भुटानी शरणार्थी नेता रिजाल पक्राउ

बिहीबार, जेठ ४, २०८०

काठमाडौं । भुटानी शरणार्थी नेता टेकनाथ रिजाललाई प्रहरीले पक्राउ गरेको छ। उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन भन्दै गरिएको ठगी प्रकरणमा अनुसन्धानका लागि प्रहरीले उनलाई पक्राउ गरेको हो । 

नेपालको झापा र मोरङमा लामो समय कष्टकर जीवन बिताएर विभिन्न देशमा पुनर्वासका लागि पठाइएका भुटानी शरणार्थीहरुका सर्वोच्च नेता रिजाल पक्राउ परेसँगै नक्कली शरणार्थी प्रकरणमा हिरासत पुग्नेको संख्या १६ पुगेको छ । बिचौलियाको बयानको आधारमा रिजाललाई नियन्त्रण लिइएको हाे । नेपालमा रहेका भुटानी शरणार्थीको अधिकारका पक्षमा उनले लामो समयदेखि पैरवी गर्दै आएका थिए । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजान खोज्ने प्रकरणमा उनको नाम मुछिएपछि प्रहरीले खोजी गरिरहेको थियो ।

नेपाल हज समितिका अध्यक्ष मियाँ पक्राउ
नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएको आरोपमा नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ पक्राउ परेका छन् ।
प्रहरीले उनलाई आज दिउँसो सिंहदरबारबाट पक्राउ गरेको हो । नक्कली भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउने नाममा ठग्ने गिरोहसँग अध्यक्ष मियाँको संलग्नता देखिएपछि पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए।
उनका अनुसार शरणार्थीका नाममा ठग्ने गिरोहलाई हज समितिको प्रयोगका लागि उपलब्ध गराएको गृह मन्त्रालयको गाडी अध्यक्ष मियाँले उपलब्ध गराएका थिए । भुटानी शरणार्थी प्रकरणमा उक्त समितिको गाडी प्रयोग भएको खुलेका थियो ।  
गृह मन्त्रालयको स्वामित्वमा रहेको बिएबी–१४०५ नम्बरको निशान पेट्रोल जिप प्रहरीले बरामद गरेको छ । पीडितहरुलाई बायोमेट्रिक गराउन र अन्तर्वार्ता दिन बोलाएर गिरोहका सदस्यहरु सो गाडीमा जाने गरेको प्रहरीको दाबी छ ।
चितवनको सौराहा र काठमाडौँको सुन्धारालगायतका ठाउँमा अन्तर्वार्ता लिन जाँदा गिरोहका सदस्यहरुले सो गाडी प्रयोग गरेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । इम्बोस्ड नम्बर बिएबी १४०५ नम्बरको सो जिप गृह मन्त्रालय अन्तर्गतको नेपाल हज समितिको नाममा रहेको पाइएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले अनुसन्धान थालेपछि नेपाल हज समितिका अध्यक्ष मियाँ सम्पर्कविहीन भएका थिए । मियाँले उक्त प्रकरणमा बिचौलियाहरुका लागि हज समितिको सरकारी गाडी प्रयोग गर्न दिएको खुलेपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

यो प्रकरणमा यसअघि पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई, खाँणका निजी सचिव नरेन्द्र केसी पक्राउ परेका थिए । त्यसैगरी नेपाली कांग्रेसका पूर्व सांसद आङटावा शेर्पा, सन्देश शर्मा, टोपबहादुरका छोरा सन्दीप, रामशरण केसी, गोविन्द चौधरी, सागर राई, टंकबहादुर गुरुङ, केशव दुलाल र सानु भण्डारी पक्राउ परिसकेका छन्। पक्राउ पुर्जी जारी गरिएका अन्य दुईजना फरार छन् ।

प्रकाशित मिति: बिहीबार, जेठ ४, २०८०  १८:४५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार