लुम्बिनीमा सरकार विस्तार, नवनियुक्त मन्त्रीले लिए शपथ

सोमबार, जेठ ८, २०८०

लुम्बिनी । लुम्बिनी प्रदेश सरकार विस्तार भएको छ । गत वैशाख १५ गते नियुक्त भएका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आफ्नो नेतृत्वको सरकारमा आज दोस्रोपटक विस्तार गरेका हुन् । मुख्यमन्त्री चौधरीले बिना विभागीयमन्त्रीलाई पनि जिम्मेवारी तोकेका हुन् । 
मुख्यमन्त्री चौधरीले लोकतान्त्रिक समाजवादी पार्टीका सन्तोषकुमार पाण्डेलाई आन्तरिक मामिला, कानुन तथा सहकारी र नागरिक उन्मुक्ति पार्टीका धर्मबहादुर चौधरीलाई भौतिक पूर्वाधार विकासमन्त्रीको जिम्मेवारी तोकेका छन् । सोही दिन नियुक्त नेकपा माओवादी केन्द्रका धनबहादुर मास्कीलाई यसअघि नै आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी दिइएको थियो ।
कांग्रेसका डिल्ली चौधरी नेतृत्व सरकारलाई कांग्रेसका २७, माओवादीका ११, नागरिक उन्मुक्ति पार्टीका चार, जनमत पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका तीन÷तीन, राष्ट्रिय जनमोर्चा, नेकपा (एकीकृत समाजवादी) का एक÷एक र स्वतन्त्र एक सांसद गरी ५३ जना प्रदेशसभा सदस्यको समर्थन छ ।
लुम्बिनी प्रदेश मन्त्रिपरिषदका सदस्यले आज प्रदेश प्रमुखसमक्ष शपथ लिएका छन् । नवनियुक्त मन्त्रीलाई प्रदेश प्रमुख अमिक शेरचनले आज आयोजित शपथ ग्रहण समारोहमा पद तथा गोपनीयताको शपथ गराए ।  
आज शपथ लिएका मन्त्रीहरुमा नेपाली कांग्रेसका राजुप्रसाद खनाललाई स्वास्थ्य, जनमत पार्टीका चन्द्रकेश गुप्तालाई सामाजिक विकास र जनता समाजवादी पार्टीका भण्डारी लाल अहिरलाई कृषि तथा भूमि व्यवस्थामन्त्रीको जिम्मेवारी तोकिएको छ ।

मुख्य न्यायाधिवक्ताको पनि शपथ
लुम्बिनी प्रदेश सरकारका मुख्य न्यायाधिवक्त वरिष्ठ अधिवक्ता प्राध्यापक डा बुद्धबहादुर थापाले पनि आज पद तथा गोपनीयताको शपथ लिएका छन् । 
मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले थापालाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका हुन् ।  
नवनियुक्त मुख्य न्यायाधिवक्ता थापालाई आज उच्च अदालत तुलसीपुरका कामु मुख्य न्यायाधीश डा रत्नबहादुर बागचन्दले प्रदेश प्रमुख कार्यालयमा आयोजित शपथग्रहण समारोहमा प्रदेश प्रमुखको उपस्थितिमा पद तथा गोपनीयताको शपथ गराएका थिए । 
बुटवल बहुमुखी क्याम्पसमा लामो समय राजनीतिशास्त्र अध्यापन गराउँदै आएका थापा नेपाल प्राध्यापक सङ्घका पूर्वकेन्द्रीय अध्यक्ष हुन् । राजनीतिशास्त्रमा विद्यावारिधि गरेका थापाले कानुनमा स्नातक हुन् ।
 

प्रकाशित मिति: सोमबार, जेठ ८, २०८०  १८:५८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार