काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा क्लिनिकल रिसर्च युनिटका संयोजक डा.शेरबहादुर पुनले नेपालमा हेपाटाइटीसका धेरै विरामी रहेको बताएका छन् । “एक जीवन, एक कलेजो” भन्ने नाराका साथ शुक्रबार विश्व हेपाटाइटिस दिवस नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदै गर्दा डाक्टर पुनले अहिले नेपालमा हेपाटाइटीसको प्रभाव केही कम भएको बताए ।
उनले भने, ‘हेपाटाइटिसका विरामीहरु धेरै छन् । विशेष गरि वर्षातको समयामा फैलने हेपाटाइटीस छ त्यो ए र ई हो त्यो वर्षेनी देखिने गर्छ । हेपाटाइटिस बी र सी त्यो जुन सुकै बेलामा पनि देखिन सक्छ ,। यो चाही मानिसबाट मानिसमा सर्ने हो । कुनै लक्षण विना कुनै कारणले आवश्यकता परेर परिक्षण गर्दा देखिन सक्छ ।’
डा. पुनले परालको आगो जस्तो फैलिरहेको हेपाटाइटीस बी अहिले केही हदसम्म नियन्त्रणको अवस्थामा रहेको पनि बताए ।
उनी भन्छन्, ‘कोभिड भन्दा अगाडिको तथ्यांक हेर्ने हो भने समाजमा हेपटाईटीस बी एउटा परालको आगो जस्तो गरी फैलिरहेको थियो । तर अहिलेको बालबालिका जन्मने वित्तिकै बाल खोप कार्यक्रम अन्तगर्त हेपटाइटीस बीको पनि जोडेका छौं । त्यसले धेरै राम्रो गरेको छ । धेरै हदसम्म कम भएको छ । यसको मतलव यो हैन कि पूरै नियन्त्रण भयो भन्ने । तर केही हदसम्म कम भएको छ । यो धेरैमा छ ।’
डा. पुनले हेपाटाइटीस ईबाट गर्भवती महिलालाई विशेष असर पार्ने भएकोले सचेत हुनु पर्ने पनि बताए ।
उनले भने, ‘हेपाटाइटीस ई गर्भवती महिलामा विशेष देखिने गरेको छ । खाने कसराहरु बाट सर्ने भएको हुनाले छिटै नै यो रोग महिला तथा बालबालिकालाई लाग्ने गर्दछ । यसको प्रमुख कारण भनेको जनचेतनाको अभाव हो ।’
डा.पुनले हेपाटाइटीस भाइरसले मानव शरीरमा रहेको महत्वपूर्ण अंग कलेजोमा असर गर्ने हुँदा यो रोगलाई खतरनाक मानिने हुँदा यसतर्फ सचेत रहनु पर्ने बताए । पाँच प्रकारका हेपाटाइटिस भाइरस (‘ए’ ‘बी’, ‘सी’, ‘डी’, ‘ई’) मध्ये पनि हेपाटाइटिस ए र बी लाई बढी खतरनाक भाइरस मानिने उनको भनाइ छ ।
विश्व हेपाटाइटीस दिवस र कलेजोको सुरक्षा
स्वस्थ जीवनका लागि कलेजोको महत्वलाई बुझाउन यो वर्ष “एक जीवन, एक कलेजो” भन्ने नाराका साथ विश्व हेपाटाइटीस दिवस मनाइंदै छ ।
हेपाटाइटीस भाइरसद्वारा हुने सरुवा रोग हो । हेपाटाइटीस भनेकै भाइरल संक्रमणका कारण कलेजो सुन्निनु हो । यस रोगको भाइरसले कलेजोको सक्रमण गराउने हँुदा मानिसको कलेजोमा प्रत्यक्ष असर गर्नुका साथै क्यान्सर सम्म गराउने हँुदा यसबारे सचेतना जगाउने हिसावले आजको दिनमा विश्वभर विविध कार्यक्रम गरी यो दिवस मनाउन थालिएको हो ।
संसारभर पनि सबैभन्दा धेरै हेपाटाइटिस बी बाट मानिसहरु ग्रसित बनेको तथ्यांक रहेको छ । विभिन्न विषाणुको सङ्क्रमण, औषधिको प्रयोग, क्यान्सर आदि हेपाटाइटीसका कारण हुन् । त्यसमा पनि हेपाटाइटीस बी र सी लाई मौन महामारी मानिदै आएको पाइन्छ । मुख्य गरी लागूपदार्थ दुर्व्यसनी, एचआइभी विरुद्ध संघर्ष गरिरहेका मानिसहरू,बालबालिका र सीमान्तकृत समूहमा यो रोगको संक्रमण धेरै हुने गरेको छ ।
हेपाटाइटीसका लक्षणहरु
ज्वरो आउनु ,शरीर पहेलो हुनु ,वाकवाकी, उल्टी हुनु, खान मन नलाग्नु,जीउ दुख्नु, अत्याधिक थकान महसुस हुनु,पिसाब पहेलो हुनु,पेट दुख्नु, शरीर चिलाउनु आदि हुन् ।
रोकथामका उपायहरु
१.शरीरमा रोग लाग्न नदिने
२.दूषित पानी तथा खानेकुराको सेवन नगर्ने
३. खाना खानु अगाडि साबुन पानीले राम्ररी हात धुने
४. सफासुघर बस्ने
५. फलफुल, तरकारीको सेवन गर्नु पूर्व त्यसलाई सफा पानीले राम्ररी सफा गर्ने
६. वर्षायाम पानीको सेवन गर्नु पूर्व त्यसलाई राम्ररी उबाल्ने वा उमालेको पानीको मात्र सेवन गर्ने,
७. बच्चालाई हेपाटाइटीस विरुद्धको खोप लगाउने