागि स्वीकृति दिएकोमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई धन्यवाद दिए । शौचालयको समेत व्यवस्था हुने यो पुल टफन ग्लासबाट निर्माण गरिनेछ । यो ग्लास पारदर्शी हुन्छ । महानगर प्रमुख महर्जनले महानगरले निर्माण गर्ने यो पुल उपत्यकाकै पहिलो भएको दाबी गरे । उनले भने, ‘आकाशे पुल त धेरै छन् तर ती पुलहरु अपाङगतामैत्री, ज्येष्ठ नागरिकमैत्री छैैन, बिरामी, अशक्तले प्रयोग गर्न सक्ने पुल बनेका छैनन् , पुल चढेपछि थकाई लाग्छ, यो पुलबाट सडक वारपार गर्र्दा थकाई लाग्दैन  । ललितपुर महानगरले निर्माण गर्न लागेको यो पुल देशकै नमूना आकाशे पुल हुने उनले दाबी गरे । 
पूर्वाधार महाशाखा प्रमुख वरिष्ठ इन्जिनियर श्रीकुमार महर्जनले प्राविधिक दृष्टिले कुसुन्तीमा निर्माण हुने पुल अब्बल हुने स्पष्ट पारे । उनका अनुसार करीब ४ करोड बराबरको लागत अनुमानमा पुल निर्माण हुनेछ । दुई वर्षभित्र निर्माण सम्पन्न हुने इन्जिनियर महर्जनले बताए । 

प्रकाशित मिति: शनिबार, भदौ १६, २०८०  १८:५०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार