संसद र संसदीय समिति बैठकको भत्ता नलिने काँग्रेस सांसद उदयशम्शेर राणाको घोषणा

मंगलबार, जेठ ९, २०८०

काठमाडौं । नेपाली कांग्रेसका सांसद उदयशमशेर राणाले आगामी आर्थिक वर्षमा संसद र संसदीय समितिका बैठकमा सहभागी भएको भत्ता नलिने घोषणा गरेका छन् । मुलुकको अर्थतन्त्र कमजोर भएका बेला अन्य सासंदहरूले पनि यो विषयमा सोच्न आग्रह गर्दै आफूले भत्ता नलिने घोषणा रेका हुन् ।  
उनले भने, ‘हामी विभिन्न बैठकहरूमा भाग लिन्छौ, त्यसको भत्ता आउँछ, केही समय सबैले भत्ता नलिँदा राम्रो सन्देश जान्छ भन्ने लाग्छ, व्यक्तिगत रपमा भने आर्थिक वर्षमा भत्त नलिने कुरा राख्न चाहन्छु ।’
प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिदैं उनले भने, ‘सार्वजनिक पदमा रहेका व्यक्तिहरूले पनि सरकारले के गर्छ, सरकारले कसो गर्छ भनेर निरीक्षण गर्ने हेर्ने आफ्नो ठाउँमा छ, तर हाम्रो पनि जिम्मेवारी हुन्छ ।’
नेपालको अहिलेको मुख्य समस्या व्यापार घाटा भएको बताउँदै उनले आयात–निर्यातबीचमा ठूलो खाडल रहेको औंल्याए । उनले भने, ‘एक रुपैयाँ निर्यात भयो भने साँढे नौ रुपैयाँ आयात हुने अवस्था छ ।’ निर्यात बढाउन उत्पादन बढाउनु पर्ने उल्लेख गर्दै उनले ऊर्जा, पर्यटन र कृषिसँगसँगै सूचना प्रविधिलाई प्राथमिकता दिनुपर्ने धारणा राखे । रेमिटेन्सले मुलुकको अर्थतन्त्र धानिएको छ उनले भने । 
कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका राणाले बजेट निर्माण गर्ने क्रममा फजुल खर्च कटौतीमा ध्यान दिन सरकारलाई सुझाव दिएका छन् । ‘आउने बजेटमा नीति तथा कार्यक्रममा अझै प्राथमिकीकरण गर्न जरुरी ठानेको छु । हाम्रो नीति तथा कार्यक्रम आउँदाखेरि चालू र फजुल खर्चबारे केही कुरा आएको छ । सरकारले चालू र फजुल खर्चमा कटौती गर्ने भन्ने कुरा आएको छ । विभिन्न रिपोर्ट सरकारमा पुगेको छ र त्यो रिपोर्टहरूका आधारमा चालू खर्च, फजुल खर्च र वितरणमुखी खर्चहरूलाई घटाउन जरुरी छ,’ राणाले भने ।

प्रकाशित मिति: मंगलबार, जेठ ९, २०८०  १९:३९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार