भारतको ओडिशामा रेल दुर्घटना, २६० जनाभन्दा बढीको मृत्यु

शनिबार, जेठ २०, २०८०

नयाँदिल्ली । भारतको पूर्वी राज्य ओडिशामा रेलहरू एकआपसमा ठोकिँदा कम्तीमा २६१ जनाको मृत्यु भएको र ६५० जना घाइते भएको अधिकारीहरूले बताएका छन् । उक्त राज्यको बालासोर जिल्लामा दुर्घटना भएको हो ।
एउटा यात्रुवाहक रेल शुक्रवार अबेर पटरीबाट बाहिर खसेको र त्यो अरू रेलहरूमा ठोकिन पुगेको ठानिएको छ । यो भारतमा भएको विगत चार दशकयताकै सबैभन्दा खराब रेल दुर्घटना हो ।
उक्त दुर्घटनाको कारण हालसम्म स्पष्ट हुन सकेको छैन । यद्यपि भारतका एकजना केन्द्रीय मन्त्रीले दुर्घटनाको कारण प्राविधिक भएको बताएका छन् ।
ओडिशाका मुख्यसचिव प्रदीप जेनाले घटनास्थलमा २०० वटाभन्दा बढी एम्बुलेन्स, दर्जनौँ चिकित्सक र नर्सहरूलाई घटनास्थल पठाइएको जनाएका छन् ।

मृतकको सङ्ख्या बढ्न सक्ने

मृतकको सङ्ख्या अझै बढ्न सक्ने अधिकारीहरूले बताएका छन् । भारतीय रेलवेका अनुसार कोरोमण्डल एक्सप्रेस र हावडा सुपरफास्ट एक्सप्रेस आपसमा जुध्न पुगेका थिए । अधिकारीहरूका अनुसार हालसम्म २६१ जनाको शव फेला परेको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाबाट आफू अत्यन्त दुःखी भएको बताएका छन् । उनले मृतकका परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।
उनले ट्विटरमा लेखेका छन्, 'दुर्घटना स्थलमा उद्धारकार्य जारी छ र प्रभावितहरूलाई सम्भव भएसम्म सहयोग गरिँदै छ।'
गृहमन्त्री अमित शाहले घटना 'अत्यन्त पीडादायी' भनेका छन् ।
उक्त घटनामा बाँचेका एक पुरुष यात्रुले भने, 'दुर्घटना हुँदा १०(१५ जना ममाथि खसेका थिए । कोलाहल मच्चियो। म मानिसहरूको थुप्रोमा सबैभन्दा तल थिएँ ।'
'मेरो हात र घाँटीको पछाडिपट्टि चोट लागेको छ । रेलको डिब्बाबाट बाहिर निस्किँदा मैले कसैले हात अनि कसैको खुट्टा गुमाएका र कसैको अनुहार विकृत भएको देखेँ,' उनले भारतको एएनआई समाचार संस्थालाई भने । दुर्घटनापछि ओडिशा राज्यमा एक दिनको शोकको घोषणा गरिएको छ । घटनापछि केही जीवित यात्रुहरू दुर्घटनास्थलमा फसेका मानिसलाई उद्धार गर्न दौडिएको देखिएको थियो ।
स्थानीय बस कम्पनीहरूले पनि यात्रुलाई ओसारपसार गर्न मद्दत गरिरहेका छन् ।

कसरी भयो दुर्घटना ?
शालिमार-चेन्नई कोरोमण्डल एक्सप्रेसका धेरै डिब्बाहरू भारतीय समयानुसार शुक्रवार साँझ ७ बजे पटरीबाट बाहिर खसेका थिए । तीमध्ये केही विपरीत ट्र्याकमा पुगेका थिए भन्ने अनुमान गरिएको छ ।
अर्को रेल हावडा सुपरफास्ट एक्सप्रेस यशवन्तपुरबाट हावडा जाँदै थियो र त्यो पल्टिएका डिब्बामा ठोक्किन पुग्यो भनिएको छ ।
भारतीय अधिकारीहरूका अनुसार घटनास्थलमा रोकिएको अवस्थामा भएको अर्को सामानवाहक रेलमा पनि ती दुई रेलका डिब्बाहरू ठोकिन पुगेको बताएका छन् ।
भारतमा विश्वको सबैभन्दा ठूलो रेल नेटवर्क छ । सरकारले क्रमशः पूर्वाधार सुधार गर्न अर्बौँ लगानी गरिरहेको छ । तर भारतमा रेल दुर्घटनाहरू सामान्य जस्तै बनेका छन् । यसअघि भारतको सबैभन्दा खराब रेल दुर्घटना सन् १९८१ मा भएको थियो ।
त्यस बेला बिहार राज्यमा एउटा चक्रवातको समयमा यात्रुहरूको भिड भएको रेल ट्र्याकबाट नदीमा खसेको थियो । त्यस बेला कम्तीमा ८००  जनाको ज्यान गएको थियो ।

पछिल्ला वर्षमा भारतमा भएका केही ठूला रेल दुर्घटना

१९ अगस्त २०१७ : उत्तर प्रदेशको मुजफ्फरनगरको खतौली नजिक कलिंगा-उत्कल एक्सप्रेसको १४ डिब्बा लिकबाट बाहिर खसेका थिए । पुरीबाट हरिद्वार जाँदै गरेको त्यो रेल दुर्घटनामा २३ जनाको मृत्यु भएको थियो ।

२२ जनवरी २०१७ : आन्ध्र प्रदेशको भिजियानगरम जिल्लामा हिराखण्ड एक्सप्रेसका आठवटा डिब्बा लिकबाट बाहिर खस्दा करिब ३९ जनाको मृत्यु भएको थियो ।

२० नोभेम्बर २०१६ : कानपुर नजिकै पुख्रायनमा एउटा ठूलो रेल दुर्घटना भयो त्यसमा कम्तीमा १५० जना मानिसको मृत्यु भयो । पटना–इन्दौर एक्सप्रेसका १४ डिब्बा लिकबाट बाहिर खसेका थिए ।

२० मार्च २०१५ : देहरादूनबाट वाराणसी जाँदै गरेको जनता एक्सप्रेस दुर्घटनामा ३४ जनाको मृत्यु भएको थियो ।
 ४ मे २०१४ : नागोठाने र रोहा स्टेशनहरू बीच दिवा सावन्तवाडी यात्रुवाहक रेल दुर्घटनामा २० जनाको ज्यान गएको थियो भने एक सय जना घाइते भएका थिए

२८ डिसेम्बर २०१३ : बैङ्गलोर-नान्देड एक्सप्रेस ट्रेनमा आगलागी हुँदा २६ जनाको मृत्यु भयो। सोही वर्ष अगस्ट १९ मा बिहारको खगरिया जिल्लामा राज्यरानी एक्सप्रेसको ठक्करबाट २८ जनाको ज्यान गएको थियो ।
३० जुलाई २०१२ : भारतीय रेलवेको इतिहासमा सन् २०१२ दुर्घटनाको हिसाबले सबैभन्दा खराब वर्षहरूमध्ये एक थियो । त्यो वर्ष करिब १४ वटा रेल दुर्घटना भएका थिए। यसमा लिकबाट बाहिर जाने र रेलले ठक्कर दिएका घटनाहरू छन् । ३० जुलाई २०१२ मा नेल्लोर नजिकै दिल्ली-चेन्नई तमिलनाडु एक्सप्रेसको एउटा कोचमा आगलागी हुँदा ३० जनाभन्दा बढीको मृत्यु भएको थियो ।
७ जुलाई २०११ : उत्तर प्रदेशमा रेल र बस ठोक्किँदा ३८ जनाको मृत्यु भएको थियो।
२० सेप्टेम्बर २०१० : ग्वालियर इन्टरसिटी एक्सप्रेस मध्य प्रदेशको शिवपुरीमा सामान बोकेको रेलसँग ठोक्कियो । उक्त दुर्घटनामा ३३ जनाको ज्यान गएको थियो भने १६० जनाभन्दा बढी घाइते भएका थिए ।

१९ जुलाई २०१० : उत्तर बङ्ग एक्सप्रेस र वनञ्चल एक्सप्रेस पश्चिम बङ्गालमा ठोक्कियो । ६२ जनाको मृत्यु भयो भने १५० भन्दा बढी घाइते भए ।
२८ मे २०१० : पश्चिम बङ्गालमा संदिग्ध माओवादी हमलामा ज्ञानेश्वरी एक्सप्रेस लिकबाट बाहिर खस्दा १७० जनाको मृत्यु भएको थियो ।
२१ अक्टोबर २००९ : गोवा एक्सप्रेसको इन्जिन उत्तर प्रदेशको मथुरा नजिकै मेवाड एक्सप्रेसको अन्तिम डिब्बासँग ठोक्कियो । उक्त घटनामा २२ जनाको मृत्यु भएको थियो भने २३ जना घाइते भएका थिए ।

१४ फेब्रुअरी २००९ : हावडाबाट चेन्नई जाँदै गरेको कोरोमण्डल एक्सप्रेसका १४ डिब्बा ओडिशाको जाजपुर रेलवे स्टेशन नजिकै लिकबाट खसेका थिए । दुर्घटनामा १६ जनाको मृत्यु भएको थियो भने ५० जना घाइते भएका थिए ।

अगस्ट २००८ : सिकन्दराबादबाट काकीनाडा जाँदै गरेको गौतमी एक्सप्रेसमा राति अबेर आगलागी भयो । जसका कारण ३२ जनाको ज्यान गयो भने धेरै घाइते भए ।
२१ अप्रिल २००५ :  गुजरातको वडोदरा नजिक साबरमती एक्सप्रेस र सामान बोकेको रेलसँगको ठक्करमा कम्तीमा १७ जनाको मृत्यु भयो र ७८ अन्य घाइते भए ।
फेब्रुअरी २००५ : महाराष्ट्रमा रेल र ट्रयाक्टरको ठक्करबाट कम्तीमा ५० जना मारिए र धेरै घाइते भए।

जुन, २००३ : महाराष्ट्रमा रेल दुर्घटनामा ५१ जनाको मृत्यु भयो र धेरै घाइते भए।
 २ जुलाई २००३ : आन्ध्र प्रदेशको हैदरावादबाट १२० किलोमिटर टाढा वारङ्गलको ओभरब्रिज मुनि गोलकोन्डा एक्सप्रेसको दुईवटा डिब्बा र इन्जिन सडकमा खसे। दुर्घटनामा २१ जनाको मृत्यु भएको थियो ।
१५ मे २००३ : पञ्जाबको लुधियाना नजिकै फ्रन्टियर मेलमा आगलागी भयो। कम्तीमा ३८ व्यक्ति मारिए।
९ सेप्टेम्बर २००२ : हावडाबाट नयाँ दिल्ली जाँदै गरेको राजधानी एक्सप्रेस दुर्घटना भयो। जसमा १२० जनाको मृत्यु भएको थियो ।
२२ जुन, २००१ : मंगलोर-चेन्नई मेल केरलाको कादलुन्डी नदीमा खस्दा ५९ जनाको मृत्यु भएको थियो ।
३१ मे २००१ : उत्तर प्रदेशको रेलवे क्रसिङमा रोकिएको बससँग रेल ठोक्किएपछि ३१ जनाको मृत्यु भएको थियो ।

२ डिसेम्बर २००० : कोलकाताबाट अमृतसर जाँदै गरेको हावडा मेल दिल्ली जाँदै गरेको सामान बोकेको रेलसँग ठोक्कियो। ४४ जनाको मृत्यु भयो भने १४० जना घाइते भए ।
३ अगस्ट १९९९ : दिल्ली जाँदै गरेको ब्रह्मपुत्र मेल पश्चिम बङ्गालको गासलमा अवध(असम एक्सप्रेससँग ठोक्कियो। त्यसमा २८५ जना मारिए र ३१२ जना घाइते भए ।
२६ नोभेम्बर १९९८:  पञ्जाबको खन्नामा फ्रन्टियर मेल सियालदह एक्सप्रेससँग ठोक्कियो। त्यसमा १०८ जनाको ज्यान गयो भने १२० घाइते भए ।
१४ सेप्टेम्बर १९९७ : अहमदाबाद(हावडा एक्सप्रेस छत्तीसगढको बिलासपुरमा नदीमा खस्यो। दुर्घटनामा ८१ जना मारिए भने १०० जना घाइते भए।
१८अप्रिल, १९९६ : दक्षिण केरलामा एर्नाकुलम एक्सप्रेस बससँग ठोक्कियो। त्यसमा ३५ जनाको ज्यान गयो भने ५० जना घाइते भए ।
२० अगस्त १९९५ : नयाँ दिल्ली जाँदै गरेको पुरुषोत्तम एक्सप्रेस उत्तर प्रदेशको फिरोजाबादमा कालिन्दी एक्सप्रेससँग ठोक्कियो र २५० जनाको ज्यान गयो भने २५० जना घाइते भए ।
२१ डिसेम्बर १९९३: कोटा-बिना एक्सप्रेस राजस्थानमा सामान बोकेको रेलसँग ठोक्कियो। ७१ जनाको मृत्यु भयो भने धेरै घाइते भए ।

१६ अप्रिल १९९०: पटना नजिकै रेलमा आगलागी हुँदा ७० जनाको ज्यान गयो।

२३ फेब्रुअरी १९८५ : राजनन्दगाउँमा यात्रुवाहक रेलका दुईवटा डिब्बामा आगलागी हुँदा ५० जनाको मृत्यु र धेरै घाइते भए ।

६ जुन १९८१ : बिहारमा आँधीका कारण रेल नदीमा खस्यो र त्यो दुर्घटनामा ८०० जनाको ज्यान गयो। १,००० भन्दा बढी घाइते भएका थिए ।

प्रकाशित मिति: शनिबार, जेठ २०, २०८०  १४:२३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार