नागरिकता विधेयक प्रमाणीकरण असंवैधानिक, संसद्‍को अपमान : एमाले 

शुक्रबार, जेठ १९, २०८०

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले राष्ट्रपति रामचन्द्र पौडेलले निष्क्रिय अवस्थामा रहेको नागरिकता विधेयक पारित गरेर ससद्कै अपमान गरेको निष्कर्ष निकालेको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा शुक्रबार बसेको सचिवालय बैठकले यस्तो निष्कर्ष निकालेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
‘राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गरेकोमा पार्टीको ध्यानाकर्षण भएको छ। यो शक्ति पृथकीकरणको सिद्धान्त र लोकतान्त्रिक अभ्यासको मान्यताविपरीत छ’, उनले बैठकपछि भने, ‘राष्ट्रपतिको कदम सर्वोच्च अदालतबाट समेत प्रतिपादित सिद्धान्तविपरीत रहेको छ। निर्धारित समयमा प्रमाणीकरण नभएर निष्क्रिय भइसकेको अवस्थामा नयाँ जनादेश आइसकेपछि संसद्‍मै ल्याउनुपर्ने विधेयक प्रमाणीकरण गरिँदा संसद्‍को अपमान भएको छ। संसद्को विशेषअधिकार खोसिएको छ।’
एमाले कुनै पनि नागरिक नागरिकताबाट बञ्चित नहुन् भन्ने पक्षमा रहेको उनले बताए। ‘कुनै पनि नागरिक नागरिकताबाट बञ्चित नहुन् भन्नेमा एमाले चिन्तित छ’, उनले भने, ‘तर असंवैधानिक प्रक्रियाबाट अघि बढाइएको यो कदमले समस्याको समाधान दिन सक्दैन। प्रधानमन्त्रीको विदेश भ्रमणअघि नागरिकता विधेयक प्रमाणीकरणले यसमा घरेलुभन्दा विदेशीको चासो रहेको पुष्टि भएको छ।’

प्रकाशित मिति: शुक्रबार, जेठ १९, २०८०  १८:४५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार