रवि लामिछानेको सांसद पद खारेज गर्न माग गर्दै फेरि सर्वोच्च अदालतमा मुद्दा

बुधबार, जेठ १०, २०८०

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध नेपाली नागरिकताको विषयमा फेरि अर्को मुद्दा सर्वोच्च अदालतमा दर्ता भएको छ । लामिछानेले अमेरिकी नागरिकता त्याग गरेपछि नेपाली नागरिकता पुनः प्राप्त गर्नुपर्नेमा उनले ूपुरानै नागरिकताको प्रतिलिपि मात्रै लिएकोू दाबी गर्दै युवराज पौडेलले अर्को मुद्दा दर्ता गराएको अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए । "निवेदनमा उठाएको विषयवस्तुको प्रकृति इजलासबाटै व्याख्या भई निरूपण संवैधानिक र कानुनी प्रश्न भएकोले दर्ता गराउन" भन्ने आदेश भएको हुँदा मुद्दा दर्ता भएको छ अब उहाँको नागरिकताबारे इजलासमा बहस होला," पौडेलले भने । यसअघि नागरिकता विवादमा सर्वोच्च अदालतको आदेशपछि उनको सांसद र उपप्रधानमन्त्री पद गुमेको थियो । पुरानो नागरिकता फेरि लिएपछि उनी उपनिर्वाचनबाट प्रतिनिधिसभामा पुनः निर्वाचित भएका छन् ।
अमेरिकी नागरिकता त्याग गरेपछि लामिछानेले नेपाली नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा नगरेको सर्वोच्च अदालतले ठहर गरेपछि गत माघमा उनले पुनः आफ्नो पुरानो नेपाली नागरिकता बिउँताएका थिए ।
पौडेलले नै यसअघि पनि लामिछानेविरुद्ध उनले नेपाली नागरिकता पुनः प्राप्ति नगरेको दाबी गर्दै सर्वोच्च अदालतमा मुद्दा दर्ता गराएका थिए । लामिछानेले फेरि लिएको नेपाली नागरिताको वैधताबारे उनले फेरि अदालतमा प्रश्न उठाएका छन् ।

कसरी दर्ता भयो मुद्दा ?
सर्वोच्च अदालतको प्रशासनले यसअघि पौडेलको निवेदन दरपिठ गरिदिएको थियो । मुद्दा दर्ता नगर्ने अदालतको निर्णयविरुद्ध पौडेलले पुनरावेदन दिएका थिए । न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले सोमवार उनको निवेदन दर्ता गर्ने आदेश दिएको थियो ।
लामिछानेले पुरानै नागरिकताको प्रतिलिपि मात्रै लिएको जिकिर गर्दै पौडेलले उनको प्रतिनिधिसभा सदस्य पद खारेज गर्न माग गरेका छन् । मुद्दाको अन्तिम किनारा नलागेसम्म लामिछानेलाई सांसदको रूपमा काम कारबाही गर्न रोक लगाउन समेत पौडेलले अन्तरिम आदेशको माग गरेका छन् । रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा राहदानी दुरुपयोगको मुद्दा पनि विचाराधीन छ । उनले दोहोरो राहदानी प्रयोग गरेको उजुरीमा छानबिन गरेको महान्यायाधिवक्ताको कार्यालय यसअघि लामिछानेविरुद्ध मुद्दा चलाउन “आधार र प्रमाण” नपुगेको ठहर गरेपछि तीनै पौडेलले सर्वोच्चमा मुद्दा दर्ता गराएका थिए । सर्वोच्च अदालतले यस विषयमा महान्यायाधिवक्ताको कार्यालयलाई कारण देखाउन आदेश दिएको छ ।
यसअघि किन सांसद र गृहमन्त्री पद गुमाए ?
सञ्चारकर्मीका रूपमा चर्चा कमाएका रवि लामिछाने छुट्टै पार्टी खोल्दै गत वर्ष राजनीतिमा होमिएका हुन् । उनको दलले मङ्सिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा २० सीट जितेको थियो । तर पौडेलले नै दायर गरेको रिट निवेदनमा अमेरिकी नागरिकता त्याग गरेपछि नेपाली नागरिकता बिउँताउने प्रक्रिया पूरा नगरेको ठहर गर्दै अदालतले उनको सांसद पद खारेज गरिदिएको थियो । दुई महिनामै सांसद पद गुमाएका रवि लामिछाने चितवन(२ मा गत वैशाख १० गते भएको उपनिर्वाचनमा फेरि निर्वाचित भएका छन् । उपनिर्वाचनमा तनहुँ–१ मा पनि उनको दलका स्वर्णिम वाग्लेले जित हासिल गरेपछि यो दलसँग प्रतिनिधिसभामा २१ जना सांसद छन् । संसद्‌को चौथो ठूलो दलका नेता लामिछाने गृहमन्त्री समेत बनेका थिए । तर सांसद पद गुमेपछि उनले पार्टी सभापति र गृहमन्त्रीबाट समेत राजीनामा दिए ।
नेपाली नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा गरेर पुनः सांसद बनेसँगै उनलाई पार्टी सभापति र संसदीय दलको नेतामा फेरि चयन गरिएको थियो । तर प्रधानमन्त्रीले राहदानी मुद्दा नटुङ्गिएको कारण देखाउँदै उनलाई गृहमन्त्रीमा पुनर्बहाली गर्न अस्वीकार गरेको विवरण आएका थिए । त्यसपछि उनको पार्टी सरकारबाट बाहिरियो। हालै राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको थियो ।

युवराज पौडेल को हुन् ?
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध पटकपटक मुद्दा लिएर जाने युवराज पौडेल अधिवक्ता होइनन् । उनी आफूलाई "राजनीतिज्ञ" भनेर चिनाउन खोज्छन् । सिन्धुलीको कमलामाई नगरपालिकाका पौडेल आफू विसं २०५४ सालदेखि राजनीतिमा आबद्ध रहेको दाबी गरे ।
उनका अनुसार उनी अहिले समाजवादी केन्द्र नेपालको "सर्वोच्च नेता" हुन् । यो दल सङ्घीय र प्रदेशसभामा सांसदहरू भएको पार्टी चाहिँ होइन। उनी विगतमा नेकपा माओवादी केन्द्रको पोलिटब्यूरो सदस्य थिए । पौडेलका अनुसार माओवादी र नेकपा एमाले एकताको घोषणाअघि नै माओवादी छोडेर उनी नयाँ दलमा आबद्ध भएका थिए ।

रवि लामिछानेसँग जोडिएका अरू विवाद के हुन् ?
लामो समय अमेरिका बसेर नेपाल फर्किएका रवि लामिछाने समयसमयमा मुद्दामामिला र विवादका बेलाबेलामा चर्चामा आइरहन्छन् । यसअघि न्यूज २४ टेलिभिजनमा कार्यक्रम चलाइरहँदा श्रमस्वीकृति नलिई नेपालमा काम गरेको उजुरी उनीविरुद्ध परेको थियो । त्यसपछि उनले अमेरिकी नागरिकता र राहदानी त्यागेर नेपाली नागरिकका रूपमा स्वदेशमा रहने घोषणा गरेका थिए । एक पूर्वसहकर्मीले आत्महत्या गरेपछि लामिछानेविरुद्ध २०७६ सालमा आत्महत्या दुरुत्साहनको मुद्दा पर्‍यो ।  चितवनमा आत्महत्या गरेका सालिकराम पुडासैनीले आफ्नो मोबाइल फोनमा लामिछाने सहितका सहकर्मीका कारण ‘आफू मर्न बाध्य भएको’ भन्दै खिचेको भिडिओ सार्वजनिक भएपछि प्रहरीले उनलाई पक्राउ गरेर मुद्दा चलाएको थियो ।
उक्त प्रकरणमा लामिछानेले पछि अदालतबाट सफाइ पाए । गत प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिएपछि लामिछानेको नागरिकता अवैध भएको दाबी गर्दै निर्वाचन आयोगमा उनीविरुद्ध उजुरी पर्‍यो । आयोगले नागरिकताको विषय आफ्नो क्षेत्राधिकार नभएको भन्दै उजुरीमा छानबिन गरेन ।त्यसपछि उनको नागरिकता प्रकरणको मुद्दा अदालतमा पुगेको थियो ।

प्रकाशित मिति: बुधबार, जेठ १०, २०८०  १८:५०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार