आकाशको घातक बलिङमा मुम्बई फाइनल नजिक

बिहीबार, जेठ ११, २०८०

नयाँदिल्ली । तीव्र गतिका बलर आकाश माधवालले घातक बलिङ गरेपछि पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को दोस्रो क्वालिफायरमा पुगेकोछ ।
मुम्बईले एलिमिनेटर खेलमा लखनऊ सुपर जायन्ट्सलाई ८१ रनले हराउँदै दोस्रो क्वालिफायरमा गुजरात टाइटन्ससँग भेट पक्का गरेको छ । शुक्रबार गुजरातलाई हराए मुम्बईले फाइनलमा चेन्नईसँगको भेट पक्का गर्नेछ । जितको लागि १ सय ८३ रनको विजयी लक्ष्य पछ्याएको लखनऊ १६.३ ओभरमा १ सय १ रनमा अल आउट भयो ।
लखनऊका मार्कस स्टोइनिसले २७ बलमा ५ चौका र १ छक्कासहित सर्वाधिक ४० रनको योगदान दिए । कायल मेयर्स १८ र दीपक हुडा १५ रनमा आउट भए । अन्य कुनैपनि लखनऊका ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । निकोलस पुरन डक आउट भए ।
मुम्बईका आकाश माधवालले ३.३ ओभरमा ५ रन खर्चेर ५ विकेट लिए । क्रिस जोर्डन र पियुष चवालाले समान एक विकेट लिए ।
त्यसअघि चेन्नईमा टस जितेर पहिला ब्याटिङको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ८२ रन बनाएको थियो । मुम्बईको जितमा क्यामरन ग्रीनले २३ बलमा ६ चौका र १ छक्कासहित सर्वाधिक ४१ रनको योगदान दिए ।


ओपनर तथा कप्तान रोहित शर्मा १० बलमा १ चौका र १ छक्कासहित ११ रनमा आउट भएका थिए । रोहित तीव्र गतिका बलर नविन उल हकको बलमा कभरमा आयुष बदोनीबाट क्याच आउट भएका थिए । युवा तीव्र गतिका बलर यश ठाकुरको पाँचौं ओभरको दोस्रो बलमा एज लागेर ईशान किशन विकेटकिपर निकोलस पुरनबाट १५ रनमा क्याच आउट भए । किशनले १२ बलमा ३ चौका प्रहार गरे ।
तेस्रो विकेटका लागि सूर्यकुमार यादव र क्यामरन ग्रीनले ३८ बलमा ६६ रनको साझेदारी गर्दै राम्रो योगफलको सम्भावना देखाएका थिए । तर नविनले ११ औं ओभरमा सूर्य र ग्रीन दुबैलाई आउट गरेपछि लखनऊ खेलमा फर्किएको थियो ।
चौथो बलमा सूर्य कृष्णाप्पा गौतमबाट क्याच आउट भए । लेगकटर बलमा सूर्य मिडअफमा क्याच आउट हुन पुगेका थिए । सूर्यले २० बलमा २ चौका र २ छक्का प्रहार गरे । एक बलपछि ग्रीन बोल्ड भएपछि मुम्बई दबाबमा परेको थियो । दुबै स्वलोअर बलमा आउट भएका थिए ।
नेहाल वढेरा १२ बलमा २ चौका र २ छक्कासहित २३, तिलक बर्मा २६, टिम डेविड १३ र क्रिस जोर्डन ४ रनमा आउट भए । लखनऊका नविन उल हकले ४ ओभरमा ३८ रन खर्चेर ४ विकेट लिए । यश ठाकुरले ४ ओभरमा ३४ रन खर्चेर ३ विकेट लिए । मोहसिन खानको नाममा एक विकेट रह्यो ।
पहिलो क्वालिफायर खेलमा चेन्नई सुपर किंग्सले गुजरात टाइटन्सलाई १५ रनले हराउँदै फाइनलमा स्थान बनाएको छ । शुक्रबार गुजरात र मुम्बईबीच प्रतिस्पर्धा हुनेछ । जसको विजेता टोलीले आइतबार फाइनलमा चेन्नईसँग खेल्नेछ ।

प्रकाशित मिति: बिहीबार, जेठ ११, २०८०  ०९:३०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार