गौर हत्याकाण्ड छानबिनको माग गर्दै सर्वोच्चमा रिट

आइतबार, जेठ २१, २०८०

काठमाडौं । गौर हत्याकाण्डको छानबिन हुनुपर्ने माग राखी सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । बहुचर्चित यो घटना १६ वर्षअघिको हो ।   घटनामा मारिएका आफन्तहरुले जिल्ला प्रहरी कार्यालय, रौटहटमा जाहेरी दिँदा समेत कुनै छानबिन अघि नबढेको भन्दै अनुसन्धान अघि बढाउन आदेशको माग गरेर सर्वोच्चमा रिट हालेका हुन् ।
उनीहरुले रौटहट प्रहरी, सरकारी वकिल कार्यालय, प्रहरी प्रधान कार्यालय, गृह मन्त्रालय लगायतलाई विपक्षी बनाएका छन् ।
२०६३ चैत ७ मा मा रौटहटको गौरस्थित राइसमिलको चौरमा भएको झडपमा माओवादीका २७ जना कार्यकर्ता मारिएका थिए भने सयभन्दा बढी घाइते भएका थिए । उक्त दिन तत्कालीन मधेशी जनअधिकार फोरम र माओवादीले एकै समयमा एकै ठाउँमा कार्यक्रम आयोजना गरेको निहुँमा झडप भएको थियो ।
लामो समयदेखि कुनै अनुसन्धान अघि नबढेको यो घटनाको अनुसन्धान अघि बढाउन राष्ट्रिय मानवअधिकार आयोगले पनि गत पुसमा सिफारिस गरेको थियो ।
आयोगले जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव सहित १३० जनामाथि अनुसन्धान अघि बढाउनु भनी आदेश दिएको हो ।
गौर हत्याकाण्डपछि छानबिनका लागि सरकारले जाँचबुझ आयोग गठन गरेको थियो । आयोगले जाहेरी परेको एवं घटनामा संलग्न भनी उनीहरुको नाम किटेको थियो । मानव अधिकार आयोगले त्यही आधारमा उनीहरुमाथि छानबिन गर्नु भनेको हो । आयोगले दिएको निर्देशन समेत कार्यान्वयन नगरेको भन्दै त्रिभुवन साह लगायतले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका हुन् ।

प्रकाशित मिति: आइतबार, जेठ २१, २०८०  १८:०४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार