सुदूरपश्चिम प्रदेश सरकारमा थपिए तीन मन्त्री र एक राज्यमन्त्री, नागरिक उन्मुक्ति सरकार बाहिरै

शनिबार, जेठ ६, २०८०

काठमाडौं। सुदूरपश्चिम सरकारका ३ जना मन्त्री र एक राज्यमन्त्रीले आज शपथ ग्रहण गरेका छन् । आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वी सिंह , सामाजिक विकास मन्त्री झपट साउँद, वन मन्त्री रमेश धामी र वन राज्यमन्त्री गीता मालले शपथ ग्रहण गरेका हुन् । प्रदेश प्रमुख देवराज जोशीले उनीहरूलाई पद तथा गोपनीयताको शपथ खुवाएका थिए । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका नेताहरुलाई सहभागी गराएर सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्रिपरिषद विस्तार गरेका हुन् । शाहले नेकपा माओवादी केन्द्रबाट ३  र कांग्रेसबाट १ जना गरी ४ जना मन्त्री नियुक्त गरेका छन्।
नेकपा माओवादी केन्द्रबाट रमेश धामी उद्योग, पर्यटन, वन तथा वातावरण र झपट साउद सामाजिक विकास मन्त्री नियुक्त भएका छन् । यस्तै माओवादीकै समानुपातिक सांसद गीतादेवी माल  उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री नियुक्त भएकी छन् ।
नेपाली कांग्रेसका सांसद पृथ्वीबहादुर सिंह आन्तरिक मामिला तथा कानुन मन्त्री नियुक्त भएका छन् ।
दुई मन्त्रालय नपाएपछि मुख्यमन्त्री शाहलाई विश्वासको मत दिएको नागरिक उन्मुक्ति सरकारमा सामेल भएन । उन्मुक्तिको भागमा भुमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय परेको थियो ।  योसँगै सामाजिक विकास मन्त्रालय पनि पाउनु पर्ने नागरिक उन्मुक्तिको अडान छ ।
‘दुई मन्त्रालय नपाएकाले हामी सरकारमा मन्त्री पठाएनौँ,’ संसदीय दलका नेता घनश्याम चौधरीले भने, ‘सुरुवातदेखि दुई पूर्ण र एक राज्यमन्त्रीमा दाबी छ।’
गत माघ २६ गते मुख्यमन्त्रीमा नियुक्त शाहले अर्को दिन कांग्रेसका प्रकाश देउवा र नेकपा एकीकृत समाजवादीका नरेश शाहीलाई मन्त्री नियुक्त गरेका थिए। त्यसपछि सत्तारुढ गठबन्धनमा भागबण्डा टुंगो नलाग्दा लामो समयसम्म मन्त्रीमण्डल विस्तार हुन सकेको थिएन ।

 

प्रकाशित मिति: शनिबार, जेठ ६, २०८०  १७:५८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार