सरकारी पाठ्यपुस्तक छपाईमा निजी क्षेत्र सहभागी भएसँगै समयमै विद्यार्थीको हातमा पुस्तक 

समयमै पुस्तक पुर्‍याएको खुसीयाली साट्न मुद्रण व्यवसायी राजधानीमा भेला
आइतबार, जेठ १४, २०८०

काठमाडौं । यो वर्ष सरकारी विद्यालयका विद्यार्थीले समयै पाठ्यपुस्तक पाए । शैक्षिक सत्र सुरु भएको लामो समय हुँदा पनि पाठ्यपुस्तक नपाएको समाचार पढिरहेका हामीलाई यो विषय अलि अनौठो जस्तै लाग्यो । समयमै पाठ्य पुस्तक कसरी पु¥याउन सम्भव भयो होला ? भन्ने जिज्ञासा हामीमा उठ्यो पनि । यस्तो जिज्ञासा हामीमा उठ्नु पनि स्वभाविकनै हो । कक्षा १ देखि ५ का पाठ्यपुस्तक निजी क्षेत्रले छाप्ने अनुमति पाएकै कारण समयमै विद्यार्थीको हातमा पुगेको दाबी नेपाल मुद्रण उद्योग महासंघको छ । समयमै पाठ्य पुस्तक पु¥याएको खुसीयाली साट्न शनिबार नेपाल मुद्रण उद्योग महासंघका पदाधिकारी राजधानीमा भेला भए । पुस्तक छपाईको खुसीयाली मनाउने सन्दर्भ पारेर मुद्रण उद्योग महासंघले नेपाल उद्योग वाणिज्य महासंघको साधारण सभा एवम् अधिवेशनबाट निर्वाचित भएका अध्यक्ष चन्द्रप्रसाद ढकालसहितका पदाधिकारी तथा बस्तुगत तर्फका कार्यकारिणी समितिका सदस्यहरुलाई बधाई तथा सम्मान पनि गरियो । 

350475115_927793281775528_99869693927697983_n1685279600.jpg
उद्योग वाणिज्य महासंघका अध्यक्षसतिका पदाधिकारीहरुलाई बधाई तथा सम्मान गर्नुअघि आयोजित पत्रकार सम्मेलनमा नेपाल मुद्रण उद्योग महासंघका महासचिव कमलप्रसाद पोखरेलले निजी क्षेत्रले कक्षा १ देखि ५ कक्षामा सरकारी विद्यालयमा अध्ययनरत २५ लाख ५१ हजार ३८३ विद्यार्थीहरुलाई १ करोड २३ लाख ३६ हजार ६०४ थान पाठ्यपुस्तक निजी क्षेत्रले छपाई गरी  चैत १५ गते भित्रै ७७ वटै जिल्लामा पु¥याएको जानकारी दिए । 
मुद्रण उद्योग महासंघले सरकारले आफूहरुलाई सुम्मेको जिम्मेवारी समयमै पूरा गरेको दाबी गर्दै भविष्यमा कक्षा १ देखि १२ सम्मका पाठ्यपुस्तक छपाईका जिम्मेवारी लिन आतुर रहेको बताएको छ । 
‘सरकारले तोकेकै मूल्यमा पाठ्यपुस्तक बिक्रीवितरण गरी पाठ्यपुस्तकको माग र उपलब्धतालाई सुनिश्चित गर्न नेपाल मुद्रण उद्योग महासंघ र जिल्ला संघहरु, नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ अन्तर्गतका व्यवसायी तथा प्रदेश र जिल्ला संघहरुको सक्रिय भूमिका रहेको छ’ पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा भनिएको छ, ‘निजी क्षेत्रको विकास र विस्तारकै कारण देशको अर्थतन्त्र मजबुद हुँदै जाने भएकाले निजी उद्योग र व्यसायको संरक्षण गर्नु राज्यको दायित्व हो ।’ पाठ्यपुस्तक छपाईकै लागि भनि निजी क्षेत्रमा १५ अर्ब भन्दा बढी लगानी भइसकेको अवस्थामा कहिले छपाई तथा बिक्री अनुमतिका लागि कक्षा घटाउने त कहिले जिल्ला र क्षेत्र घटाउने जस्ता अस्थि नीतिका कारण निजी क्षेत्र त्रसित र लगानीको जोखिम लिएर काम गर्न बाध्य भएको स्मरण पनि प्रेस विज्ञप्तिमा गरिएको छ ।  

app1685279638.jpg
‘सरकारलाई अप्ठ्यारोमा परेका बेला सधैं सहयोगी भूमिकामा रहेको मुद्रण उद्योगी व्यवसायीहरुको लगानीको संरक्षण गरी आगामी वर्षहरुमा समेत पाठ्यपुस्तक अभाव नहुने सुनिश्चितका लागि निजी क्षेत्रको सहभागिताको विषयमा दीर्घकालीन निर्णय गरिनु आवश्यक छ’, मुद्रण उद्योग महासंघका अध्यक्ष खोमकान्त रेग्मीले भने, ‘छपाई तथा बिक्री वितरण अनुमतिका लागि शैक्षिक सत्रको अन्त्यतिर निर्णय हुने र प्रत्येक शैक्षिब सत्रका लागि सूचिकृत हुनै पर्ने व्यवस्था भन्दा एक पटक सूचिकृत भइसकेपछि कम्तिमा ३ वर्ष पाठ्यपुस्तक छपाई तथा बिक्रीवितरण गर्न अधिकारी सुनिश्चत गरिनुपर्दछ भन्ने यस संघको धारणा रहेको छ ।’
विगत २ दशकदेखि सरकारी पाठ्यपुस्तकको अभाव भई पुस्तक बिना नै पठन पाठन गर्नु गराउनु पर्ने र विद्यार्थीले परीक्षा दिनुपर्ने अवस्था सिर्जना भएपछि नेपाल सरकार र दातृ निकायहरुको समेत संलग्नतामा विसं २०६४ सालमा निर्देशिका तयार गरी पूर्वाञ्चलका १६ जिल्लामा पाठ्यपुस्तक छपाई तथा बिक्री बितरण गर्ने अधिकार निजी क्षेत्रलाई समेत दिईएको थियो । निजी क्षेत्रले अनुमति पाएको क्षेत्रमा पुस्तक अभाव नहुने तथा अन्य क्षेत्रमा पुस्तकको चरम अभाव भएको कारणले विसं २०६८ सालमा शिक्षा मन्त्रालयबाट आकस्मिक निर्णय गरी पश्चिमाञ्चलका १६ वटा जिल्लामा समेत बिक्री अनुमति प्रदान गरिएकोमा निजी क्षेत्रले १५ दिन भित्र ती क्षेत्रमा पुस्तक बिक्री वितरण कार्य सम्पन्न गरेको थियो । क्रमशः नेपालका ४१ वटा जिल्लाका कक्षा १ देखि ८ सम्मका पाठ्यपुस्तक बिक्री वितरण गर्न निजी क्षेत्रलाई समेत सहभागी गराई पाठ्यपुस्तकको उपलव्धतालाई सहज बनाइएको थियो । निजी क्षेत्रको योगदान र लगानीलाई समेत मध्य नजर गरी कक्षा १–५ का पाठ्यपुस्तक नेपाल भर नै बिक्री वितरण गर्न पाउने गरी अनुमति प्राप्त गरी शैक्षिक सत्र सुरु हुनु अगावै विद्यार्थीले हातहातमा पुस्तक प्राप्त गर्दा राज्य र राज्यका अन्य निकायलाई कुनै हानी नोक्सानी नभएको तर ठूलो सहयोग नै भएकोले निजी क्षेत्रको सहभागितालाई बढाउने गरी पहल गरिदिनु हुन राजनीतिक दल, तिनका भातृ संगठन, नेपाल उद्योग बाणिज्य महासंघलाई मुद्रण उद्योग महासंघले आग्रह गरेको छ । 

paa1685279675.jpg
बधाई तथा सम्मान कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पाठ्यपुस्तक छपाईमा निजी क्षेत्रको सहभागिता भएपछि मात्रै सरकारी विद्यालयमा अध्ययनरत विद्यार्थीले समयमै पाठ्यपुस्तक पाएको बताउँदै आगमी दिनका कक्षा १२ सम्मको पाठ्य पुस्तक छपाईका लागि महासंघले लविङग गर्ने प्रतिवद्धता व्यक्त गरे ।कार्यक्रममा उद्योग वाणिज्य महासंघकी एशोसियटतफर्की उपाध्यक्ष जोत्सना श्रेष्ठले निजी क्षेत्रलाई सरकारले विश्वासमा लिएर पाठ्यपुस्तक छपाईको जिम्मा दिनुपर्नेमा जोड दिइन् । 

349755298_246885761356408_635235099384778727_n1685279634.jpg
कार्यक्रममा दिइएको जानकारी अनुसार ६२ जिल्लामा मुद्रण उद्योगको सञ्जाल विस्तार भएको छ । यो व्यवसायमा ४ हजार मुद्रण उद्यमी–व्यवसायी संलग्न भएका छन् । करिब २ लाख जनशक्तिले प्रत्यक्ष रोजगारी पाइरहेको यो क्षेत्रमा ८५ अर्ब बराबरको लगानी भइसकेको छ ।  

ap1685279672.jpg

प्रकाशित मिति: आइतबार, जेठ १४, २०८०  १८:५७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार